
२२ पुस, काठमाडौं । नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको भन्दै पक्राउ गरिएका १ सय २२ जना चिनियाँ नागरिकलाई दुई समूहमा चीन फर्काइने भएको छ ।
अपराधिक पृष्ठभूमि नभेटिएपछि प्रहरीले अध्यागमन विभागलाई जिम्मा लगाएकाहरुलाई ८८ र ३४ जनाको गरी दुई समूह बनाएर ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’ विमानमार्फत चीन फर्काउन लागिएको हो ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विमानमा चिनियाँ सुरक्षा अधिकृत पनि हुनेछन् । अध्यागमन विभागले कारबाही गरेपछि उनीहरुलाई निष्काशन गर्ने थप प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ ।
अध्यागमन ऐन उल्लंघन गरेवापत दुई समूहका व्यक्तिलाई बेग्लाबेग्लै कारबाही भएको छ । विभागका अनुसार ८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।
विभाग स्रोतका अनुसार नेपालस्थित चिनियाँ दूतावासले जरिवाना वापतको रकम तिरिदिएको छ ।
विभागका निर्देशक रामचन्द्र तिवारीले अनलाइनखबरसँग भने, ‘भिसा नियमित भएको हकमा एक हजार रुपैयाँ र नियमित नभएको हकमा चाहिँ थप एक हजार गरेर दुई जना रुपैयाँ जरिवाना तिराउने निर्णय भएको छ ।’
अध्यागमन ऐनको दफा १० (४) बमोजिम उनीहरुलाई ४ वर्ष नेपाल प्रवेश गर्न निषेध पनि गरिएको छ । पक्राउ परेका चिनियाँ नागरिकले पर्यटक भिसाको दुरुपयोग गरेको विभागको निश्कर्ष छ ।
पक्राउ परेका मध्ये हु चेङगुई मात्र व्यापारिक भिसामा नेपाल आएको देखिएको विभागले जनाएको छ ।
राहदानी नं. ईजी ३८९३५०३ वाहक उनले व्यापारिक आईटी कम्पनी खोल्ने भन्दै व्यापारिक भिसा लिएका छन् । उनी सम्बद्ध कम्पनीबाट व्यापारिक भिसा प्राप्त गर्ने अन्य भने पक्राउ परेका छैनन् ।
प्रतिक्रिया 4