+
+
Shares

मेलम्चीको काममा नयाँ चिनियाँ ठेकेदारले देखायो जोश

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ५ गते १७:५८

५ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा नयाँ नियुक्त भएको चिनियाँ ठेकेदारको प्रारम्भिक कार्यसम्पादन सन्तोषजनक पाइएको छ । ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङतर्फको जटिल मानिएको कामहरु तीव्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

करिब एक महिनाको प्रगति सन्तोषजनक रहेकाले लक्ष्यअनुसार नै चिनियाँ ठेकेदारले काम पूरा गर्ने आशा आयोजनाका एक अधिकारीले व्यक्त गरे । सुरुङमा २५ हजार वटा ड्रिल गर्नुपर्नेमा ६० प्रतिशत काम भइसकेको ती अधिकारीले जानकारी दिए । करिब १४ हजार ड्रिल भइसकेको र अरु काम पनि काम सन्तोषजनक रहेको आयोजना सम्बद्ध अधिकारी बताउँछन् ।

‘तोकिएभन्दा छिटो काम सकेमा बोनससमेत पाउने गरी खरिद सम्झौता भएको छ । अहिलेकै गतिमा काम भयो भने सिनोले त्यो रकम पनि प्राप्त गर्न सक्ने देखिन्छ,’ ती अधिकारी भन्छन्, ‘छिटो काम गर्न हामीले पनि प्रेरित गरिरहेका छौं ।’

आयोजनाले सिनोलाई समय आगावै काम सकेमा दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता गरेको छ । छिटो काम सकेमा बाँकी दिनको गणना गरेर प्रतिदिन ठेक्का रकमको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिइने छ । यदि काममा ढिलाइ भए सिनोले पनि ढिला भएको दिनको गणना गरेर प्रतिदिन त्यतिकै दरले जरिवाना तिर्नुपर्ने हुन्छ ।

तर, अहिले पनि अधिकारीहरु आयोजना सम्पन्न कहिले हुन्छ भन्ने विषयमा औपचारिक बोल्न मान्दैनन् ।  खानेपानी मन्त्रालयले नै मेलम्ची आउने समयसीमाबारे अब नबोल्ने नीति लिएको छ ।

ठेकेदार सिनोले हेडवर्क्सको लागि बाँध निर्माण गर्न पनि काम थालेको छ । सुरुङतर्फका अन्य प्राविधिक काम पनि समानान्तर रुपमा अघि बढाएको छ । जसका कारण अबको ११ महिनाभित्र मेलम्चीको पानी सुरुङमा हाल्न सकिने अपेक्षा आयोजनालाई छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले पनि नयाँ ठेकेदारले राम्रो गतिमा साथ काम अघि बढाएको बताए । ‘अहिले नै सिनोको कामको समीक्षा गर्नु छिटो हुन्छ,’ उनले भने, ‘तर पनि लक्षण राम्रो देखिएको छ । हामीले पनि अनुकुल वातावरण तयार पार्ने काम गरिरहेका छौं ।’

सिनो हाइड्रोका प्रतिनिधिले आयोजना निर्माणमा विलम्ब नहुने बताउँदै आएका छन् । सरकारले विश्वासका साथ आफूहरुलाई निर्माणको जिम्मा दिएकाले यसलाई समयसीमा भित्र सकाउने सिनोको प्रतिवद्धता छ ।

इटालियन कम्पनी सीएमसी भागेपछि आयोजनाको बाँकी काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का पाएको थियो । यो कम्पनी हाल माथिल्लो तामाकोसीको सिभिलतर्फको ठेकदार पनि हो । कुलेखानी तेस्रोमा काम गरेको सिनोले निर्माणाधीन तनहुँ जलविद्युत आयोजना पनि पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?