Comments Add Comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने

नेपाल एयरलाइन्स ओशाका उड्दा बन्द नहुने

१४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले अनलाइनखबरसँग भने, ‘जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म (भदौ १५ गतेदेखि पुस १५ गतेसम्म) राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान-अवतरण सबै बन्द हुनेछन् ।’

नेपाल एयरलाइन्स ओशाका उड्दा बन्द नहुने

यद्यपि नेपाल एयरलाइन्सको ओशाका उडान हुने दिन भने केही समय विमानस्थल खुलाइने छ । नेपाल एयरलाइन्स ओसाका उडिसकेपछि फेरि विमानस्थल बन्द गरेर मर्मतको काम गरिने छ । नेपाल एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

महाप्रवन्धक क्षेत्रीले अनलाइनखबरसँग भने ‘नेपाल एयरलाइन्सको ओसाका फ्लाइट नहुने दिनचाहिँ साढे ११ बजेदेखि बन्दै हुन्छ, फ्लाइट हुने दिन साढे ११ बजेबाट एयरपोर्ट बन्द हुन्छ, कामचाहिँ सुरु हुन्छ । अनि ठ्याक्क दुई बजे काम बन्द हुन्छ, एयरपोर्ट सुरु हुन्छ । अढाई बजे जहाज उडेपछि फेरि एयरपोर्ट बन्द हुन्छ र बिहान साढे ६ बजेसम्म काम सुरु हुन्छ ।’

यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर रनवे (धावनमार्ग)को जिर्णोद्धार गरिएको थियो । अब दोस्रो चरणअन्तर्गत रनवे सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने महाप्रवन्धक क्षेत्रीले जानकारी दिए ।

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको त्रिभुवन विमानस्थलको जिर्णोद्धारको काम चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment