Comments Add Comment

‘मेरो सरकार’को काम कस्तो लागिरहेको छ ?

सरकारको कामप्रति राष्ट्रपति असन्तुष्ट, धुम्बाराहीमा 'महारानी' को संज्ञा

६ पुस, काठमाडौं । ओली सरकारको काम गराइप्रति राष्ट्रपति विद्यादेवी भण्डारी असन्तुष्ट देखिएकी छन् । भलै, राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यो सरकारलाई ‘मेरो सरकार’ भनेकी थिइन् ।

राष्ट्रपतिको भूमिकामा रहेर पनि नेकपाभित्र हस्तक्षेपकारी भूमिका खेलेको आरोप लाग्दै आएका बेला राष्ट्रपति भण्डारीले अब सरकारको काममा पनि हस्तक्षेप गर्न थालेको संकेत शनिबार शीतलनिवासमा देखियो ।

सडकका खाल्डाखुल्डीदेखि गोकर्ण रिसोर्टको सरकारी जग्गासम्मका समाचारहरु आफूले पत्रपत्रिकामा पढिरहेको भन्दै राष्ट्रपति भण्डारीले ओली सरकारको भूमिकाप्रति शनिबार असन्तुष्टि प्रकट गरिन् ।

फेसबुक र ट्वीटरमा लेखेर मात्र नहुने भन्दै नेकपाले पाएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्ने राष्ट्रपति भण्डारीले नेकपाका नेताहरुलाई सम्झाइन् ।

‘सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटअनुसार काम भइरहेको छ कि छैन ?’ राष्ट्रपति भण्डारीले शनिबार शीतलनिवासमा नेकपाका केही नेतालाई बोलाएर सोधिन्, ‘मैले पत्रपत्रिकामा विभिन्नखालका समाचार पढिरहेकै छु, सरकार कसरी अगाडि बढिरहेको छ, यस विषयमा तपाईंहरुको धारणा के छ ?’

नेकपा स्थायी कमिटीको बैठक चलिरहेकै बेला राष्ट्रपतिले बहालवाला मन्त्रीसहित पार्टीको दोस्रो पुस्ताका केही नेताहरुलाई शीतलनिवासमा बोलाएर सरकारको कामबारे चासो राखेकी हुन् ।

राष्ट्रपतिको अभिव्यक्तिमा सरकारको काम गराइप्रति असन्तुष्टि झल्किएको त्यहाँ सहभागी एक नेताले अनलाइनखबरलाई बताए । प्रधानमन्त्री ओलीले यती समूहलाई दिएको गोकर्ण रिसोर्टलगायतको जग्गाका सम्बन्धमा पनि राष्ट्रपति भण्डारीले संकेत गरेको ती नेताले बताए ।

शीतलनिवासमा राष्ट्रपतिको निम्तो मान्न जानेहरुमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत थिए । त्यहाँ पूर्वमन्त्री जनार्दन शर्मा, सुरेन्द्र पाण्डेका साथै सांसद देवेन्द्र पौडेललगायत थिए ।

नेकपाले दुई तिहाइ बहुमत पाएको वर्तमान अवस्थामा गम्भीर भएर ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले नेकपा नेताहरुलाई सम्झाएर खाना खुवाइवरि पठाएकी थिइन् ।

राष्ट्रपतिको निम्तो मानेर नेताहरु सीधै धुम्बाराहीको स्थायी कमिटी बैठकमा प्रवेश गरेका थिए ।

यो पनि पढ्नुहोस राष्ट्रपतिले नेकपा नेताहरुलाई शीतल निवास बोलाउँदा धुम्बाराहीमा हलचल

धुम्बाराहीमा ‘महारानी’ को आरोप

सिंहदरबार र शीतलनिवासको टकरावको बाछिटा शनिबार धुम्बाराहीमा पनि देखियो । राष्ट्रपति कार्यालयबाट खाना खाएर नेताहरु धुम्बाराहीमा पुग्दा स्थायी कमिटीको बैठक सुरु भइसकेको थियो । पार्टी नेतृत्वलाई जानकारी नै नदिई बैठकै छाडेर राष्ट्रपतिलाई भेट्न जानु विधि र प्रक्रियाविपरीत कार्य भएको भन्दै अध्यक्ष प्रचण्डले नेताहरुको आलोचना गरेका थिए ।

तर, यो भेट पहिले नै तय भएको भन्दै बैठकमा आउन ढिलो भएकामा कमजोरी हुन पुगेको नेताहरुले स्पष्टीकरण दिएपछि प्रचण्डले चित्त बुझाए । तर, भीम रावल र रघुजी पन्तलगायतका नेताहरुले राष्ट्रपति राजनीतिमा उत्रिएको भन्दै कडा आपत्ति जनाए ।

राष्ट्रपतिले राजनीति गर्न खोजेको र ‘महारानी’ बन्न खोजेको भन्दै धुम्बाराही बैठकमा शीतलनिवासको चर्को आलोचना भएको स्रोतले बतायो ।

एकातिर राष्ट्रपतिले नेकपा नेताहरुलाई बोलाएर सरकार र पार्टीको काममा चासो राख्नु, अर्कोतर्फ नेकपा नेताहरुबाटै राष्ट्रपतिलाई ‘महारानी’ को आरोप लाग्नुले अब दुई तिहाइ बहुमतवाला नेकपा सरकार अन्तरविरोधको गहिरो भासमा धकेलिन थालेको कतिपय नेताले विश्लेषण गर्न थालेका छन् ।

राष्ट्रपतिले नेकपाका नेताहरुसँग राजनीतिक भेटघाट गर्दा आपत्ति जनाउनुको कारण के हो भन्ने प्रश्नमा नेकपा नेता भीम रावलको प्रतिक्रिया यस्तो छ-

‘नेपालको संविधानको संरक्षक राष्ट्रपतिलाई भनिएको छ । संविधानको संरक्षक भन्नुको अर्थ, संविधानको मर्यादा सबैले पालना गरुन्, त्यसको सबैले अवलम्वन गरुन् भन्ने हो । अब स्वयं राष्ट्रपतिले नै नेपालको संविधानमा उहाँलाई जे अधिकार दिइएको छ, त्योभन्दा बाहिर गएर राजनीतिक दल, दलभित्र पनि गुटबन्दीमा प्रवेश गर्ने, संविधानले दिएको मर्यादाको हेक्का नराख्ने र राजनीतिकरुपमा सक्रिय हुन खोज्ने, त्यस्तो देखाउनु भनेको चिन्ताको विषय हो ।

राष्ट्रपतिप्रति मेरो धेरै ठूलो सम्मान छ । उहाँलाई राष्ट्रपतिको निर्वाचनका बेलामा उहाँ हुनुपर्छ भनेर मतदान गर्ने मान्छे हुँ म । त्यसकारण उहाँ त हामी सबैको राष्ट्रपति हो नि । उहाँको पदीय मर्यादा विपरीत जे गतिविधिहरु भइरहेका छन्, यो पछिल्लो बैठक, त्यसैको श्रृंखला हो, कडी हो ।

त्यसकारण, मेरो चिन्ता नेपालको संविधानले दिएका अधिकार र मर्यादाको सबैले पालना गरौं । राष्ट्रपतिले त झन् सबभन्दा बढी संरक्षकको हैसियतले त्यसको पालना गर्नुपर्छ । तर, त्यसो भएको देखिएन, यो चिन्ताको विषय हो । यसले प्रणालीलाई कमजोर बनाउँछ । राष्ट्रपतिको मर्यादा र त्यसको गरिमालाई घटाउँछ भन्ने मेरो भनाइ हो ।

मैले यही मान्यतामा उभिएर हिजो (शनिबार) स्थायी कमिटीको बैठकमा जब अध्यक्ष (प्रचण्ड) स्वयंले त्यसप्रति आपत्ति जनाएर आफ्नो विचार राख्नुभयो । मैले अध्यक्षको भनाइलाई समर्थन जनाएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment