Comments Add Comment

ठोरी घुम्न जाने पर्यटकलाई हात्ती र जीप सफारीको व्यवस्था

अध्यक्ष वीरगञ्ज आएर दिए ठोरी घुम्न आउने निम्तो

२३ पुस, वीरगञ्ज । पर्साको पर्यटकीय स्थल ठोरी घुम्नका लागि हात्ती र जीप सफारीको व्यवस्था गरिने भएको छ । भ्रमण वर्ष २०२० सुरु भएसँगै पर्यटकीय आकर्षणको केन्द्र ठोरीले पाहुनालाई नयाँ सौगात ल्याएको हो । पर्सा राष्ट्रिय निकुञ्जसँगको समन्वयमा पुस २५ गतदेखि निकुञ्जभित्र हात्ती र जीप सफारी सुरु गरिने ठोरी गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले वीरगञ्जमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर पहिलो ठोरी हात्ती तथा जीप सफारी महोत्सव २०७६ बारे समेत जानकारी गराएका छन् ।

पुस २५ गतेदेखि २९ गतेसम्म ठोरी–५ सुवर्णपुरमा भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउनका लागि हात्ती तथा जीप सफारीका साथै अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सवको उद्घाटन वन तथा वातावरण मन्त्री शक्ति बहादु्र बस्नेतले गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साँस्कृतिक कार्यक्रम, कुस्ती प्रतियोगिता लगायतका मनोरञ्जनात्मक कार्यक्रम राखिएको छ ।

महोत्सवकै दिनदेखि हात्ती तथा जीप सफारी सुरु गरेर त्यसलाई निरन्तर सञ्चालन गर्ने लक्ष्य गाउँपालिकाले लिएको उनले बताए ।

सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण ठोरीको प्रमुख आधार भन्ने नारा लिएको ठोरी गाउँपालिकाले आन्तरिक पर्यटकलाई पालिकामा आर्कषित गर्न महोत्सव गर्न लागेको हो ।

अध्यक्ष श्रेष्ठले ठोरीमा बनाएका कृतिम संरचना भन्दा पनि ठोरी प्राकृतिक सौन्दर्यता रहेकोले पर्यटक आउने आशा व्यक्त गरे । ‘वनस्पति, जंगल, जीवजन्तु छ, सुन्दर, शान्त ठाउँ छ । बस्नका लागि होमस्टे छ । घुम्नका लागि पर्सा राष्ट्रिय निकुञ्ज छ ।’ श्रेष्ठले भने ‘ठोरीको सुवर्णपुर र तीनघरेमा होम स्टे सञ्चालनमा छन् । अर्गानिक अनि सस्तोमा खाना खान पाइन्छ ।’

हात्ती बस्ने बासस्थान पोखरी लगायत निर्माण गरेर हात्ती सफारीको तयारी गरिसकेको उनको भनाइ छ ।

महोत्सव आकर्षक मनोरञ्जनात्मक बनाउन विभिन्न स्थानीय र राष्ट्रिय कलाकार कार्यक्रम राखिएको छ । राष्ट्रिय कलाकार रमेशराज भट्टराई, शंकर विसी, करिश्मा ढकाल आउने तय भइसकेको श्रेष्ठले बताए ।

दैनिक १० हजार जनाले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवका लागि २० लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको ठोरी–५ का वडा अध्यक्ष राम बहादुर पाख्रिनले जानकारी दिए ।

‘महोत्सवका लागि गाउँपालिकाले १२ लाख छुट्याएको छ । तर खर्च २० लाख २० हजार जति लाग्ने जस्तो देखिएको छ,’ वडा अध्यक्ष पाख्रिनले भने, ‘ पर्सा राष्ट्रिय निकुञ्जले रकम छैन भनेको छ, अन्यत्र हामीले मागेका छैनौं । नपुगेको पछि फेरि गाउँपालिकाबाटै व्यवस्थापन गर्नुपर्छ ।’

गढुवालाइन पोष्टबाट नियमित हात्ती र जीप सफारी सञ्चालन हुने पत्रकार सम्मेलनमा जनाइएको छ । महोत्सवका लागि दुई/दुई वटा हात्ती र जीप तयारी अवस्थामा राखिएको छ । गढुवालाइनदेखि रामभौरी भाठासम्म प्रति व्यक्ति १ हजारको दरले जीप सफारीमा खर्च लाग्ने आयोजकको भनाइ छ ।

हात्ती सफारीका लागि रुट तय भएको छैन । निकुञ्जले नै हात्ती सफारीका लागि नेपालीको ६ सय रुपैयाँ र विदेशीलाई ११ सय रुपैयाँ शुल्क कायम गरिदिएको छ ।

ठोरीमा चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत निर्मल ठोरी र पर्सा राष्ट्रिय निकुञ्ज अन्र्तगत सुनाखरी, पञ्मुखी लगायत ५ वटा मध्यवर्ती वन उपभोक्ता समिति छन् । सुनाखरी मध्यवर्ति वन उपभोक्ता समितिक अध्यक्ष देवी दहालले जंगल सफारीको क्रममा जनावर भेटिने संभावना समेत रहेको बताए ।  ‘निकुञ्जमा १८ वटा बाघ, दर्जनौं हात्ती वटाको हाराहारीमा, चित्तल, निल गाई, बदेंल त गणना गरेकै छैन ।’ उनले भने ‘ घुम्न जाने क्रममा जम्काभेट हुन सक्छ ।’

एक सिंगे गैंडाको बासस्थान चितवन भनेजस्तै हात्तीको बासस्थान पर्सा राष्ट्रिय निकुञ्ज परिचित छ । नेचर गाइडलाई राखेर हात्ती र जीप सफारी गराउँदा पाहुनाले यस क्षेत्रको जैविक विविधताको बारेमा जानकारी पाउने छन् ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बालमिकी व्यग्र परियोजना अन्तर्गतको टाइगरटप्सलाई जोड्ने त्रिवेणीको रुपमा रहेको ठोरी प्रदेश २ कै मनोरम स्थल भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा पर्न गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment