+

‘पुलिसलाई विपक्षीले दुःख दिन थालेको छ’

२०७६ पुष  २० गते १९:२४ २०७६ पुष २० गते १९:२४
‘पुलिसलाई विपक्षीले दुःख दिन थालेको छ’

२० पुस, काठमाडौं । नेपालको पहिलो श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिगमा तीन क्लबले मात्र लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गरेको छ । त्यो उपलब्धी हासिल गर्ने पछिल्लो क्लब हो, नेपाल पुलिस क्लब ।

त्यसअघि रानीपोखरा कर्नर टिम (आरसीटी) र मनाङ मर्स्याङ्दीले लगातार तीन पटक उपाधि जितेको थियो । २०६० मा लिगमा प्रवेश पाएको पुलिसले ६० को मध्य दशक लिगमा एकछत्र राज नै गर्‍यो । ०६० र ०६१ सालमा दोस्रो भएको पुलिस २०६१ मा चौथो भयो । तर २०६३ मा पहिलो पटक उपाधि जित्यो ।

एन्फा र क्लबबीचको द्वन्द्वका कारण बीचमा तीन वर्ष लिग भएन । २०६६ सालमा पुनः शुरु भएको लिगमा पुलिसले लगातार दुई वर्ष उपाधि जित्दै ह्याट्रिक गर्‍यो ।

पुलिसले पहिलो पटक लिग जित्दा खेलेका केही खेलाडीहरु अहिले पनि लिगमा देखिन्छन् । पुलिसबाट लगातार तीन पटक लिग जितेका अनन्त थापा अहिले पुलिसको प्रशिक्षक छन् भने जुमानु राई, भोलानाथ सिलवाल, सुमन सुवेदी जस्ता खेलाडी अहिले पनि पुलिसबाटै ए डिभिजन लिग खेलिरहेका छन् ।

दुई पटक ए डिभिजन लिग जित्दा टिममा रहेको रविन श्रेष्ठ पनि लिग खेलिरहेका छन् । त्यसबेला हरि खड्का, रमेश बुढाथोकी, पर्वत पाण्डेजस्ता खेलाडीहरु पनि पुलिसको टिममा थिए । तर पुलिसको लय भने ६० को दशकको जस्तो छैन ।

धेरै परिवर्तन आइसकेको छ । पुलिसले घरेलु फुटबलमा राज गर्दा खेलाडी रहेको अनन्त थापा पनि यो स्वीकार गर्छन् । गत वर्ष लिगमा प्रशिक्षकको रुपमा डेब्यु गरेका अनन्त भन्छन्, हामीले लिग जित्दा र अहिलको फुटबलमा धेरै परिवर्तन भइसकेको छ । टेक्नोलोजीमा पनि धेरै परिवर्तन भइसकेको छ ।’

हुन पनि त्यतिबेला पुलिस क्लबको घरेलु फुटबलमा छुट्टै शान थियो । हार्न लागेको खेल पनि जित्ने क्लबको छवि बनाएको उसले नकआउट टर्नामेन्टमा पनि राज गर्‍यो । नेपालको दुई चर्चित क्लब मनाङ मर्स्याङ्दी र थ्री स्टारलाई पनि पछाडि पारेका कारण खेलाडीहरुको रोजाइ पनि पुलिस क्लब नै बन्यो ।

‘राष्ट्रिय टिमका अधिकांश खेलाडी पुलिसकै हुन्थे । त्यतिखेर ८-९ पुलिसका खेलाडी राष्ट्रिय टिममा हुन्थे । त्यसो भएपछि अरु टिम त्यसै कमजोर हुन्थ्यो’ प्रशिक्षक अनन्तले भने,‘अन्य टिमले खासै राम्रोसँग तयारी नै गर्न पाएको हुदैनथ्यो । ’

यसरी जित्यो पुलिसले लगातार ३ पटक लिग

अहिले तीन विभागीय क्लबले लिग खेलिरहेका छन् । पुलिसलाई पछ्याउँदै त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब लिगमा आयो । तर दुबैले लिग जित्न सकेको छैन । आर्मी एकपटक उपाधि नजिक पुगे पनि च्याम्पियन बन्न सकेन ।

पुलिसले लगातार तीन पटक लिग जितेर इतिहास रच्यो कसरी सम्भव भयो त ? अनन्त थापाको भनाइ मान्ने हो भने राष्ट्रिय टिमका खेलाडी हुनुका साथै खेलाडीहरु व्यक्तिगत रुपमा पनि उत्कृष्ट थिए । ‘त्यतिखेर इन्डिभिजुएल्ली ब्रिलियन्ट खेलाडीमा थिए । अहिले मेसी र रोनाल्डो भने जस्तै’ पुराना दिन सम्झिँदै अनन्त भन्छन्, ‘जसरी पनि जित्नुपर्छ भन्ने हुनुथ्यो ।’

अनन्तसँगै पर्वत पाण्डे, भोला सिलवाल जुमानु राईजस्ता खेलाडीले पुलिसको मिडफिल्ड सम्हाल्थे । हरि खड्का र रमेश बुढाथोकी फरवार्डमा खेल्थे । डिफेन्समा राकेश श्रेष्ठ, सुमन सुवेदी, दीपक पौडेल र नरोत्तम गौतम थिए ।

यही टिमले ०६३ सालमा पुलिसलाई लिग जिताएको थियो । त्यसबेला पुलिस टिमलाई पराजित गर्नु अन्य क्लबका लागि फलामको चिउरा सहज हुन्थ्यो । त्यसैले त लगातार तीन पटक लिग जित्ने क्रममा पुलिसले जम्मा दुई खेल मात्र हार्‍‍यो । र, लिगमा ४९ खेलसम्म अपराजित रहने कीर्तिमान पनि लेखायो ।

२०६३ सालमा पहिलो पटक लिग जित्दा पुलिस १५ औं चरणमा ब्वाइज युनियनसँग ३–० ले पराजित भएको थियो । त्यसपछि बाँकी ११ खेलमा पुलिस अपराजित रह्यो । दोस्रो पटक लिग जित्दा पुलिस २२ खेलमा अपराजित रह्यो । तेस्रो पटक लिग जित्दा भने अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भयो र ५० खेलसम्म अपराजित रहने लक्ष्य पूरा भएन ।

त्यसबेला पुलिस, मनाङसँग १–० ले हारेको थियो । मनाङका लागि अनिल गुरुङले गोल गरेका थिए । त्यो क्षण सम्झँदा सुमन सुवेदी अहिले पनि नरमाइलो मान्छन् ।

विपक्षीले दुःख दिन थालेको छ

पहिला पुलिस टिमदेखि अरु क्लब डराउँथे । अहिले पुलिस अरु क्लब देखेर सजग हुन थालेको छ । किनकी अन्य क्लबले दुःख दिन थालेको प्रशिक्षक अनन्तको बुझाइ छ । यो सबै फुटबलमा आएको परिवर्तनको कारण मान्छन् उनी ।

हुन पनि दशकअघि लिगमा एकथरि बलिया क्लब उपाधि होडमा हुन्थे भने अर्काथरी कमजोर क्लब हुन्थे, जो रेलसगेसनबाट जोगिन संघर्ष गर्थे । तर अहिले समय फेरिएको छ । को बलियो को कमजोर भन्ने नै छैन, सबै उस्तै देखिएका छन् ।

पुलिस क्लबका प्रशिक्षक अनन्त भन्छन्, ‘आफूले राम्रो खेल्दा पनि विपक्षीले दुःख दिन थालेको छ ।’

प्रशिक्षक अनन्तले पुलिसलाई पुरानै लयमा फर्काउन समय लाग्नेसमेत सुनाए । यसको एउटा कारण, पहिला खेलाडीहरुको पहिलो रोजाइमा पुलिस क्लब पथ्र्यो । अहिले अरु क्लबले पनि विभागीय टिमले जस्तै सुविधा दिन थालेको छ । ‘२०६३ मा मा लिग खेल्दा पुलिस र थ्रीस्टारका खेलाडीहरुको उस्तै पारिश्रमिक थियो । तर अहिले समय फेरिएको छ’ प्रशिक्षक अनन्तले भन्छन् ।

लिगमा राम्रो स्थान ल्याउने लक्ष्य

पहिला पुलिस च्याम्पियन बन्नका लागि खेल्थ्यो । तर अहिले पुलिस राम्रो स्थानका लागि खेलिरहेको छ । यसलाई प्रशिक्षक अनन्तले पनि राम्ररी बुझेका छन् । उनी भन्छन्, ‘हामीले लिग अघि पनि भनेका थियौँ । टार्गेट सुपर सिक्स भनेर ।’

तर लिगमा पछिल्ल्ला दुई खेल जितेपछि खेलाडीमा हौसला बढेको र अझै राम्रो गर्न प्रेरित भएको उनले सुनाए । ‘हामी अहिले पाँचौं स्थानमा छौं । अझ राम्रो गर्नुपर्छ, राम्रो रिजल्ट ल्यायौं भने अझमाथि पुग्न सक्छौं’ अनन्तले भने ।

खेलाडी भोला सिलवालले पनि खेलाडीहरुमा लिग जितौं भन्ने चाहना कायम रहेको सुनाए । ‘चाहना त लिग जित्नै नै हुन्छ’ उनले भने, ‘धेरै भयो हामीले नजितेको पनि । हामी पनि जितौं भन्ने मानसिकता त भइहाल्छ नि ।’

तर पुलिसले शुरुवाती खेलमा त्यसअनुसार प्रदर्शन गरेन । सिनियर र जुनियरको मिक्स टिम बनाएको पुलिसले हिमालयन शेर्पासँग गोलसहित बराबरी खेल्दा थ्रीस्टारसँग १–० को हार व्यहोर्‍यो । रविन श्रेष्ठ र सुमन सुवेदी थपिएपछि भने सुधार आएको छ र सरस्वती र शंकटा क्लबलाई हराएको छ ।

सुखद बिदाइको आशा

भोला, सुमन र रविन तीनै खेलाडी चोटलाई जित्दै फुटबलमा पुनरागमन गरेका हुन् । तीन खेलाडीले धेरै संघर्ष समेत गरे । कुनै बेला तीन जना नै राष्ट्रिय टिममा थिए । त्यसमा जुमानु राई पनि थिए । रविन र सुमन डिफेन्समा भोला मिडफिल्डमा अनी जुमानु फरवार्डमा । तर विस्तारै टिमबाट बाहिरिए ।


चारै जनाले राष्ट्रिय टिमबाट सन्यास भने लिएका छैनन् । अब उनीहरु सुखद बिदाइमा अपेक्षामा छन् ।

सुमन र भोलाले अब राष्ट्रिय टिममा पर्ने सम्भावना देखेका छैनन्, चाहना पनि छैन भन्दा हुन्छ ।

तर सुदख बिदाइको अपेक्षा भने छ । हुन त यो सिजन ए डिभिजन लिग शुरु हुनुअघि भोलाले नेपाल निलोको कप्तानी गर्दै जापानी टोलीविरुद्ध खेलेका थिए ।

तर त्यो अफिसियल खेल थिएन । कतिपयले भोलाको त्यो नै राष्ट्रिय जर्सीमा अन्तिम खेल भने । भोलाकाअनुसार उनले त्यसबेला यो अन्तिम खेल भनेर खेलेको होइनन् । आइतबार ३४ औं बसन्त पार गरेका भोलाले अघि भने, ‘मैले प्रधानमन्त्री कप खेल्दा पनि निलो जर्सीबाटै शुरु भएको थियो । त्यसपछि ८ वर्ष राष्ट्रिय टिममा खेलेँ । अहिले पनि निलोबाटै अन्त्य होला जस्तो छ ।’

रविनले भने अझै पुनरागमन गर्ने सम्भावना देखेका छन् । क्लबका लागि राम्रो गर्न सके राष्ट्रिय टिममा फर्कन मदत गर्ने उनले सुनाए । ‘अहिले मेरो ध्यान लिगमै छ’ उनले भने, ‘क्लबमा राम्रो प्रदर्शन गर्न चाहन्छु, त्यसपछि राष्ट्रिय टिम नै हो ।’

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय