Comments Add Comment

चक्रपथको बस र्‍यापिड ट्रान्जिटमा गतिलो प्रस्ताव आएन

१९ पुस, काठमाडौं । चक्रपथको २७ दशमलब ३ किलोमिटरमा निर्माण गर्ने भनिएको बस र्‍यापिड ट्रान्जिट (बीआरटी)मा चित्तबुझ्दो आवेदन नआएको लगानी बोर्डले जनाएको छ ।

काठमाडौं उपत्यकाको भद्रगोल सार्वजनिक यातायातलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको उक्त परियोजना वैदेशिक लगानी भित्र्याएर अघि बढाउन सरकारले गत चैतमा सम्पन्न लगानी सम्मेलनमा प्रस्ताव आह्वान गरेको थियो । तर परियोजनाका लागि हालसम्म कुनै पनि प्रस्ताव नआएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारले बताए ।

‘यो आयोजना हामीले सोकेस गरेका थियौँ तर सोचेजस्तो प्रस्ताव परेन,’ प्रमुख कायाकारी अधिकारीले भने । आयोजनाका लागि परेका केही प्रस्तावमा बोर्ड विश्वस्त हुन नसकेको हुनाले थप आह्वानका लागि प्रक्रिया थालिने उनले बताए ।

आर्थिक वर्ष ०७१/७२ कै बजेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रु क्षमताको बस र्‍यापिड ट्रान्जिट (बीआरटी) को योजना समावेश गरिएको थियो । १४९.५० मिलियन अमेरिकी डलर अर्थात (१६ अर्ब ५४ करोड) को लागतमा निर्माण गर्ने गरी सम्मेलमा परियोजना ‘सो केस’ गरिएको थियो ।

यस्तो छ परिकल्पना

चक्रपथमा दुईवटा ‘डेडिकेटेड लेन’ बीआरटीको हुनेछ । साढे ७ देखि ८ मिटरको लेन यसका लागि छुट्याउने योजना छ । १६० यात्रु क्षमताका ७० देखि ७५ वटा लामो आकारको विद्युतीय बस यो लेनमा गुड्नेछन् ।

बीआरटी परियोजनाअन्तर्गत २६ देखि ३० वटा चढ्ने–ओर्लने स्टेसन हुनेछन् । यात्रुहरुको सहजताका लागि स्टेशनमा बस आउने–जाने समयतालिकासहित आवश्यक सूचना प्रवाहित हुनेगरी डिजिटल डिस्प्ले राखिनेछ ।

एउटा स्टेशन पाँच मिटर चौडाइको हुनेछ र ६९३ आना क्षेत्रफलमा बीआरटी टर्मिनल बन्नेछ । विद्युतीय बस चार्ज गर्न ३० वटा आधुनिक चार्जिङ स्टेशन बनाउने योजना छ ।
दैनिक २० घण्टा सञ्चालन गर्ने लक्ष्य राखिएको बीआरटी परियोजना सार्वजनिक नीजि साझेदारी (बूट) मोडेलमा निर्माण गरिने लक्ष्य थियो । कुनै लगानीकर्ताले इच्छा देखाएमा ४ महिनाभित्र सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) सकेर ६ देखि ८ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र वित्तीय व्यवस्थापन गरिसक्नु पर्ने थियो । दुई वर्षमा २ वर्ष निर्माण सकेर निर्माण कम्पनीले ३० वर्ष सञ्चालन पछि आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो ।

के हो बीआरटी ?

विकसित देशमा सहरी यातायात व्यवस्थित गर्न धेरै यात्रु बोक्ने ठूला र लामा बस सञ्चालन गर्नेगरी ल्याइएको अवधारण हो–बस र्‍यापिड ट्रान्जिट (बीआरटी) ।

यसका लागि छुट्दै बस–वे अथवा ट्रान्जिट–वे को व्यवस्था गरिन्छ र त्यो लेनमा धेरै यात्रु क्षमताका ठूला बस गुडाइन्छ । क्षमता बढाएर सार्वजनिक यातायातलाई व्यवस्थित र दिर्घकालीन बनाउन यसको अवधारणा ल्याइएको पाइन्छ ।

छुट्टै डेडिकेटेड लेनमा सञ्चालन हुने भएकाले यसमा यात्रा गर्दा ट्राफिक जामको समस्या भोग्नु पर्दैन । सन् १९७४ मा पहिलो पटक ब्राजिलको क्युरिटीबामा बीआरटी सञ्चालनमा आएको थियो ।

सहरी यातायात व्यवस्थित गर्न यो अवधारणालाई धेरै देशले रुचाएका छन् । ल्याटिन अमेरिकी देश, युरोप, कोलम्बिया, मेक्सिको, चीन, इरान लगायतका देशले पनि अपनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment