Comments Add Comment

कश्मीर फर्किएलगत्तै गोलाबारीमा परे अर्जुन

शोकमा डुब्यो रिप गाऊँ

१७ पुस, गोरखा । घरका एक्ला छोरा थिए अर्जुन थापा मगर । भारतीय सेना बन्ने सानैदेखिको रहर । खेती किसानी गरेरै भए पनि परिवारले उनलाई त्यसमा साथ दियो र थापा भारतीय सेनामा भर्ती भए । परिवारमा खुसियाली छायो ।

तस त्यो खुशी धेरै समय टिक्न सकेन । जम्मू कश्मीरको लाइन अफ कन्ट्रोलमा गोली हानाहान हुँदा गोरखा नगरपालिका–५ रिपका तिनै अर्जुन थापा मगरको ज्यान गयो ।

उनको गत असारमा मात्रै विवाह भएको थियो । करिव ४५ दिनको छुट्टि मनाउन मंसिरमा नेपाल आएका थिए । छुट्टि सकिएर पुस पहिलो साता उनी कार्यथलो फर्किएका थिए । त्यसको केही दिनमा नै गोली हानाहानमा मारिएका छन् ।

परिवारका सदस्यका अनुसार घटनाको केहीबेर अघिसम्म उनी सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा कुरा गर्दै थिए । ‘गोली चले जस्तो छ, केहीबेरमा कुरा गर्छु’ भन्दै परिवारका सदस्यसँग छुट्टिएका थापा सदाका लागि विदा भए ।

घटनाबारे थाहा पाएपछि अर्जुनका बुवा, बुहारी र ज्वाईलाई लिएर काँकडभिट्टा पुगेका छन् । बिहीबार अर्जुनको घरमा पग्दा उनकी दिदी मात्र थिइन्, जो भाइ गुमाएको शोकका कारण कुराकानी गर्न समेत सक्ने अवस्थामा थिइनन् ।

अर्जुनका भाउजु गोमा थापा भन्छिन्, ‘साह्रै मिलनसार र सहयोगी हुनुहुन्थ्यो, एक्कासी यस्तो घटना भयो भन्ने खबर सुन्दा सपना जस्तै लाग्यो ।’

पहिले नेपाली सेनामा भर्ती भएका साइला देवर द्वन्द्वकालमा मारिएको सुनाउँदै उनले भने, ‘अहिले फेरि सेनामै भर्ती हुनुभएको अर्जुनबाबुको त्यस्तो घटना भयो ।’

अर्जुनकी आमाको पहिल्यै मृत्यु भएको थियो । घरमा बुवा, श्रीमती र दिदी थिइन् ।

अर्जुनको मृत्युको खबरले गोरखा नगरपालिका रिपगाउँ शोकमा डुबेको छ । छिमेकीलाई पनि त्यो घटना सुन्दा अपत्यारिलो लागिरहेको छ ।

‘अस्ति छुट्टिमा आएको रहेछ, पानी लिन जाँदा भेटेको थिएँ,’ छिमेकी मोहनबहादुर रानाले भने, ‘निकै मिलनसार र सहयोगी थियो, त्यस्तो खबर सुन्दा साह्रै नमज्जा लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment