Comments Add Comment

सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री ओलीबाट रिट्वीट भएपछि…

५ पुस, काठमाडौं । विवादास्पद नागरिकता विधेयकका कारण भारत अहिले अशान्त छ । भारतमा शरण लिइरहेका पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने विधेयक संसदका दुवै सदनबाट पारित भएपछि भारतभर भइरहेको विरोध प्रदर्शनका कारण हालसम्म नौ जनाको ज्यान गइसकेको छ । यही विषयसँग जोडिएर बालुवाटारमा शुक्रबार राति खैलाबैला मच्चियो ।

भारतका सत्तापक्षका सांसदहरुले विधेयकको बचाउ गरेका छन् भने विपक्षी कांग्रेस, कम्युनिष्ट लगायतका सांसदहरुले विरोध गर्दै आएका छन् । नेपालले भने आधिकारिकरुपमा भारतको नागरिकता विधेयक र त्यसबाट सिर्जित समस्याबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

यसैक्रममा भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रि-ट्वीट भएपछि बालुवाटारमा खैलाबैला मच्चिएको हो ।

सोनिया गान्धीले अंग्रेजीमा दिएको भिडियो सन्देशमा भाजपा सरकारले जनताको आवाज सुन्नुपर्ने उल्लेख छ । आफ्नो अधिकारका लागि गरेको संघर्षमा उत्रिएका जनतालाई कांग्रेस पार्टीको साथ रहेको पनि उनले भिडियोमा बताएकी छन् ।

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेतृत्वको यो भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रिट्वीट भएपछि तरंग सिर्जना हुनु स्वाभाविकै हो ।

भनिन्छ प्रधानमन्त्रीको ह्याण्डलबाट भएको रिट्वीट केही घण्टापछि हटाइयो । यस विषयमा जब प्रश्न उठ्यो, त्यसपछि रि-ट्वीट ‘अन डु’ गरिएको छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘अन्यथा’ भएको भन्दै स्पष्टीकरण दिएका छन् । थापाले प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल @PM_Nepal को पासवर्ड दुरुपयोग भएको आशंकामा छानविन भइरहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले रि-ट्वीटलाई अन्यथा भने पनि भारतीय सञ्चारकर्मीहरुले भने सोही रि-ट्वीटका आधारमा समाचार बनाएका छन् । सामाजिक सन्जालमा पनि यो चर्चाको विषय बनेको छ । द टेलिग्राफको अनलाइन संस्करणमा कोलकाता डेटलाइनबाट ओलीको रि-ट्वीटबाट समाचार बनाइएको छ ।

भुटानी मिडिया एसोसियसनका अध्यक्ष एवम् भुटानी समाचार पत्रका सम्पादक तेन्जिङ लाम्साङले समेत ओलीको रि-ट्वीटबारे चर्चा गरेका छन् ।

हेर्नुहोस् सोनिया गान्धीको भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment