
१७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपाल भारतबीचको सीमा विवादले दुई देशबीचको अरु सम्बन्धमा असर पार्न नहुनेतर्फ सरकार सचेत हुनुपर्ने बताएका छन् ।
बिहीवार राष्ट्रियसभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै सांसद अधिकारीले भारतसँगको सम्बन्ध बहुआयामिक भएकाले सीमा विवादले अरु सम्बन्धमा असर पार्न नहुने बताएका हुन् ।
‘नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध छ, सीमा विवादबारे चर्चा गरिरहँदा नेपाल भारतबीचको अरुरु सम्बन्धमा खलल पार्नु हुन्न । यसलाई पुरै स्थानीयकरण गर्नुपर्छ । सीमा विवाद चर्काएर अरु क्षेत्रलाई प्रभावित पार्नु हुन्न, होसियारीपूर्वक काम गर्नुपर्छ’ उनले भने ।
सांसद अधिकारीले राज्यको उच्च्तम तहबाट राजनीतिक सहमति कायम गरी सीमा विवाद टुंग्याउनुपर्ने पनि बताए । उनले दार्चुलामा कम्तीमा ४/५ वटा सीमा सुरक्षा पोस्ट थप्नुपर्ने बताए ।
त्यस्तै दार्चुला जिल्लाको पश्चिम सीमामा नेपाली भूमिबाट आवतजावत गर्न निकै कठिन रहेकाले त्यहाँ नेपाली भूमिबाट १२ महिना नै आवतजावत गर्न सकिने सडक बनाउन पनि सांसद अधिकारीले सरकारलाई आग्रह गरे ।
सीमा क्षेत्रमा अत्यधिक चिसो भएकाले त्यहाँ १२ महिना नै बस्न मिल्ने पूर्वाधार तयार गर्न र सीमा क्षेत्रका वासिन्दालाई विशेष सहुलित दिने दीर्घकालीन नीति लिनुपर्ने उनको भनाइ छ ।
भारतले बंगलादेशसँगको लामो सीमा विवाद कुटनीतिक माध्यमबाट समाधान गरेको स्मरण गराउँदै सांसद अधिकारीले त्यही दृष्टान्तका आधारमा भारतसँग कुरा गर्न सकिने बताए ।
‘बंगलादेशसँग मिल्छ भने हामीसँग नमिल्ने के छ ? यी दृष्टान्त दिएर भारतसँग कुरा गरौं । दस्तावेजले देखाएका प्रमाण पुष्टि गरौं । सीमा क्षेत्रलाई संरक्षण गरौं,’ उनले भने ।
प्रतिक्रिया 4