Comments Add Comment

चिनियाँविरुद्धको अपरेशनमा चीनसँगै सहकार्य, नाम दिइयो ‘चार्ली फोक्स्टर’

९ पुस, काठमाडौं । चीन र नेपालको संयुक्त अपरेशनमा १२२ चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले स्वीकार गरेको छ । यो अपरेशनलाई ‘चार्ली फोक्स्टर’ नाम दिइएको छ ।

सोमबार एकैदिन काठमाडौंका बिभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरिएको थियो । चिनियाँ पक्षले मंगलबार नै नेपाल र चीनको संयुक्त अपरेशनमा उनीहरु पक्राउ परेको बताएको थियो । तर, नेपाल प्रहरीले भने बुधबार मात्र यसको औपचारिक जानकारी दिएको हो ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीका निर्देशक डिआईजी निरजबहादुर शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘एनसीबी बेइजिङको सूचनाको आधारमा यो अपरेशन गरिएको हो ।’ चिनियाँ पक्षले दिएको सूचनाको आधारमा करिब तीन महिनादेखि आफूहरुले काम गरिरहेको डीआईजी शाहीको भनाइ छ ।

यो पनि पढ्नुहोस चिनियाँ नागरिकविरुद्धको अपरेशन: हामफाल्लान् भनेर पहिल्यै जालीले घेरिएको थियो घर !

चीलीमा आयोजित इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ पक्षले नेपाली पक्षलाई चिनियाँ नागरिकहरु नेपालमा बसेर साइबर अपराधको गतिविधि गरिरहेको सूचना दिएपछि त्यसबारे निगरानी थालिएको थियो । यसैक्रममा काठमाडौंको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठका नौ वटा घरहरुमा छापा मारेर ८ महिला र ११४ पुरुष गरी जम्मा १२२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमाथि पाँच दिनको म्याद थप गरी थप कारबाही अगाडि बढाइएको छ । उनीहरु अन्य अपराधमा पनि संलग्न रहेको आशंका छ ।

यसलाई नेपालमा विदेशीमाथि भएको हालसम्मकै ठूलो अपरेशन भनिएको छ । डीआईजी शाहीका अनुसार ती चिनियाँ नागरिकहरुले टुरिष्ट भिसा दुरुपयोग गरेका थिए । सोधपुछको क्रममा उनीहरुले दुर्व्यवहारसमेत गरेको सीआईबीको भनाइ छ ।

पक्राउ परेकाहरुको साथबाट ७४७ मोबाइल, ३३१ ल्यापटप, १८ थान सीपीयू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सीमकार्ड र ६७ थान पासपोर्ट बरामद भएको सीआईबीले जनाएको छ ।

 

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment