१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’ का रूपमा चिनाउने धोको रहेको बताएका छन् ।
‘ज्यापू समाज’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान र परम्पराले दिएमा आफूलाई कुनै अधिकारबिनाको केवल कर्तव्य निर्वाह गर्ने ‘मानार्थ सदस्य’ बनाउन नेतृत्वसमक्ष प्रस्ताव समेत राखे ।
ललितपुरमा आयोजित ज्यापू समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवारी कला र संस्कृतिसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताए ।
समाजको विधान, नियम र परम्परागत प्रक्रियाले मिल्ने भए आफूलाई मानार्थ सदस्यका रूपमा स्वीकार्न उनले ज्यापू समाजका अध्यक्ष तथा पदाधिकारीहरूसँग आग्रह पनि गरे ।
‘अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ । यहाँहरूको विधान, नियम, कानून र प्रक्रियाले मिल्छ कि मिल्दैन, मलाई थाहा छैन। तर एउटा सानो लोभ छ, कर्तव्य निर्वाह गर्नका लागि भएपनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो होला । मलाई कुनै अधिकार चाहिँदैन । बरु मानार्थ सदस्य बनाएर बेलाबेलामा, ‘तिमी त समाजको सदस्य हौ, यो काम किन गरेनौ ? भनेर गाली गर्ने अधिकार यहाँहरूलाई होस्,’ खरेलले आफ्नो आकांक्षा सुनाए ।
‘जगदीश खरेल नेवार’लाई मानार्थ सदस्य र कर्तव्यमा प्रतिवद्ध सदस्यका रूपमा स्वीकार गरिदिन उनले आग्रह गरे ।
‘ललितपुरको कला र संस्कृतिप्रति मेरो सधैँ गहिरो सम्मान छ । कृष्णलाल महर्जन ‘बा’प्रति मेरो विशेष सम्मान छ । चन्द्र दाइसँग आत्मीय सम्बन्ध छ, प्रेमबहादुर महर्जन मान्यज्यूसँग पनि उत्तिकै आत्मीयता छ,’ खरेलले भने ।
सांसद खरेलले आफ्नो कर्मभूमि ललितपुरको कला, संस्कृति र अमूर्त सम्पदाको संरक्षणमा आफूले सक्दो पहल गर्ने बताए । ललितपुरको विकास र सम्पदा संरक्षणका लागि आफूले संसदमा सशक्त भुमिका खेल्ने र आगामी हिउँदे अधिवेशनमार्फत अमूर्त सम्पदा सम्बन्धी विधेयक अगाडि बढाउने प्रतिवद्धता व्यक्त पनि गरे ।
प्रतिक्रिया 4