Comments Add Comment

मंसिरमा ह्वात्तै बढ्यो आयात, तर व्यापार घाटा सुधारोन्मुख

१७ पुस, काठमाडौं । अघिल्लो ४ महिनामा नियन्त्रित देखिएको बस्तु आयात मंसिरमा भने आयात हृवात्तै बढेको छ । यससँगै चालु आर्थिक वर्षको पहिलो ५ महिनामा कूल ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको बस्तु आयात भएको छ ।

कात्तिकसम्म ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । तर, मंसिरमा मात्रै १ खर्ब ३० अर्ब बराबरको आयात भयो । अघिल्लो वर्षको ५ महिनामा कूल ६ खर्ब ६ अर्ब ९९ करोड रुपैयाँको बस्तु आयात भएको थियो ।

मंसिरका देखिएको वृद्धिका बाबजुद गत आबको तुलनामा बस्तु आयात ४.२४ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

निर्यातमा सुधार

चालु आबको पहिलो महिनाबाटै निर्यातमा सुधार देखिन थालेको थियो । यो क्रम मंसिरमा पनि जारी रहेको छ ।

तथ्यांकअनुसार ५ महिनामा ४७ अर्ब ६१ करोड ६८ रुपैयाँ निर्यात भयो । यो गत आवको ५ महिनाको तुलनामा २६.९७ ले बढी हो । बस्तु आयातको संकुचन र निर्यातको फैलावटले समग्र व्यापार घाटा सुधारको बाटोमा छ ।

तथ्यांक अनुसार पाँच महिनामा कूल ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा देशले व्यहोरेको छ । अघिल्लो आबको ५ महिनामा ५ खर्ब ६९ अर्ब ४९ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो । समग्रमा व्यापार घाटा ६.३० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

५ महिनाको अवधिमा कूल वैदेशिक व्यापार ६ खर्ब नाघिसकेको छ । विभागको तथ्यांकअनुसार यस अवधिमा कूल ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको आयात र निर्यात भएको हो । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.४ प्रतिशत रहँदा निर्यातको हिस्सा ७.६ प्रतिशत मात्र छ ।

५ महिनाको वैदेशिक व्यापार

आयात : ५ खर्ब ८१ अर्व २५ करोड (गत वर्ष सोहि अवधि ६०६ अर्ब ९९ करोड)

निर्यात : ४७ अर्ब ६१ करोड (गत वर्ष सोही अवधी ३७ अर्व ५० करोड)

आयात र निर्यात अनुपात : १२ः३

कूल वैदेशिक व्यापार : ६ खर्ब २८ अर्ब ८७ करोड (गत वर्ष सोही अवधिमा ६ खर्ब ४४ अर्ब ४९ करोड)

कूल वैदेशिक व्यापारमा आयातको हिस्सा : ९२.४ (गत आवको सोही अवधिमा ९४.२)

कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ७.६ (गत आवको सोही अवधि ५.८)

१३७ मुलुकसँग व्यापार

तथ्यांक अनुसार अहिले नेपालले १ सय ३७ मुलुकसँग वैदेशिक व्यापार गर्छ । त्यसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँगै रहेको छ ।

भारतबाट पाँच महिनामा ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँ बराबरको आयात भयो भने ३२ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतसँग ३ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांक छ ।

चीनबाट १ खर्ब २ अर्ब रुपैयाँको आयात हुँदा मात्र ८६ करोड ३२ लाख रुपैयाँ बराबरको मात्र बस्तु निर्यात भएको छ ।

त्यसबाहेक इन्डोनेसिया, यूएइ, अमेरिका, क्यानडा, स्वीट्रल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्डजस्ता मुलुकबाट बढी वैदेशिक व्यापार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment