Comments Add Comment

भत्किएका छाउगोठभित्र नभत्किएका मन

Photo Credit : अनलाइनखबर फाइल ।

२२ पुस, जाजरकोट । जुनिचाँदे गाउँपालिका-८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिकेकी थिइन् ।

पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ । अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन् ।

गाउँमा पढेलेखेका युवा यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगाठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन । अघिल्लो पुस्ताले अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै झिना स्वर उठाउँदै आएका छन् ।

शिक्षित परिवारकै घरमा छाउगोठ भत्काइए पनि घरभित्रको चुलो पूजास्थलमा भने महिनावारी हुँदा जान पाइँदैन । ‘शिक्षकहरुले विद्यालयमा छाउलाई कुप्रथा भन्दै कक्षाकोठामा पढाउँछन् तर घरमा जाँदा छोरी, बुहारी र श्रीमतीलाई महिनावारी हुँदा सात दिनसम्म मूल कोठाको प्रवेशमा रोक लगाउँछन्, अनि कसरी हुन्छ परिवर्तन ?’ जुनिचाँदे -७ का रामबहादुर खड्काले भने ।

उनले भने, ‘आत्मादेखि हाम्रा सोच, विचार र संस्कारहरु बदल्न जरुरी छ, शिक्षक आफैं धामी छ, दैनिक छिमेकीको घरमा देवता निकालेर बिरामीलाई भूत, प्रेत र बोक्सी लागेको भन्दै हिँड्छ ।’

जिल्ला प्रशासन कार्यालयले छाउ बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवासुविधा रोक्ने भन्दै सदरमुकाममा प्रचार गरे पनि त्यो सूचना गाउँगाउँमा पुग्न सकेको छैन ।

छाउगोठ भत्काउन सुरु गरिए पनि मानिसभित्र रहेको चेतना परिवर्तन नभएसम्म महिनावारी हुँदा भान्सा बस्न नपाउने तथा दूध, दही, मही, घ्यू खान नपाउने अवस्था ज्यूँका त्यूँ रहन्छ ।

अहिले पनि छाउगोठ भत्किए तर नागरिकका चेतना परिवर्तनका लागि भत्किएका छैनन् । अहिले पनि महिलाले दुःख पाइरहेका छन् । जिल्लाका अन्य ठाउँमा छाउगोठ नभए पनि महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान छ ।

देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको डोल्पा मुड्केचुला गाउँपालिका-८ का विष्णु सिंहले जानकारी दिइन् । उनले भनिन्, ‘सदरमुकाममा हल्ला गर्दैमा ग्रामीण क्षेत्रमा सबै परिवर्तन हुँदैन, हाम्रो ठाउँमा कसले सचेतनाका कार्यक्रम गर्छ र सबैले थाहा पाऊन् ?’

उनी जस्तै अधिकांश गाउँका महिला पुरुषका कारण हेपिएका छन् । उनीहरुले सामाजिक कुसंस्कारका रुपमा रहेको परम्परालाई तोड्न खोज्दा अलच्छिना भनेर पगरी गुथाई अपहेलना गरिएको पञ्च भयार मावि नलगाड नगरपालिका-८ की शिक्षिका नन्दा शाहीले बताउँछिन् ।

उनले भनिन्, ‘परम्पराका नाममा ठूलो ज्यादती रहेको छ, गोठ भत्काएको खबर त सुनियो तर मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरी छ ।’

राज्यको मात्र दायित्व नभइ सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि सङ्गठित भएर लाग्नुपर्ने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए ।

उनका अनुसार जनयुद्धमा समेत यस्ता खालका विकृति हटाउने सबै खालका कारबाही गरिएको थियो, सो समयमा छाउगोठ बस्ने, छुवाछूत व्यवहार हटाउनका लागि जनकारबाहीसम्म गर्ने गरी यसको न्यूनीकरण गरिएको थियो ।

उनले अहिले समाज खुला भएकाले जसले जे गरे पनि मतलब नभएको गुनासो गरे । ‘कुसंस्कारको विरुद्धमा बोल्ने सबैजना सङ्गठित भएर गलत संस्कारका विरुद्ध एक जुट भइ लागे यस्ता खालका गतिविधि शून्यमा झार्न सकिन्छ,’ उनले भने ।

जाजरकोट र डोल्पाका अधिकांश गाउँमा अहिले पनि सञ्चारमाध्यमको पहुँच नहुँदा त्यहाँ सचेतनाका कार्यक्रमले छुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment