Comments Add Comment

भारतका १४ राज्य अशान्त, भाजपाले थाल्यो जागरण अभियान

नौ मुख्यमन्त्रीले भने- नागरिकता विधेयक लागू गर्न दिँदैनौं

६ पुस, काठमाडौं । नागरिकतासम्बन्धी नयाँ कानुनका कारण भारतमा पछिल्लो एक हप्तामा १४ राज्यमा विरोध प्रदर्शन जारी छ । यो विरोध प्रदर्शनलाई मत्थर पार्ने प्रयासमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसक्रममा जनतालाई भेटेर नागरिकता विधेयकबारे बुझाउने, आफ्नो देशमा प्रताडित भएका कारण भारतमा शरण लिएर बस्दै आएकाहरुलाई समेत सहभागी गराएर र्‍याली निकाल्नेलगायतका कार्यक्रम हुनेछन् । भाजपा महासचिव भुपेन्द्र यादवका अनुसार अभियानका क्रममा २५० स्थानमा पत्रकार सम्मेलन गरेर विपक्षी दलको भण्डाफोर गर्नेलगायतका कार्यक्रम पनि हुनेछन् ।

भारत सरकारले नागरिकता सम्बन्धी कानुन संशोधन गरेर भारतमा शरण लिएर बस्दै आएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने निर्णय गरेको थियो । यसबाट मुस्लिम समुदायलाई विभेद भएको भन्दै सुरु भएको आन्दोलनका कारण एक दर्जन बढी नागरिकको ज्यान गइसकेको छ ।

यस बीचमा दुई मुद्दा प्रमुख रुपमा उठेका छन् । पहिलो- नागरिकता संशोधन कानुन अर्थात् सीएए । र, दोस्रो- नेशनल रजिष्टर अफ सिटिजन अर्थात् एनआरसी ।

नागरिकता संशोधन विधेयकको हालसम्म नौ मुख्यमन्त्रीले विरोध जनाएका छन् । यी मुख्यमन्त्री ती नौ राज्यमा सरकार चलाइरहेका छन् जहाँ भारतको एक तिहाइ भूभाग पर्दछ र ३० प्रतिशत जनसंख्या ओगट्छ । यीमध्ये १८ प्रतिशत जनसंख्यावाला पाँच राज्य यस्ता छन्, जहाँका मुख्यमन्त्रीले स्पष्ट भनिदिएका छन् कि हामी यो कानुनलाई लागू हुन दिँदैनौं ।

हाल भारतमा केन्द्र शासित ९ सहित २८ प्रदेश छन् ।

दोस्रो मुद्दा एनआरसीको योजनाको खाका तयार हुनु अगाडि नै ७ मुख्यमन्त्रीहरुले त्यसलाई आफ्नो राज्यमा लागू हुन नदिने बताइसकेका छन् ।

भारतका मध्यप्रदेश, छत्तीसगढ र दिल्लीका मुख्यमन्त्रीले पनि नागरिकता कानुनको विरोध गर्दै आएका छन् । तर उनीहरुले भने यसलाई लागू हुन नदिने अभिव्यक्ति भने दिएका छैनन् । मध्यप्रदेश र छत्तिसगढका मुख्यमन्त्रीहरुले कांग्रेसको विरोध नै आफूहरुको विरोध हो भनेका छन् ।

तेलंगनामा सत्तारुढ तेलगंना राष्ट्र समिति (टिआरएस)ले पनि संसदमा नागरिकता विधेयकको विरोध गरेको थियो यद्यपि यसलाई लागू गर्न दिने कि नदिने भन्नेमा उसको धारणा स्पष्ट भइसकेको छैन ।

नागरिकता संशोधनको विरोधमा भारतमा प्रदर्शन जारी छ । प्रदर्शनको सुरुवात आसाम र पूर्वोत्तर राज्यबाट भएको थियो । त्यसपछि राजधानी दिल्लीको जामिया र उत्तर प्रदेशको अलिगढ मुस्लिम युनिभर्सिटीमा आन्दोलन सुरु भएको थियो । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै विस्तारै अन्य शिक्षण संस्थाहरुमा पनि प्रदर्शन हुन थाल्यो । पछिल्ला दिनहरुमा उत्तर प्रदेशका अलग-अलग शहरहरुमा हिंसात्मक आन्दोलन भइरहेको छ । बिहीबार बाम दल र मुस्लिम संगठनहरुले बन्द आह्वान गरेका थिए भने शुक्रबार पनि धेरै राज्यहरुमा हिंसात्मक प्रदर्शन भए । शनिबार आरजेडीले पनि बन्द आह्वान गरेको थियो ।

प्रदर्शनकारीले सवारी साधन, प्रहरी चौकी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनका कारण कतिपय राज्यमा निषेधाज्ञा लागू गरिएको छ भने इन्टरनेट सेवासमेत बन्द गराइएपछि जनजीवन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment