जीवनमा धेरै मोडहरु आउँछन् । कुनै अपेक्षित हुन्छन्, कुनै आकस्मिक । एउटा सानो घटनाले तपाईंको जीवनमा ठूलो मोड ल्याइदिन सक्छ । तपाईंलाई भित्रैदेखि बदल्न सक्छ ।
हो, म पनि अहिले बदलिएको छ । भित्रैदेखि । पछिल्लो डेढ महिना रोएरै बिते । कसरी वर्णन गरुँ यी दिनहरुलाई ? खेलाडीको जीवनमा ‘निलम्वन’ ठूलो परिघटना नहोला । तर, मेरो भर्खरै हुर्किँदै गरेको करिअरमा यसले ठूलो धक्का दियो । भूकम्पको झट्काजस्तो । अहिले पनि मन शान्त भइसकेको छैन ।
माछालाई केहीबेर पानीबाट निकालिदियो भने कस्तो हुन्छ ? एउटा फुटबल खेलाडीले फुटबलबाट टाढा बस्नुपर्दा पनि त्यस्तै हुँदोरहेछ । कारवाहीमा परेपछि म राष्ट्रिय टिमसँग भुटान खेल्न जान पाइनँ । त्यसपछि लिग आउँदै थियो । हरेक दिन रोएर नै बित्थे ।
मलाई एउटा खेलाडीका रुपमा माया गर्ने, ममाथि आशा गरेकाहरुले के सोचे होलान् भन्ने चिन्ता थियो । म यस्तो होइन है भनेर देखाउने आतुरता पनि त्यत्तिकै थियो ।
यो खराब समयमा मलाई परिवारको ठूलो सपोर्ट पाएँ । सबैलाई थाहा थियो म कस्तो मान्छे हुँ भन्ने । सबैले ढाडस र हौसला दिनुभयो । अब जे हुनु भइसक्यो, यसलाई बिर्सनुपर्छ भन्नुभयो ।
मेरो दाइ (राजु तामाङ) पनि फुटबल खेलाडी । दाइले पनि धेरै सम्झाउनुभयो । अनि मेरी श्रीमतीले पनि उत्तिकै साथ दिइन् । अर्कातर्फ म विभागबाट खेल्ने खेलाडी । म त्यसरी हिँड्दिन नराम्रो गर्दिन भन्ने विभागलाई पनि थाहा छ । त्यसैले कठिन अवस्थामा मलाई विभागले पनि साथ दियो ।
एउटा अध्याय पटाक्षेप भइसकेको छ । म फेरि मैदानमा फर्किसकेको छु । थ्रीस्टारविरुद्धको ‘कम ब्याक’ गेममा गोल पनि गरेँ । यसले मेरो मनोबल उच्च भएको छ । यो गोल म मेरा फ्यान र परिवारलाई समर्पित गर्छु ।
०००
जारी शहीद स्मारक लिगमा पुनरागमन गर्दा निकै ठूलो अन्तरालपछि फुटबलमा फर्केको महसुस भयो । सो खेल हेर्न श्रीमती दुई वर्षको छोरालाई लिएर आएकी थिइन् । उनीहरुको उपस्थितिले मलाई थप उर्जा दियो ।
ट्रेनिङमा पनि मैले मिहिनेत गरेको थिएँ । जतिखेर मैदान छिर्छु टिमको लागि खेल्छु भन्ने मनमा थियो । बलियो अठोटका साथ मैदान छिरेको थिएँ । थ्रीस्टारसित आर्मीले राम्रो खेल्यो र २-० ले हरायो । दुईमध्ये एक गोल मेरो नाममा थियो । घरेलु प्रतियोगिता नै भए पनि यस खेलमा गरेको गोलले मेरो करिअरमा ठूलो महत्व राख्छ ।
लिगमा चार खेल भइसकेको छ । हामीले ३ खेल जित्यौं । तर हामीले लिगमा अझ राम्रो गर्दै जानुछ । बेस्ट भन्दा बेस्ट दिनुपर्छ । लिगको टाइटल भन्ने कुरा आफ्नो ठाउँमा छ । हामीले अंक नगुमाई खेल्ने हो भने त्यो पनि जित्न सक्छौं ।
मैले खेल्न नपाउँदा आर्मीको तीनवटा खेल बाहिर बसेर हेरें । टिमले बल होल्ड गर्न सकिरहेको थिएन । गोल हुन त मुख्य कुरा बल ‘सप्लाई’ गर्नुपर्छ । त्यही नै थिएन हाम्रो टिममा । अनि म आफू खेलमा फर्किएपछि त्यो कमजोरी पूरा गर्न सक्छु भन्ने सोच्थें ।
दोस्रो खेलमा हामी मनाङसंँग हार्यौँ । त्यतिबेला कति लिन सक्ने बलहरु पनि लिन सकिरहेका थिएनन् हाम्रो खेलाडीले । म भएको भए केही गर्थे भन्ने सोचाई आउँछ ।
नभन्दै मैले थ्रीस्टारविरुद्धको खेलमा आर्मीका स्ट्राइकरहरुलाई चलायमान बनाएँ । म हुँदा र न हुँदाको फरक त्यही हो । म प्लेमेकरको रुपमा खेल्छु ।
०००
अब एक दशक अगाडि फर्किन्छु, जतिबेला मैले फ्रेण्ड्स क्लबबाट व्यवसायिक फुटबल आरम्भ गरेँ । त्यतिबेला टिममा स्टार खेलाडीहरु थिए । म सानै थिएँ । त्यहाँ खेल्न पाउनु पनि ठूलै कुरा थियो मेरो लागि । भरत खवास, सागर थापाजस्ता नाम चलेका खेलाडीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठानेँ ।
२०६६/६७ सालको लिगबाट मैले फ्रेण्ड्समा खेल्न थालेको हो । मेरो दाई राजु तामाङ पहिलेदेखि नै आर्मीमा खेल्नुहुन्थ्यो । मलाई पनि आर्मीमा खेल्नुपर्छ भन्नुहुन्थ्यो । आर्मीको क्लबबाट पनि ममाथि इन्ट्रेस्ट देखाइयो ।
दाइले भनेर नै म आर्मीबाट खेल्न गएँ । पहिले म दाईको नामबाट चिनिन्थेँ । राजुको भाइ भन्थे सबैले । दाईको नामबाट चिनिँदा खुशी लाग्थ्यो तर म पनि आफ्नै नाम बनाउँछु भन्ने थियो । अनि, आर्मीमा शुरु भयो फुटबल यात्रा ।
दाजुभाइले एउटै टिमबाट खेल्ने अवसर कमैले पाउँछन् । हामीले त्यो मौका पायौं । हामी दाजु–भाइले आर्मीबाट सँगै खेल्यौं । राष्ट्रिय लिग हुँदा मैले दाइसंगै खेलेको थिएँ । दाइ जस्तै बन्न त सक्दिन होला, तर आफ्नै दाइसंग एउटै टिममा सँगै खेल्न पाउनुलाई आफ्नो सौभाग्य नै ठानेको छु ।
खासमा म फुटबलमा लागेको पनि दाइकै कारणले हो । सबैले दाइलाई मान्थे । मलाई पनि रहर थियो उहाँजस्तै चर्चित बन्ने । दाइको कारणले मलाई सजिलो पनि भयो ।
हाम्रो पुरानो घर ललितपुर चापागाउँमा थियो । त्यहाँबाट बाबाहरु काठमाडौं सर्नुभएको हो । घर नजिकै दाइहरुले बल खेल्नुहुनुथ्यो । म पनि दाइको पछि लागेर जान्थेँ ।
कहिलेकाँही फुटबल भएन भने मोजाको बल बनाएर पनि खेलिन्थ्यो । खेल्दाखेल्दै म जावलाखेलमा ट्रेनिङ गर्न जान्थे, हिँड्दै घरबाट । अनी नक्सालमा पनि जान्थेँ । फुटबलप्रति मेरो लगाव बढिसकेको थियो ।
ट्रेनिङ गर्दागर्दै यू–१४ लेभलको स्कुल गेमहरु भयो । मैले स्कुलबाट पनि खेलेँ । क्लब लेभलमा मैले यू–१४ मा खेलेँ । च्यासल क्लबबाट सी डिभिजन लिग पनि खेलेको थिएँ एकपटक । तर त्यतिखेर म सानै थिएँ । सी खेलेपछि म पछि एकै पटक फ्रेण्ड्स क्लबमा खेल्न गएँ ।
फ्रेण्ड्स क्लबले मेरो खेल हेरेको रहेछ । त्यसैले सानै भए पनि अवसर दियो । मैले फ्रेण्ड्सबाट ए डिभिजनमा डेब्यु गर्न पाएँ । मैले कक्षा ८ को जिल्ला स्तरीय परीक्षा दिँदा ए डिभिजन लिग खेलेको हो । त्यतिबेला फ्रेन्ड्समा भरत खवाससंगै नुरराज काफ्ले, पुकार गहतराज, बुद्ध चेम्जोङ, रुपक श्रेष्ठ जस्ता नाम चलेका खेलाडीहरु थिए ।
०००
अब कुरा राष्ट्रिय टिमको । राष्ट्रिय टिमबाट खेल्ने सपना सबै खेलाडीको हुन्छ । मेरो पनि थियो । दाइले खेल्नुभाको भएर मलाई पनि त्यस्तै नेपालको राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने रहर थियो । त्यसका लागि मैले मिहिनेत पनि गर्दै गएँ ।
विदेशी कोच योहान कलिन आएपछि मेरो पनि राष्ट्रिय टिमको यात्रा शुरु भयो झण्डै एक वर्षअघि । गत मार्चमा कुवेतसँग मैत्रिपूर्ण खेल खेल्दै मेरो राष्ट्रिय टिममा डेब्यु भयो । राष्ट्रिय टिमको जर्सी अनि फ्ल्याग लगाएर खेल्न पाउँदा एकदमै गर्व लगेको थियो । त्यो मेरो जीवनमै उत्कृष्ट क्षण हो ।
त्यसपछि मैले मैत्रीपूर्णहरु खेलहरु खेलेँ । विश्वकप र एसियन कपको छनोट अन्तर्गत मैले ३ खेल खेलेँ । समूहको पहिलो खेल कुवेतसँग नै थियो । त्यो खेलमा मैले खेल्न पाइन । तर त्यसपछि चाइनिज ताइपेइसँग भएको खेल मैले खेल्न पाएँ । अनि अष्ट्रेलिया र जोर्डनमा पनि खेले । विश्वकप छनोटमा पाँचमध्ये ३ खेल खेलेँ । तर कुवेतविरुद्धको दुवै खेल खेल्न पाइनँ । भुटानमा भएको पछिल्लो खेल आफ्नै गल्तीले गुमाएँ ।
राष्ट्रिय टिमबाट खेल्दा हेर्ने नजर नै फरक हुने रहेछ । राष्ट्रिय टिमबाट खेल्नु र क्लबबाट खेल्नुमा धेरै फरक हुने रहेछ । राष्ट्रिय टिमबाट खेल्दा सबैले ध्यान दिने । बाहिर हिँड्दा पनि ‘अहो नेशनल प्लेअर’ भन्ने । त्यसले पनि छुट्दै खुशी र आनन्द मिल्छ । जिम्मेवारीवोध पनि हुन्छ ।
०००
अस्तिको घटनाबारे तपाईंलाई धेरै जिज्ञासा होलान् । भन्ने नै छु । लुकाउनुपर्ने केही छैन । गल्ती भएको हो ।
कति गल्ती जानेरै हुन्छन्, कति अञ्जानमा । मेरो हकमा चाहिँ अञ्जानमा नै भएको थियो । तर, गल्ती गल्ती नै हो । त्यसको सजाय भोग्नैपर्छ । त्यसैले गुनासो छैन । यसलाई मैले आफूलाई सच्याउने अवसरका रुपमा लिएको छु ।
कात्तिक २९ गते । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध खेल्न भुटान जाने अघिल्लो दिन थियो त्यो । त्यस दिन मेरो साथीको छोराको पास्नी थियो ।
म साथीको छोराको पास्नीमा गएको थिएँ । सोह्रखुट्टेमा सासा ब्यांक्वेटमा पार्टी थियो । पछि दिनेश (राजवंशी) भाइले फोन गरे । अनि म ठमेल गएको हो ।
पास्नीमा गएर घर फर्कन्छु भन्ने थियो । तर दिनेशले फोन गरेपछि बहकिएर ठमेल गएँ । त्यो रात साथीभाइसंग छुटेपछि म राति साढे दुई बजेतिर घर फर्केको थिएँ । मैले बाहिर केही पनि खाएको थिइनँ ।
त्यसको भोलिपल्ट भुटान जान एन्फामा बिदाइ थियो । म साढे ९ बजेतिर नै पुगिसकेको थिएँ । तर भुटान जानुपर्ने मेरो बाटो अन्तै मोडियो ।
एन्फामा जाँदा कोचहरु सबैले रातीको घटना बारे थाहा पाइसक्नुभएको रहेछ । त्यसपछि हामीलाई बोलाएर हिजो कता गएको थियौ भनेर सोध्नुभयो । अनि कोचलगायत सबैसंग कुरा भएपछि हेड कोचले नै हामीलाई नलैजाने भन्नुभयो । हामी जान नपाउने भयौँ । अनि घर फर्कियौँ ।
त्यो सपना जस्तो भयो । नसोचेको कुरा भइदिएपछि न रुन सक्छु न कसैलाई बह पोख्न सक्छु । चुप लागेर बस्नुको विकल्प थिएन ।
घर फर्किएर एकदमै रोएँ । श्रीमतीले सम्झाइन् । गल्ती भइहाल्यो अब यसलाई सम्झेर काम छैन भनिन् । घरमा सबैले हौसला दिए । तर पनि मलाई एकदमै दुख लागिरह्यो ।
अहिले सम्झिँदा पनि रुन मन लाग्छ । अब यो कुराहरु सम्झेर पनि काम छैन । मलाई भन्न पनि मन लाग्दैन । म अब सबै कुरा बिर्सेर अगाडि बढ्दैछु । अहिले नयाँ जीवन नै शुरु भएजस्तो लाग्छ ।
मैले अझै अगाडि बढ्नुछ । देशको लागि खेल्नुछ । नकारात्मक, खराब कुराहरुलाई अब ‘इग्नोर’ गर्छु । अब कसरी राम्रो गर्न सकिन्छ भन्नेमा नै केन्द्रित हुनेछु । अझै राम्रो गर्नलाई सोच्छु । अब सन्तोष तामाङको नयाँ रुप अब तपाईंले देख्नुहुनेछ ।
मेरो जस्तो गल्ती अरु युवा खेलाडीहरुले नगरुन् । यही भन्न चाहन्छु ।
(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ६८ औं अंकमा यो हप्ता फुटबल खेलाडी सन्तोष तामाङको कथा ।)
प्रतिक्रिया 4