Comments Add Comment

बुद्ध शान्ति ट्रष्टले ठोरीमा ४१ करोडको लगानीमा गुम्बा बनाइदिने

२० पुस, काठमाडौं । काठमाडौंमा रहेको बुद्ध शान्ति ट्रष्टले पर्साको ठोरी गाउँपालिका-४ घ्याङ डाँडामा गुम्बा निर्माण गरिदिने भएको छ ।

विभिन्न देशको सहयोगमा ट्रष्टले झण्डै ४१ करोड रुपैयाँको आर्थिक लगानीमा गुम्बा निर्माण गरिदिने भएको नेपाल तामाङ घेदुङ पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिए ।

संङ्का रिन्छेन लिंक परिसर घ्याङ्ग डाँडामा आइतबार आयोजित धार्मिक कार्यक्रममा नवबुद्ध गुम्बाका लामा गुरु समेत रहेका ट्रष्टका कर्म लामाले जर्मन, थाइल्यान्ड, ताइवान र जापानको सहयोगमा गुम्बा निर्माण गर्ने प्रतिवद्धता जनाएको पाख्रिनले अनलाइनखबरलाई जानकारी दिए ।

३ सय जना बौद्धभिक्षुहरुलाई प्रशिक्षण गर्न मिल्ने गुम्बा, बगैंचाका साथै कमलको फूलमा अग्लो बुद्धको मुर्ति निर्माण गर्नका लागि सहयोगी देश र दाताहरुसँग कुरा भइसकेको जानकारी लामा गुरुले दिएको उनले बताए ।

लामा गुरुको भनाइ उदृत गर्दै पाख्रिनले भने, ‘ट्रष्टले गुम्बा निर्माणका लागि तत्काल प्राविधिकसहितको टोली विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्नका लागि पठाउने छ ।’

गुम्बा बनेपछि यस क्षेत्रका मानिसहरूको आर्थिक अवस्था पनि माथि उठ्ने विश्वास उनले दिलाएका थिए ।

कार्यक्रमका ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले गुम्बा निर्माणका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । नमूना गुम्बा बनाउने योजनाप्रति गाउँपालिका सकारात्मक रहेको उनको भनाइ थियो ।

धार्मिक कार्यक्रममा वडा अध्यक्ष बइबहादुर तामाङ, संङ्का रिन्छेन लिंक गुम्बाका अध्यक्ष बुद्धलाल तामाङ नेपाल तामाङ धेदुङ जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय लामा गुरु लगायतको सहभागिता रहेको थियो ।

तामाङ समुदायको बाहुल्य रहेको ठोरी गाउँपालिका-४ घ्याङ्ग डाँडामा नेपालकै आग्लो बौद्ध झण्डा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment