Comments Add Comment

वीरगञ्जबाट ट्रकसहित ३ हजार किलो कालोमरिच बरामद

६ पुस, वीरगञ्ज । तस्करी गरेर भारत लैजाँदै गरेको आशंकामा प्रहरीले ३ हजार किलो कालोमरिच बरामद गरेको छ । वीरगञ्ज—१६, इनर्वाबाट ना २ ख ९८०२ नम्बरको ट्रकसहित प्रहीले मरिच नियन्त्रणमा लिएको हो । मरिच १० लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीले भन्सार क्षेत्रबाट ठूलो परिमाणमा मरिच बरामद गरेको यो दोस्रो पटक हो । यसअघि ०७५ जेठ २२ गते मरिच बोकेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगञ्ज रक्सौल नाकास्थित शंकराचार्यसमेत कटिसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । ट्रकमा प्लाष्टिकको बोरामा प्याकिङ गरिएको १२.२ टन मरिच थियो ।

त्यसको दुई दिन अघि विन्दवासिनी गाउँपालिका–४ अमरपट्टी नाकाहुँदै नेपाल बाट भारत तर्फ गईरहेको ना ३ त २४३६ नम्बरको ट्याक्टरमा लोड १ हजार ८ सय ७५ किलो मरिच प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मरिच अवैध रूपमा भारत लैजान खोजिएको आशंकामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ‘गण्डक चोकबाट जनकपुर लैजान भनी लोड भएको ट्रक भन्सारतर्फ लगिएको छ’, उनले भने, ‘ तस्करी गर्न खोजिएको आशंकामा नियन्त्रणमा लिएर भन्सार बुझाएका छौं ।’
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले भने प्रहरीले बेवारिसे अवस्थामा समातेको भनेर एक ट्रक मरिच बुझाएको जानकारी दिए । ‘बेवारिसे अवस्थमा भेटिएको भनेर प्रहरीले मरिचसहितको ट्रक शनिबार बुझाएको छ ’, उनले भने ‘ अहिलेसम्म कागजपत्र लिएर हकदाबी गर्न कोही पनि आएका छैनन् ।’

कागजपत्रसहित व्यक्ति वा फर्मले दाबी गर्न आएपछि अनुसन्धान सहज हुने उनको भनाइ छ ।

तेस्रो मुलुकबाट ठूलो परिमाणमा मसलामा प्रयोग हुने कालोमरिच आयात गरेर सीमा क्षेत्रबाट भारततर्फ चोरी निकासी गर्ने गरिन्छ । एकैपटक ठूलो परिमाणमा लैजान नसक्दा तस्करले भरियामार्फत थोरै थोरै परिमाणमा समेत लैजाने गरेका छन् ।

ठूलो परिमाणमा मरिच तस्करी गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको स्रोतले जनाएको छ । नेपालमा कम माग हुने मरिचको माग भारतामा अत्याधिक छ । भियतनाम र ब्राजिल लगायत तेस्रो मुलुकबाट भारतको बाटो हुँदै मरिच आयात हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment