Comments Add Comment

मंसिरसम्म भरतपुरको पुँजीगत खर्च १५ प्रतिशत

१३ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १५ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ ।

महानगरपालिकाले पुँजीगततर्फ १ अर्ब ८० करोड ७ लाख ७९ हजार रुपैयाँ रकम विनियोजन गरेकोमा २६ करोड ८६ लाख ९० हजार रुपैयाँमात्र खर्च गरेको हो ।

चालु आर्थिक वर्ष २०७६/७७ मा खर्च भएको रकमको ठूलो हिस्सा गत आर्थिक वर्षको योजनाको भुक्तानी दिनमा खर्च भएको महानगरपालिकाले जनाएको छ ।

महानगरले चालुतर्फ भने २२ प्रतिशत खर्च गरेको छ । कुल बजेट ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँमध्ये चालुतर्फ १ अर्ब ५७ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको थियो । पहिलो चौमासिकमा ३३ करोड ३२ लाख २ हजार रुपैयाँ खर्च भएको छ ।

महानगरपालिकाले संघीय सरकारको राजस्व बाँडफाँट मंसिरसम्म ३ करोड २० लाख ९३ हजार रुपैयाँ पाएको छ भने सशर्त अनुदानको दोस्रो किस्तामा ६५ करोड १३ लाख २५ हजार रुपैयाँ पाएको छ ।

आन्तरिक आयतर्फ भने मंसिर मशान्तसम्म १९ करोड ८ लाख रुपैयाँ उठाएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक आय ८० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

गत आर्थिक वर्षको मंसिरसम्म महानगरपालिकाले १८ करोड ११ लाख रुपैयाँ संकलन गरेको थियो । यस आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा बढी संकलन गरेको महानगरपालिकाले जनाएको छ ।

तीब्र विकास भइरहेको छ : मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरभित्र ठूलो र दीर्घकालीन महत्वका आयोजना धमाधम अघि बढिरहेको बताएकी छन् ।

आइतबार पाँचौं नगरसभालाई संबोधन गर्दै उनले महानगरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, चक्रपथ, लिंकरोड, भरतपुर अस्पतालको कुरुवा घर, भरतपुर २२ को अम्ब्रेला पार्क, भरतपुर १९ को रानीपोखरी, भरतपुर ६ को लक्ष्मीनारायण मन्दिर र पार्क निर्माणको काम भइरहेको जानकारी दिइन् । त्यस्तै भरतपुर २७ को मुसहर बस्ती, भरतपुर विमानस्थल विस्तारलगायत एक दर्जन गौरवका आयोजना धमाधम निर्माण भइरहेको उनको भनाइ छ ।

महानगरका भित्री सडक कालोपत्रे गर्ने काम पनि तीब्र गतिमा भएको मेयर दाहालको दावी छ ।

महानगरका प्रमुख दाहालले झन्डै २०० किलोमिटर कालोपत्रे भएको बताइन् । उनी भन्छिन् ‘महानगरका कुनै वडामा कतैपनि कालोपत्रे देख्न सक्ने अवस्था थिएन, तर अहिले जुन गाउँमा गए पनि कालोपत्रे देख्न सकिन्छ ।’

भरतपुर महानगर पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको मेयर दाहालले बताइन् । नारायणगढको पुरानो तरकारी बजारमा १३ तले बहुउद्देश्यीय भवनको डीपीआर बनाइएको छ ।

जिल्ला समन्वय समितिको पछाडि बन्ने भनिएको सिटीहलको डीपीआर सकिएको छ । यसको पनि वातावरणीय प्रभाव मूल्यांकन सकिएको महानगरले जनाएको छ । फागुनभित्र टेन्डर निकालिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment