News Summary
Generated by OK AI. Editorially reviewed.- तिलोत्तमा उद्योग वाणिज्य संघले रुपन्देहीको मणिग्राममा मंसिर ३ गतेदेखि नवौं औद्योगिक व्यापार मेला शुरू गर्ने तयारी पूरा गरेको छ ।
- मेलामा ३ सयभन्दा बढी स्टल रहने, ५ लाखभन्दा बढी दर्शक आउने र १२ करोड रुपैयाँभन्दा बढी कारोबार हुने आयोजकले जनाएको छ ।
- मेलामा औद्योगिक, कृषि, प्रविधि र पर्यटनका प्रदर्शनीसँगै ८० फिट अग्लो वाटर फल, चर्खे पिङ, जिरो ग्राभिटी पिङ र श्रम डेस्क रहनेछन् ।
२ मंसिर,बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा रुपन्देहीको मणिग्राममा मंसिर ३ गतेदेखि सञ्चालन हुने नवौं औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजकले बुधबार मेलास्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी गराएको हो ।
‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि औद्योगिक व्यापार मेला’ नारासहित आयोजना गरिएको मेलामा ३ सय बढी स्टल रहने र पाँच लाखभन्दा बढी दर्शक र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए । स्थानीय उद्योग र कृषिजन्य उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइएको मेलाले व्यावसायिक गतिविधि चलायमान बनाउने कार्कीले बताए ।
मेलामा औद्योगिक तथा व्यावसायिक उत्पादन, कृषि उपज, प्रविधि र पर्यटनलगायतका क्षेत्रका सामग्री तथा सेवा प्रदर्शन गरिने उनले बताए । अटोमोबाइल, कृषि, पर्यटन र सूचना प्रविधिसम्बन्धी स्टल मेलाका मुख्य आकर्षणका रुपमा रहने संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी बताए ।
संघका महासचिव राजकुमार पाण्डेका अनुसार मेलामा ८० फिट अग्लो वाटर फल, चर्खे पिङ, ‘जिरो ग्राभिटी पिङ’ मेलाका विशेष आकर्षण हुनेछन् ।
मेलामा रामायण–शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यान लगायतका गतिविधि र तिलोत्तमा नगरपालिका भित्रका पर्यटकीय गन्तव्य पहिचान झल्किने पर्यटन ग्यालरी राखिने पाण्डेले बताए ।
मेलामा उद्यमशीलता, श्रम तथा वातावरणीय सचेतनासँग जोड्ने कार्यक्रमसमेत तय गरिएको आयोजकले बताएका छन् । मेलामा युवा र विद्यार्थीलाई उद्यमी बन्न प्रेरित गर्ने कार्यक्रमका साथै हरेक दिन सफल उद्यमीका अनुभव र प्रेरणादायी मन्तव्य प्रस्तुत गरिने उद्योग उपाध्यक्ष सूर्य न्यौपानेले बताए ।
‘मेलामा श्रम डेस्क स्थापना गर्नुका साथै श्रम अडिट समेत गर्ने कार्यक्रम राखिएको छ,यसले उद्योगी, व्यवसायी र श्रमिकबीचको सम्बन्ध तथा श्रमसम्बन्धी विषयमा जानकारी र सहजीकरण गर्ने छ’– संघका निवर्तमान अध्यक्ष गुणनिधि भण्डारीले भने ।
प्रतिक्रिया 4