+
+
Shares

कमल थापा : पार्टी फोरे, राप्रपामै फर्केपछि गर्दैछन् मोर्चाबन्दी

राप्रपा नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनसँग दूरी बढाउँदै लगेका छन् । पार्टीमा आफ्नो शक्ति क्षीण हुँदै गएपछि उनी पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपसभापति विक्रम पाण्डेलाई साथमा लिएर नयाँ गुट बनाउन सक्रिय भएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ मंसिर २ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा नेता कमल थापाले महाधिवेशनअघि पार्टी सुदृढीकरणका नाममा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डेसहित देश दौडाहा थालेका छन्।
  • थापा समूहका जिल्ला भ्रमणपछि अध्यक्ष पदको उम्मेदवारीबारे निर्णय गर्ने तयारी छ, भने संस्थापन पक्षले मधेशमा संवाद र भेला सुरु गरेको छ।
  • थापा र राजेन्द्र लिङ्देनबीच ९ पुसमा एकता भए पनि केन्द्रीय समितिमा १३३ सदस्य थप्ने माग पूरा नभएकाले राप्रपाभित्र विवाद चुलिएको छ।

२ मंसिर, काठमाडौं । मंसिर २०७८ को महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि राप्रपा नेता कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई शुभकामना दिँदै निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाए ।

गणतन्त्रको उभार आएको बेला राजतन्त्रको वकालत गर्दै हिँडेको व्यक्तिलाई पराजित गरी राजनीतिक रूपमै समाप्त पार्न लागेको आरोप थापाले त्यतिबेला लगाएका थिए ।

पराजयलाई अस्वाभाविक रूपमा लिएका राप्रपा पूर्वअध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । मैले राहत र उन्मुक्ति पाएको छु ।’

राहत र उन्मुक्ति प्राप्त गरेको बताएका थापा दलविहीन भएर बस्न भने सकेनन् । १ फागुन २०७८ मा थापाको नेतृत्वमा राप्रपा नेपाल पुनर्गठन गरियो । त्यसअघि २०६३ सालमा स्थापना भएको राप्रपा नेपाल २०७३ सालमा राप्रपासँग एकीकरण भएको थियो ।

राप्रपा नेपाल नै ब्युँताएर राजनीतिमा सक्रिय हुन खोजेका थापाको पार्टीले गति लिन भने सकेन । गत पुसमा उनी पुनः मूलधारमा फर्किए । लिङ्देन र थापाबीच ९ पुसमा औपचारिक रूपमा एकताको सम्झौतापत्रमा हस्ताक्षर भयो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार तत्कालीन समयमा विनासर्त एकता गर्न थापा तयार भएका थिए । उनले अनलाइनखबरसँग भने, ‘उहाँले खाली कागजमा हस्ताक्षर गर्न तयार छु भनेपछि हामीले राप्रपा नेपालसँग एकता गरेका हौं ।’

राप्रपामा आफ्नो शक्ति क्षीण हुँदै गएपछि नेता थापा यतिबेला पार्टीभित्र छुट्टै गुट बनाउन सक्रिय छन् । पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपसभापति विक्रम पाण्डेलाई साथमा लिएर अध्यक्ष लिङ्देनको आलोचनामा थापा केन्द्रित छन् ।

महाधिवेशन नजिकिएसँगै पार्टी सुदृढीकरणको नाममा उनी पूर्व-पश्चिम दौडाहा गर्ने अभियानमा छन् । झापा, मोरङ, सुनसरी, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, बारा लगायतका जिल्लामा कार्यकर्ता भेटेका उनी सहितका नेताले बुधबारबाट दोस्रो चरणको कार्यक्रम राखेका छन् ।

मकवानपुरबाट मंसिर २ (आज) बाट सुरु भएको जिल्ला भ्रमण चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ बाँके, बर्दिया, कञ्चनपुर, कैलाली र सुर्खेत पुगेर सकिने छ । कोशी र मधेशका जिल्लामा गरिएको कार्यक्रमबारे अध्यक्ष लिङ्देनलाई जानकारी नगराएका तीन नेताले बुधबारबाट सुरु भएको संगठन सुदृढीकरण कार्यक्रमबारे भने केन्द्रलाई जानकारी गराएका थिए ।

पार्टी संस्थापनविरुद्ध हुने गरी शीर्ष तीन नेताको अगुवाइमा देश दौडाहा सुरु भएपछि राप्रपाभित्रको विवाद चुलिएको छ । पार्टीभित्र देखापरेका कमीकमजोरी, अन्योल, अनिश्चितता, विकृति र विसंगतिहरूलाई अन्त्य गर्न कार्यकर्तामाझ पुगेको थापाको जिकिर छ ।

कोशी र मधेशका जिल्लाबाट फर्केपछि भिडियोमार्फत थापाले भनेका छन्, ‘कार्यकर्ताहरूबीच हुने छलफलले पार्टीलाई कमजोर बनाउँदैन । त्यसले पार्टीलाई अझ सशक्त ढंगबाट अघि बढाउन योगदान पुर्‍याउँछ ।’

केन्द्रीय नेतृत्वको असहयोग र निषेधको नीतिको बाबजुद पार्टीका कार्यकर्तासँग भेटघाट गरिएको उनले बताए । थापाले अभियान केन्द्रीय नेतृत्वको विरुद्ध नभएको जिकिर गरे पनि कार्यकर्तामाझ उनीहरूले अध्यक्ष लिङ्देनविरुद्ध हुने गरी अभिव्यक्ति दिइरहेका छन् ।

संस्थापनविरुद्ध हुने गरी थापा, लोहनी र पाण्डे सार्वजनिक रूपमा उत्रिएपछि अध्यक्ष लिङ्देन पक्षले पनि भेला र संवाद सुरु गरेको छ । प्रमुख सचेतक खुश्बु ओलीको नेतृत्वमा १ मंसिरबाट मधेशमा संवाद र भेला सुरु गरिएको हो ।

विनासर्त एकता गर्न तयार भएका थापाले केन्द्रीय समितिमा १३३ जना राप्रपा नेपाल पक्षबाट हुनुपर्ने माग अघि सारेपछि समस्या सुरु भएको संस्थापन पक्षका नेताहरू बताउँछन् । केन्द्रीय सदस्य थप्ने एजेन्डामा समेत छलफलका लागि डाकिएको बैठक बहिष्कार गरेपछि विवाद थप बढ्न पुगेको संस्थापन पक्षका नेताहरू बताउँछन् ।

थापासहित पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र लोहनीले गत असारमा डाकिएको बैठक बहिष्कार गरेका थिए । आफूहरूको अनुपस्थिति पार्टीप्रतिको असन्तुष्टि नभई ‘सांकेतिक विरोध’ भएको उनीहरूले बताएका थिए । पूर्वअध्यक्षहरू पनि रहने गरी पार्टी अध्यक्षको संयोजकत्वमा ‘स्टेरिङ कमिटी’ बनाउने प्रस्ताव उनीहरूले गरेका थिए । उनीहरूको सुझावलाई अध्यक्ष लिङ्देनले कार्यान्वयन नगरेपछि पार्टीमा थप ध्रुवीकरण हुन पुग्यो ।

पार्टी केन्द्रले गरेको निर्णयविपरीत बागमतीमा मुख्यमन्त्री किरण थापा मगरको पक्षमा उभिएका प्रदेश सांसदलाई कारबाही गर्दा पूर्वअध्यक्ष थापा पार्टी निर्णयको विपक्षमा उभिए । राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाहीसहित सदस्यता खारेज गर्ने प्रदेश सदस्यबाट मुक्त गर्ने सिफारिस राप्रपाले गरेको थियो ।

उक्त निर्णयविरुद्ध उभिँदै पूर्वअध्यक्ष थापाले भनेका थिए, ‘विस्तृत रूपले छानबिन गरी विगतमा भएका त्रुटि र कमजोरीलाई समेत सच्याउँदै समिति बनाएर अध्ययन गरौं र त्यो समितिको प्रतिवेदनअनुसार जे जस्तो निर्णय गर्नुपर्छ गरौं भनेर हामीले आग्रह गर्‍यौं । तर पहिले नै तयारीका साथ केही साथीहरू आउनुभएको रहेछ । उहाँहरूले बागमती प्रदेश संसदीय दलको नेतालाई कारबाही गर्ने जबरजस्त निर्णय गर्नुभयो ।’

पार्टी निर्णय उल्लंघन गर्नेमाथि कारबाही गर्नुपर्छ भनी पार्टी बैठकमा विचार राख्ने थापाले आफ्नो पूर्वविचार परिवर्तन गरी कारबाहीको विपक्षमा उत्रिएको राप्रपाका शीर्ष तहका एक नेताले बताए । उनले भने, ‘प्रदेश सांसदलाई कारबाही गर्नुपर्छ भनेर अघिल्लो बैठकमा विचार राख्ने कमलजीले पछि फेरि कारबाही गर्न हुँदैन किन भन्नुभयो ?’

राजनीतिक चर्चा/परिचर्चामा रहिरहने थापाले राजनीतिक उतारचढाव भने भोगिरहे । २०५१ पछि सरकारहरू परिवर्तन भइरहँदा थापाले पटकपटक मन्त्री बन्ने अवसर पाए । ९ पटक मन्त्री भएका थापाको राजनीतिक अधोगति भने सूर्य चिह्नबाट चुनावी प्रतिस्पर्धा गरेसँगै भएको उनको राजनीतिक जीवनको विश्लेषण गर्नेहरू बताउँछन् ।

२०७९ सालको निर्वाचनमा एमालेको चुनाव चिह्न सूर्य लिएर थापाले मकवानपुर-१ बाट प्रतिस्पर्धा गरी पराजय भोगेका थिए । एमालेसँग चुनावी तालमेल गरेपछि तत्कालीन समयमा थापाले भनेका थिए, ‘कानुनी, राजनीतिक, व्यावहारिक रूपमा सम्भव हुन गयो भने हामी आगामी स्थानीय चुनावमा एमालेको चुनाव चिह्न लिएर उठ्न सक्ने सम्भावनासमेत रहेको जानकारी गराउन चाहन्छु ।’

राप्रपाका नेताको दाबीअनुसार एमाले बलियो शक्ति नै रहेको भए थापा राप्रपासँग एकता गर्न अग्रसर हुने थिएनन् । पार्टीको अस्तित्व संकट हुनुका साथै आफ्नो राजनीतिक धरातल कमजोर हुँदै गएपछि उनी राप्रपासँग एकता गर्न अघि बढेको ती नेता दाबी गर्छन् ।

एकतापछि केन्द्रीय समितिमा १३३ सदस्य थप्नुपर्ने थापाको माग अहिलेसम्म पूरा हुन सकेको छैन । केन्द्रीय तहमा एकताले पूर्णता नपाएको हुँदा तल्लो तहमा समायोजनले पनि गति लिन सकेको छैन ।

कार्यसम्पादन समितिमा थापा पक्षका सात नेता छन् । राजीव पराजुली, राजाराम बर्तौला, तेज कुरुङमाङ, भाष्कर भद्रा, जयकुमार खड्का र डा. विष्णु भण्डारी कार्यसम्पादन समितिमा थापा पक्षधर हुन् ।

महाधिवेशनअघि आफ्नो अवस्थाको मूल्यांकन गर्न थापा देश दौडाहामा निस्केको पार्टीभित्र बुझाइ छ । जिल्ला भ्रमण सकेर आएपछि अध्यक्षको उम्मेदवारी दिने/नदिने निर्णय लिने थापा निकट नेता राजाराम बर्तौलाले बताए ।

‘आजबाट पार्टी सुदृढीकरणको लागि जिल्ला यात्रा सुरु गरेका छौं । सुर्खेत पुगेर भ्रमण सकिन्छ,’ बर्तौलाले अनलाइनखबरसँग भने, ‘अध्यक्षमा को लड्ने भन्ने फर्केपछि निश्चित हुन्छ ।’

यो समूहबाट थापा वा पाण्डेमध्ये एक जना अध्यक्षको उम्मेदवार हुने जानकारी गराइएको छ । राप्रपामा फर्केर थापाले गुटगत राजनीतिलाई प्रश्रय दिएको संस्थापनको बुझाइबारे सोधिएको प्रश्नमा बर्तौलाले भने, ‘त्यसमा केही तुक छैन ।’

गत महाधिवेशन लगत्तै राजसंस्थाको मुद्दा बोक्नुबाट राहत पाएको बताएका थापा पूर्ववत बोलीबाट पछि फर्किएका छन् । पूर्वराजा पोखराबाट फर्कंदा स्वागत गर्न विमानस्थल पुगेका उनले राजसंस्था पुनर्बहालीका लागि भएको आन्दोलनलाई सक्रिय समर्थन जनाएका थिए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?