Comments Add Comment

लघुवित्तको संख्या घटाउन विशेष नीति आउन सक्छ : राष्ट्र बैंक

३० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुको संख्या घटाउनकै लागि विशेष नीति ल्याउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । लघुवित्तको संख्या धेरै भएको र नियन्त्रण गर्ने पक्षमा राष्ट्र बैंक रहेको उनको भनाइ छ ।

सोमबार वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिएर बनेको संस्थाको एकिकृत कारोबार शुभारम्भ गर्दै डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले यस्तो बताएका हुन् । केही नयाँ संस्थाहरुले भर्खरै लाइसेन्स पाएको र ति संस्थाहरुलाई काम गर्न दिनपर्ने भएकाले अहिले भने चुप बस्ने उनको भनाइ थियो ।

‘२/३ वर्षमा हेरौ लघुवित्तहरु आफैमा मर्जरमा गए ठिकै छ नत्र केही विशेष नीति आउँछ,’ उनले भने, ‘अहिले नयाँ संस्थाहरु पनि छन्, कत्तिको काम गर्छन् पहिला हेरौं ।’

शिवाकोटीले वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिएर राम्रो संस्था बन्नेमा आफू विश्वस्त रहेको बताए । यि दुई संस्थालाई आपसमा गाभिन नेपाल राष्ट्र बैंकले ८ मंसिरमा अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

२०७५ फागुन अन्तिम साता वोमी र नागरिकले मर्जरमा जान सहमति गरेका थिए । २०६८ साल देखि सञ्चालनमा आएको वोमी माइक्रोफाइनान्सको हाल राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । धादिङको नौविसेबाट केही महिनाअघि मात्रै प्रधान कार्यालय चितवनको भरतपुरमा स्थानान्तरण गरेको यस संस्थाले ३२ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरिसकेको छ ।

उता मर्जरमा आउन लागेको नागरिक भने नयाँ लघुवित्त हो । यस संस्थाले हालसम्म सर्वसाधारणका लागि सेयर जारी गरिसकेको छैन । काभ्रेपलाञ्चोकको वनेपा केन्द्रीय कार्यालय रहेको नागरिकले आफ्नो शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा रहेको थियो ।

मर्जर पछि संस्थाको नाम वोमी लघुवित्त वित्तीय संस्था बनेको छ भने संस्थाको प्रधान कार्यालय काभ्रेको बनेपामा राखिएको छ । मर्जरपछि बनेको संस्थाको अध्यक्षमा विन्दिया प्रधान र सीईओमा वोमीका वर्तमान सीईओ प्रमेश आचार्य नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment