Comments Add Comment

सेतीखोला जलविद्युत निर्माणको ठेक्का सम्झौता

‘दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता’

७ पुस, बुटवल । २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजनाको सिभिल निर्माणतर्फको ठेक्का सम्झौता गरिएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरीमा आयोजना निर्माण हुनेछ । बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभीबीच काठमाडौमा ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो ।

भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्ताक्षर गरे । आयोजनामा स्थानीयवासीलाई समेत शेयर दिइने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

सम्झौतामा अनुसार रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का १ अर्ब २० करोड रुपैयाँमा लिएको छ । निर्माण कम्पनी सम्झौतामा २७ महिनाको समय सीमा दिइएको भएपनि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

करीब पाँच अर्ब रुपैयाँ लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ। नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मंसिर ६ गते विद्युत खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ । १ हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको छ ।

प्रवर्द्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्तिले मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिए ।

उनले आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपुँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइने बताए ।

आयोजनाबाट उत्पादित विद्युत कुल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । अध्यक्ष पोखरेलले आयोजना तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर उदाहरणीय बन्ने अठोट गरे ।

यस्तै रसुवा–लुना जेभीका कार्यकारी निर्देशक आचार्यले तोकिएको समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउदै अनुकरणीय आयोजना बनाउने अभिलाषा आफुहरुमा पनि रहेको बताए । आयोजनाको इञ्जिनीयरिङको काम हाइड्रो कन्सल्टले गरिरहेको छ ।

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोहरलाल श्रेष्ठले प्राविधिक तयारीमा कुनै कन्जुस्याइँ नगरिएको जानकारी दिँदै आयोजना आकर्षक रहेको विवरण प्रस्तुत गरे । आयोजनाका प्रवर्द्धक समेत रहेका स्थानीयवासी बमबहादुर गुरुङले स्थानीयवासीलाई विश्वासमा लिएर काम गराउन आफू प्रतिबद्ध रहेको र स्थानीयबाट पुरै सहयोग हुने दाबी गरे ।

निकट भविश्यमा नै हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल तर्फको निर्माण व्यवसायी समेत छनोट गरिने आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment