Comments Add Comment
नेपाली हिरोहरुको व्यस्तता :

कहाँ छन् दयाहाङ ? के गर्दैछन् अनमोल ?

चलचित्र दुई प्रकारले चल्छ । एउटा कथा र अर्को स्टार कलाकार । चलचित्र चल्ने सबैभन्दा ठूलो हतियार भने कथा नै हो । केही कलाकारको नामले पनि चलचित्रको सुरुवाती व्यापारमा फाइदा मिल्छ । नेपालमा थोरै कलाकारको नाममा सुरुवाती व्यापार र केही चलचित्रको सफलता कथा र ब्रान्डमा भर परेको पाइन्छ ।

गत वर्ष नेपाली बजारमा १०० वटा चलचित्र रिलिज भएका थिए । यो वर्ष गत वर्षको अनुपातमा करिब ३० देखि ३५ वटा चलचित्र कम बन्ने पक्का छ । चलचित्र रिलिजको सूची हेर्दा पुसदेखि चैतसम्म धेरै चलचित्र छैनन् । गएका वर्षमा माघे संक्रान्तिमा ३ वटासम्म चलचित्र रिलिज हुन्थे । यो वर्ष माघे संक्रान्तिको बिदामा समेत चलचित्र चलाउन निर्माता उत्साहित छैनन् ।

यसैले, पनि अहिले धेरै कलाकारले काम पाएका छैनन् । कतिपय काम नपाएर अन्य व्यवसायमा व्यस्त भइसके भने कोही विदेश हानिएका छन् । तर, चलचित्र क्षेत्रमा केही यस्ता नाम छन्, जसलाई कामको अभाव छैन ।

राजकुमार बनेका प्रदीप

नायक प्रदीप खड्का नेपाली चलचित्रमा चलेको नाम हो । भलै, प्रदीपका पछिल्ला चलचित्रले हलमा दर्शक खासै तानेका छैनन् । तर, उनलाई चलचित्रमा राख्न चाहने निर्माताको कमी छैन ।

प्रदीप भने हाल चलचित्र ‘प्रेमगीत ३’को छायांकन गरिरहेका छन् । यो चलचित्रमा प्रदीप राजकुमारको भेषमा देखिएका छन् । यो चलचित्रको रिलिज अगाडि उनले कुनै पनि चलचित्रमा काम नगर्ने पक्का छ ।

भ्याइ-नभ्याइ पल

नायक पल शाहको हातमा पनि चलचित्रको अभाव छैन । उनी अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको क्रममा छ । फागुन २३ गते यो चलचित्र रिलिज हुँदैछ । यो चलचित्रमा उनी एउटा सुपरस्टार गायकको भूमिकामा देखिँदैछन् ।

म्यूजिकल लभ स्टोरी चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा उनको जोडीको रुपमा नायिका पूजा शर्माले काम गरेकी छिन् । यो चलचित्रको छायांकन सकिएको केही समय भयो । उनी अभिनित चलचित्र ‘वीर विक्रम २’ रिलिज भइसकेको छ । चलचित्रले निर्माताको लगानी भने बचाउन सकेन ।

पल शाहले अभिनय गरेको अर्को चलचित्र ‘हृदयभरी’को छायांकन सकिएको छ । तर, यो चलचित्रको प्रदर्शन मिति यसअघि भदौको अन्तिम सातालाई तोकिएको थियो । तर, काम नसकिएको भन्दै चलचित्रको प्रदर्शन मिति सारियो । अहिले यो चलचित्रको प्रदर्शन मिति तय भएको छैन ।

पल यो चलचित्रमा पोल्टी फार्ममा काम गर्ने एक युवकको भूमिकामा देखिँदैछन् । पल अब नयाँ चलचित्र ‘तिमी हुन्छौ जहाँजहाँ’मा काम गर्दैछन् । दिवाकर भट्टराईको निर्देशनमा बन्ने यो चलचित्रमा पलले नायिका दीपिका प्रसाईँसँग रोमान्स गर्दैछन् । यसरी हेर्दा, पलका ३ वटा चलचित्र लाइनअपमा छन् ।

आराम गरिरहेका अनमोल

नायक अनमोल केसी अभिनित कुनै पनि चलचित्र यो वर्ष रिलिजमा नआउने पक्का छ । गत वर्ष, उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भयो र व्यापारिक रुपमा सफल भयो । अनमोलले यो वर्ष चलचित्र ‘धुपौरे’मा महंगो रकम लिएर काम गर्ने सम्झौता गरे । तर, पछि उनले यो चलचित्र छाडे ।

यसपछि, उनले गत वर्षको हिट चलचित्र ‘ए मेरो हजुर ३’को चौथो सिरिज साइन गरेका छन् । ‘ए मेरो हजुर ४’को छायांकन यसै वर्ष सुरु हुनेछ । तर, चलचित्रको रिलिज भने अर्को वर्ष मात्र हुनेछ ।

अनमोलले यो चलचित्रका लागि महंगो रकमसमेत लिएका छन् । झरना थापाले निर्देशन गर्ने यो चलचित्रमा उनको जोडीको रुपमा सुहाना थापाले काम गर्दैछिन् । यो चलचित्रलाई प्रेम कथामा बनाउने तयारी गरिएको छ । अनमोल लभर ब्वाईको भूमिकामा चलचित्रमा देखिँदैछन् ।

के पाक्दैछ दीपकराजको दिमागमा ?

बक्स अफिसमा चलेका अर्का कलाकार हुन्, दीपकराज गिरी । दीपकराज गिरीको लेखन, निर्माण र अभिनय रहेको चलचित्र ‘छ माया छपक्कै’ यो वर्षको असोज २४ गते रिलिज भयो । केही हलमा अझै यो चलचित्र चलिरहेको छ । यो चलचित्र वर्षकै सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्रमा पर्छ । यसपछि, दीपकराज गिरीले नयाँ चलचित्र साइन गरेका छैनन् । उनको टिमले विभिन्न निर्देशकसँग टाइअप गरेर काम गर्ने चर्चा पनि चलेको छ । तर, कुनै पनि चलचित्रका लागि सम्झौता भने भइसकेको छैन ।

विपिनको विश्राम

नायक विपिन कार्की अभिनित चलचित्र ‘जात्रै जात्रा’ यो वर्ष हिट भयो । जेठमा रिलिज भएको चलचित्रपछि विपिनले नयाँ चलचित्र ‘सेल्फी किङ्ग’मा काम गरे । माघको २४ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । यो चलचित्रमा विपिन एक सफल स्टारको भूमिकामा देखिँदैछन् ।

एउटा स्टारको संघर्ष र सफलताको तालमेल मिलाउने क्रममा हुने घटनाक्रमको कथामा यो चलचित्र बनेको छ । विपिनले यसपछि, नयाँ चलचित्रमा काम गर्ने कागजी सम्झौता भने गरेका छैनन् । तर, उनलाई अफरको कुनै पनि कमी भने छैन ।

नेता बन्ने दयाहाङ

नायक दयाहाङ राईका लागि यो वर्ष लक्की मान्नुपर्छ । उनी, अभिनित चलचित्र ‘कबड्डी ३’ले बक्स अफिसमा सुपरहिटको व्यापार गर्‍यो । उनैले बनाएको चलचित्र ‘माछा माछा’ भने हलमा लाग्यो र उत्रियो ।

दया अभिनित नयाँ चलचित्र ‘सेन्टीभाइरस’ फागुनको ९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा दया नेताको भूमिकामा देखिँदैछन् । दयाहाङ राईको हातमा एकपछि अर्को चलचित्रको अफर आइरहेको छ ।

नेपाली चलचित्र क्षेत्रमा केही कलाकारलाई कुन काम गर्ने भन्ने रोजीछोडी छ भने केही कलाकारलाई कामको अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment