Comments Add Comment

प्रभु पे क्यान इन्फोटेक फागुन २ देखि सुरू हुँदै

फाइल तस्वीर ।

२ पुस, काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी फागुनमा ‘ प्रभु पे क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगमी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘ प्रभु पे क्यान इन्फोटेक २०२०’ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रदर्शनीमा सूचना, प्रविधि र मनोरन्जन सम्बन्धी प्रदर्शनी हुने छ । क्यान महासंघका महासचिव नारायण थापाले सूचना तथा सञ्चार प्रविधि बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० आयोजना गर्न लागिएको बताए । उनले यससँगै सन २०२० मा उपत्यका बाहिर पनि सबै प्रदेशमा क्यान इन्फोटेक प्रदर्शनी आयोजना गर्न लागिएको समेत जानकारी दिए ।

यो बर्षको मेलाको मुख्य प्रायोजन प्रभु पे मोबाइल वालेटले गरेको छ । साथै एसोसिएट स्पोन्सरमा वल्र्डलिंक कम्युनिकेशन, अफिसियल इन्सुरेन्समा प्रभु इन्सुरेन्स प्रायोजन गरेका छन् ।

महासंघले प्रदेश १ को इटहरी, प्रदेश २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा प्रदेश स्तरिय र प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरिय प्रदर्शनी आयोजना गर्ने भएको छ ।

सूचना प्रविधि प्रदर्शनीमा महासंघका सदस्य संस्थाहरु, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । यस्तै क्यान महासंघका अध्यक्ष नवराज कुवँरले पर्यटन वर्ष २०२० लाई मध्यनजर गरी अन्तर्राष्ट्रिय स्तरको क्यान इन्फोटेक गर्ने योजना रहेको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment