५ मंसिर, काठमाडौं । नेकपा एमालेले ’नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड सात वटा फौजदारी मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई सुम्पेको छ ।
आज शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको एक कार्यक्रममा भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी एमालेले सिन्धुली घर भएका ४३ वर्षीय श्रेष्ठलाई दिएको हो ।
श्रेष्ठ यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए । जेनजी आन्दोलनपछि एमालेले गठन गरेको भोलेन्टियर्स फोर्सको जिम्मेवारी उनै श्रेष्ठले पाए ।
संयोजकको यो जिम्मेवारी पाएका श्रेष्ठ भने आफैं विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । यसअघि पटक–पटक विभिन्न कसुरमा पक्राउ गर्दै आएका श्रेष्ठको विगत केलाउनले हो भने सात वटा बढी मुद्दा खेपेको देखिन्छ ।
प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ ।
उनीविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
पछिल्लो पटक श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २६ भदौ २०७५ मा पक्राउ गरेको थियो । त्यतिबेला अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी धिरज प्रताप सिंह थिए । पछि सिंह आईजीपी भएर अहिले अवकाश भइसकेका छन् ।
रातोपुलबाट पक्राउ परेका श्रेष्ठले त्यतिबेला ठेकदारलाई धम्क्याएको आरोप थियो । श्रेष्ठ त्यतिबेला भने माओवादीको योङ क्युनिष्ट लिग (वाईसीएल)को सिन्धुली जिल्ला अध्यक्ष थिए ।
त्यतिबेला श्रेष्ठले ओखलढुंगा घर भएका रामबहादुर कटुवाललाई ज्यान मार्ने धम्की दिएपछि प्रहरीले पक्राउ गरिएको प्रहरीले बताएको थियो ।

श्रेष्ठले घर निर्माणको लागि कटुवाललाई ठेक्का दिएका थिए । घर निर्माणपछि रकम माग्दा नदिएर उल्टै ज्यान मार्ने धम्की दिएको आरोप थियो । त्यतिबेला प्रहरीले उनीमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर)मा मुद्दा चलाएको थियो ।
त्यस्तै श्रेष्ठले ४ पुस २०७३ मा गणेशकुमार कुँवरलाई बोलाएर कुटपिट गरी रकम लुटेको आरोप थियो ।
उनले कुँवरलाई आफ्ना साथी शुक्रराज तामाङको डेरामा लगेर ५० हजार नगद रुपैयाँ, सुनको औंठी, मोबाइल र कुलबहादुर तामाङको नाममा ११ लाख रुपैयाँको चेक काट्न लगाएको अनुसन्धानबाट खुलेको थियो । त्यतिबेला श्रेष्ठसहित अन्य पाँच जना पनि पक्राउ परेका थिए ।
श्रेष्ठ अपराधको दुनियाँमा भने करिब २० वर्षअघिबाटै प्रवेश गरेको पाइएको छ । पहिलो पटक उनीविरुद्ध २०६३ सालमा मुद्दा चलेको थियो ।
सिन्धुलीको कमलामाई नगरपालिकाका श्रेष्ठले स्थानीय गगन सिंहलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेका थिए । पहिलो पटक सिन्धुलीमा ज्यान मार्ने उद्योगको कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो ।

यसअघि १९ चैत २०६४ मा उनीविरुद्ध अर्को मुद्दा चलेको सीआरएसमा देखिन्छ । त्यतिबेला कमलामाई नगरपालिकाकै विजय मुनाललाई हतियार प्रहार गरी घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा चलेको थियो ।
काठमाडौं महानगरपालिका–३२ का अविनाश रिजालमाथि गोली प्रहार भयो । गोली प्रहार गरी रिजालको हत्या प्रयास गरेको घटनामा जोडिएको भन्दै १७ असोज २०६५ मा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।
सिन्धुलीकै स्थानीय राजन घिसिङमाथि कुटपटि गरेको उजुरीको आधारमा श्रेष्ठमाथि अर्को मुद्दा चलेको देखिन्छ । २१ असोज २०६७ मा घिसिङमाथि कुटपिट गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको थियो ।
त्यस्तै १४ फागुन २०७० मा सिन्धुलीकै जीवन श्रेष्ठलाई अपहरण तथा कुटपिट गरेको आरोपमा उनीमाथि सिन्धुलीबाट मुद्दा चलेको भेटिन्छ ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि उनी वाईसीएलको केन्द्रीय सदस्य हुँदै सिन्धुलीको जिल्ला इन्चार्ज भए । माओवादी एमाले मिलेर २०७५ सालमा नेकपा बनेपछि उनी नेकपा निकट युवा संघको सिन्धुली सह–इन्चार्ज बनेका थिए ।
रामबहादुर थापा बादल गृह मन्त्री रहेका बेला उनी बादलसँग निकट भएर ठेक्कापट्टा र असुलीमा लागेको आरोप थियो ।
नेकपा विभाजन भएपछि उनी एमालेमा रहे । त्यसयता उनी एमालेमै छन् र अहिले भोलेन्टियर्स फोर्सको जिम्मेवारीसम्म पाए ।
प्रतिक्रिया 4