Comments Add Comment

मेरो संघर्ष बल्ल सुरु भयो : रियाशा

'कुरै नबुझी घमण्डी भन्दिने ?'

पछिल्लो समय नेपालमा प्रतिभा उत्पादन गर्ने कारखाना झैं बनेको छ यूट्यूब । यो प्लेटर्फमबाट जन्मेका केही प्रतिभाले सेलिब्रेटीको छविसमेत बनाएका छन् । जस्तै कि रियाशा दाहाल ।

यूट्यूबमा हालेका साना भिडियोहरुबाट ठूलो फ्यान फलोइङ कमाएकी छिन् यी हिस्सी परेकी युवतीले । खासगरी छुच्ची श्रीमतीको रुपमा उनको जीवन्त अभिनयले धेरैको मन जितेको छ । अनि उनको आवाजका पारखी पनि उत्तिकै छन् । टिकटकमा उनका डाइलगहरु निकै ‘फेमस’ छन् । उनी स्वयम् पनि टिकटककी सक्रिय प्रयोगकर्ता हुन् ।

कलाकारिताको प्रस्थानविन्दू

रियाशाले आफू कलाकार बन्छु भनेर कहिल्यै सोचेकी थिइनन् । परिवारले पढ्नमै जोड दिन्थे । उनी ज्ञानी भएर पढिरहेकी थिइन् ।

जब एसएलसी सक्काइन्, उनलाई मोडलिङमा रहर पलाएजस्तो भयो । तर, उनको रहरमा परिवारको समर्थन मिलेन । परिवारले उनको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता छुट्याएको थियो, पढाई, पढाई र पढाई । त्यसैले रियासाले आफ्नो रहर मनभित्रै गुम्साएर राखिन् ।

१२ कक्षा सकेर उनले बीबीए सुरु गरिन् । बीबीए पढ्न निकै मेहनत चाहिने । त्यसैले अन्य कुरा सोच्ने फुर्सद पनि थिएन । तर, बीबीएको अन्तिम सेमिस्टरमा पुगेपछि उनको बाटो फनक्कै मोडियो ।

रियाशाको दाईसँग चिनजान भएका एकजना व्यक्तिले उनलाई एक युट्युब कार्यक्रम होस्ट गर्न अफर गरे । ट्राई गरी हेरौं न त भनेर रियाशा गइन् । उनलाई सामान्य काम सिकाइयो । तर, चन्चले स्वभावकी रियाशाले भलाद्मी पारामा सो कार्यक्रम होस्ट गर्न सकिनन् । रियाशा भन्छिन्, ‘आफ्नो वास्तविक चरित्रलाई नै लुकाएर उक्त कार्यक्रम होस्ट गर्नुपर्ने थियो । जुन मबाट भएन ।’

कार्यक्रम होस्ट गर्न नसके पनि सोही टिमसँग मिलेर रियाशाले छोटो भिडियोहरुमा काम गर्न थालिन् । त्यसमा चाहिँ आफ्नो स्वभावजस्तै भूमिका पाइन् ।

‘केटा जिस्काउने केटी’, सोझी केटी जिस्काउँदाको परिमाण’लगायत छोटो भिडियोमा रियाशालाई मन पराइयो । उनी भन्छिन्, ‘थोरै सब्सक्राइबर हुँदा पनि ती भिडियोहरु हिट भएका थिए । मेरो एक्सप्रेसन र बोलीलाई धेरैले रुचाएका थिए ।’

जिवेशसित सहकार्य

ती भिडियोहरमा काम गर्दा एक युवकसँग रियाशा घुलमिल भइन् । हेर्दा निकै सोझा र भलाद्मी देखिने ती युवक काममा भने निकै सिर्जनशील थिए । उनी थिए जिवेश गुरुङ ।

स्वभाव लगभग विपरीत भए पनि जिवेश र रियाशाको केमेष्ट्री मिल्न गयो । मित्रता बढ्सँगै उनीहरुले मिलेर केही नयाँ गर्ने सोच बनाए । सामान्य सल्लाहपपछि अहिलेको लभ ट्रेन्डको बारेमा भिडियो बनाउने निधो भयो । बिना स्कृप्ट उनीहरुले भिडियो सुट गरे ।

रियाशा भन्छिन्, ‘हामीले यस्तो गर्ने, उस्तो गर्ने भनेर कुनै योजना बनाएका नै थिएनौं । दिमागमा सामान्य खाका थियो, बाकीँ आफैँले मिलाएर बोलेका थियौँ ।’

तर, ख्यालख्यामै बनाएको छोटो भिडियो ‘आजकालको लभ’ हिट भयो । युट्युबदेखि फेसबुकसम्म भाइरल भयो । धेरैले यसको दोस्रो पार्ट खोज्न थाले । तर, जिवेश र रियाशाले दोस्रो पार्टबारे सोचेका पनि थिएनन् । दर्शकबाट तीव्र माग आएपछि उनीहरुले दोस्रो पार्ट बनाए । दोस्रो पार्ट पनि रुचाइएपछि उनीहरुको पनि हौसला बढ्यो । अब सिरियस्ली काम गर्नुपर्छ भन्ने निर्णयमा पुगे ।

निरन्तर भिडियो बनाउँदै गए उनीहरु । उनीहरुले बनाएका भिडियो युट्युबको ट्रेण्डिङमा उनीहरु छाउन थाले । नेपालमा यूट्यूवका दर्शक ह्वात्तै बढेका बेला धेरैले उनीहरुको कामलाई सह्राहना गरे ।

यति मात्रै होइन, सहकार्यसँगै रियाशा र जिवेको सम्बन्धका बारेमा पनि नानाथरी अड्कल काट्न थालिए । कतिले त उनीहरुलाई साँच्चिकै प्रेमी-प्रेमिकाका रुपमा समेत लिन्थे । तर, वास्तविकतामा त्यस्तो केही नभएको रियाशा बताउँछिन् ।

किन छुट्टिए ?

केही समययता दर्शकले जिवेश र रियाशाको हिट जोडीलाई सँगै देख्न पाएका छैनन् । जिवेशले आफ्नो सिरियलमा रियाशाको स्थानमा नयाँ युवतीलाई लिएका छन् । रियाशाले पनि आफैले छुट्टै टिम बनाएर काम गरिरहेका छन् ।

यसरी अलगअलग काम गर्न थालेपछि उनीहरुबीच फाटो आएको वा सम्बन्ध टुटेको नयाँ चर्चा सुरु भएको छ । यद्यपि, रियाशा यसको खण्डन गर्छिन् । जिवेशसित सहमतिमा नै आफूले अलग्गै काम गर्न थालेको उनको दाबी छ ।

अलि मलिन भावमा उनले भनिन्, ‘त्यही सिरिजले गर्दा नै मैले आफ्नो प्रतिभा देखाउन पाएँ र मलाई धेरैले चिन्नुभयो । त्यो कुरालाई नकार्न सक्दिन । पछि मलाई बाहिर कामहरुको पनि अफर आउन थाल्यो । बाहिरी काम र आजकालको लभको सुटिङ जुध्न थाल्यो । त्यसैले सल्लाहमा नै मैले छोडेको हुँ ।’

‘आजकालको लभ’ले १०० भाग पूरा गरेपछि रियाशा जिवेशको टिमबाट अलग भएकी हुन् । ‘आफैले केही गर्ने मनसायले’ छुट्टिएको उनी बताउँछिन् । उनले अहिले ‘सोल्टिनी सिजन २’ नामक सिरिज सुरु गरेकी छन् । यसको १० भागसम्म प्रशारण भइसकेको छ । यस सिरिजको निर्देशन उनी आफैंले गर्छिन् ।

‘बाहिरको काम’ भन्नाले रियाशाले म्युजिक भिडियोतर्फ संकेत गरेकी हुन् । उनलाई म्युजिक भिडियोको निकै अफर आउन थालेको छ र समय मिलाएर खेलिरहेकी पनि छिन् । तर, उनको प्राथमिकता चाहिँ यूट्यूबको सर्ट भिडियो नै हो । यी भिडियोहरु हास्यप्रधान मात्र नभएर सन्देशमुलक पनि छन् ।

‘आफैँ केही गर्ने’ निर्णयमा पुगेपछि रियाशाले आफैंलाई प्रश्न गरेकी थिइन्, तर गर्ने के ? अनि दिमागमा आयो, ‘सोल्टिनी’ ।

सोल्टिनी पहिला सोही च्यानलमा आउथ्यो । त्यसको सम्पूर्ण लिडरसिप रियाशाले नै गर्थिन् । सबैसँगको सल्लाहपछि उनले त्यही सिरिजको दोस्रो सिजनको रुपमा ‘सोल्टिनी सिजन २’ सुरु गरिन् । साथै नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा पनि अभिनय गर्न थालेकी छन् ।

घमण्डीको ट्याग

आफ्ना भिडियोहरुमा रियाशा अलि छुच्ची र घमण्डी युवतीको भूमिकामा हुन्छिन् । अहिलेचाहिँ उनलाई वास्तविक जीवनमै घमण्डीको ट्याग लाग्न पुगेको छ । आफ्नो घमण्डले गर्दा उनले जिवेशको साथ छोडेको भनेर यूट्यूबमा धेरैले प्रतिक्रिया जनाइरहेका छन् । यसबाट दुखी छिन् रियाशा ।

आफू पटक्कै घमण्डी नभएको बताउँदै उनी भन्छिन्, ‘मैले किन त्यो सिरिज छोडेँ भन्ने सोधखोज नै नगरी मलाई घमण्डीको दर्जा दिइएको छ । अब आफैं केही गर्छु भन्दा घमण्ड गरेको हुन्छ र ?’

आफैँले टिमको नेतृत्व गर्दा बाहिरको काम पनि गर्न भ्याउने उनको सोच छ । उनले भनिन्, ‘आफैँले गर्ने भएपछि त बाहिरको सुटिङ आज छ भने आफ्नो भोलीलाई सार्न सकिने भयो नि त । त्यसैले आफैँ गर्ने सोचेको हुँ ।’

रियाशालाई घमण्डीमात्र भनिएन । कतिपयले त जिवेश गुरुङबिना रियशा केही नभएको पनि प्रतिकृया दिए । यस्तो प्रतिकृयाले भने उनको मनमा चोट पुर्‍याएको छ । रियाशा भन्छिन्, ‘उहाँसँग म बीचमा जोडिएर र हिट भएको होइन । म त सुरुदेखि नै छु । हाम्रो सहकार्यबाट नै हामी दुवैले चर्चा पाएका हौँ ।’

सोल्टिनी सुरु भएपछि धेरै नराम्रो प्रतिकृयाहरु रियाशाले खेपेकी छिन् । युट्युबको कमेन्टमा आएर ‘छि-छि’ भन्नेहरु धेरै थिए । उनीहरुले नराम्रो भने तर, यो कुरा नराम्रो भयो भनेर भनिदिएनन् । यस कुराले पनि रियाशाको चित्त दुखेको छ । उनी भन्छिन्, ‘यो कुरा राम्रो भएन, यसलाई यसरी गरेको भए हुने भन्ने खालको कमेन्टहरु आए पो हामीले पनि सुध्रिने  मौका पाउथ्यौँ । तर, सिधै छि-छि, दुरदुर गर्दा मन खल्लो हुन्छ ।’

यद्यपि, रियाशाको कामको तारिफ गरेर हौसला दिनेहरु पनि कम छैनन् । उनले निर्देशन गरेका भिडियोहरुमा पनि उनको क्षमता झल्किन्छ ।

रियाशा भन्छिन्, ‘नकारात्मक प्रतिक्रियाले मलाई १ प्रतिशत डाउन गर्छ भने सकरात्मक प्रतिकृयाले मलाई त्यसको तीन गुणा बढि उत्साह थपिदिन्छ । उहाँहरुकै लागि भए पनि काम गरौँ जस्तो लाग्छ ।’

चलचित्रमा अफर

रियाशालाई चलचित्रबाट अफरहरु आउन थालेका छन् । तर, सोचेजस्तो टिम र खोजेजस्तो स्कृप्ट नपाएको बताउँछिन् । यदी कसैले उनलाई फरक विषयबस्तुमा अफर गरेमा चलचित्रमा काम गर्न तयार छिन् ।

रियाशा भन्छिन्, ‘चलचित्रमा काम गर्ने रहर छ । तर, अहिले बनिरहेको जस्तो चलचित्रमा काम गर्दिन । केही फरक र प्रभावकारी विषयवस्तुमा अफर आएछ भने त्यसमा पक्कै काम गर्नेछु ।’

रियाशा केही चलचित्रकर्मीहरुले गरेको अफरबाट पनि दिक्क छिन् । उनलाई एक निर्माताले फोन गरे । हेल्लो भन्नासाथ सिधै भने, ‘रियाशाजी, तपाईंलाई हामीले चलचित्रमा खेलाउन लागेको। अडिसन दिन आउनुस् है ।’

रियाशा ट्वाँ परिन । उनी भन्छिन्, ‘मलाई चलचित्रमा काम गर्ने मन छ कि छैन पनि नसोधी अडिसन दिन आउ भन्नुहुन्छ । तपाईं आफैँ भन्नुस्, के म त्यहाँ अडिसन दिन जाऊ ?’ यदी चलचित्रको विषयबुस्तुको विषयमा बुझाएर स्कृप्ट राम्रो भएको चलचित्रबाट अफर आए अडिसन दिन पनि तयार छिन् उनी ।

संघर्ष बल्ल सुरू भयो

यो उमेरमा नै टिमको नेतृत्व गरेर काम गर्नुलाई रियाशाले चुनौतीपूर्ण मानेकी छिन् । उनी थप्छिन्, ‘यहाँ त कत्ति पढेर, सिकेर आएका हुन्छन् । म त यो मामिलामा बच्चै छु । त्यसैले राम्रो सुझावसहितको प्रतिकृया दिनुभयो भने मैले सिक्ने अवसर पाउने थिएँ ।’

रियाशा आफ्नो असली संघर्ष बल्ल सुरु भएको बताउँछिन् । अहिले सम्पूर्ण कामको भार आफैँले जिम्मा लिनुपर्दा आफू चाँडै खारिएको उनको अनुभव छ ।

‘पहिला म कलाकारको रुपमामात्र काम गर्थे । खासै तनाव हुन्न थियो’, रियाशा भन्छिन्, ‘अहिले सबै कुराको व्यवस्थापन आफैँ गर्नु परेको छ । त्यसैले बल्ल मेरो संघर्ष सुरु भएको जस्तो लागिरहेको छ ।’

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment