Comments Add Comment
मेरो कथा :

नेपाललाई स्वर्ण दिलाउने त्यो अनपेक्षित गोल

२४ पुस, काठमाडौं । राष्ट्रिय टिमबाट खेल्ने र गोल गर्ने रहर सबै खेलाडीको हुन्छ, मेरो पनि थियो । त्यो रहर पूरा पनि भयो । सिनियर टिमबाट गोल पनि गरिसकेको थिएँ । तर यू–२३ टिमबाट खेले पनि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा गरेको गोल विशेष बन्यो ।

त्यही गोल मद्दतमा भुटानलाई २–१ ले हराएर हामीले लगातार दोस्रो पटक सागमा स्वर्ण जित्यौं । देशको लागि स्वर्ण जिताउँदा पाउँदा एकदमै गौरव लागेको छ ।

त्यो अनपेक्षित गोल

सुरुमा त्यही गोलको कथा सुनाउँछु । साग फुटबलको फाइनलमा प्रतिद्वन्द्वी भुटान थियो । हुन त हामीले समूह चरणको पहिलो खेलमा त्यही टिमलाई ४–० ले हराइसकेका थियौं । तर भुटानले अन्य टिमविरुद्ध एकपछि अर्को राम्रो नजिता निकाल्दै फाइनलमा स्थान बनाएको थियो । त्यसैले हामीले फाइनलमा भुटान त हो, जितिहाल्छौं भनेर सोचेनौं । बरु राम्रो प्रतिस्पर्धा गर्ने सक्ने टिम सोचेर नै मैदान उत्रिएका थियौं ।

दशरथ रंगशाला भरिभराउ थियो । घरेलु दर्शकको साथ पाएको हामीले खेलमा अग्रता लियौं, तर उनीहरुले बराबरी गोल फर्काए । त्यसपछि १० मिनेटजति हामी अताल्लिएको जस्तो हो कि….भयो । उनीहरुले बल पोसेसन पनि लिइराखेका थिए ।

तर हामीलाई दर्शकको साथ थियो । दर्शकको त्यही समर्थनले ऊर्जा थप्यो । अब गोल गर्नुपर्छ भन्ने लाग्यो । र, त्यो गोल म आफैंले गर्न सफल भएँ । लेफ्ट साइडबाट क्रस आएको थियो । च्यालेन्ज गरेर कन्ट्याक्ट गर्छु भन्ने थियो । तर कन्ट्याक्ट मात्र होइन, गोल नै भयो । साँच्चै भन्नुपर्दा म आफैंले गोल अपेक्षा गरेको थिइनँ । गोलपछि एकदमै खुशी भएँ । आफूलाई सम्हाल्न सकिनँ । के गरौं, के गरौं भयो, अनि जर्सी खोलेर सेलिब्रेसन गरें । यो गोल मैले मेरो बुवालाई डेडिकेट गरेको छु ।

२०१६ मा भारतमा भएको १२ औं सागमा पनि म टिममा थिएँ । लगातार दोस्रो पटक स्वर्ण जित्नेमा विकेश, विक्रम र अनन्तसँग म पनि भएँ । तर १२औं सागमा खासै खेल्न पाएको थिइनँ, यो पटक खेल्न पाएँ र फाइनलमा निर्णायक गोल पनि गरेँ ।

स्वर्ण जितेपछि एक प्रकारको स्वर्गीय आनन्द महसुस भएको थियो । यो सफलता एक्लैले आएको होइन, सबै खेलाडीले उत्तिकै मेहनत गरेका थिए, प्रशिक्षकहरुले पनि त्यसरी नै अभ्यास गराउनुभयो । अफिसियल, टिम स्टाफ सबैको उत्तिकै योगदान रह्यो । सबैलाई धन्यवाद भन्न चाहन्छ ।

बुवा नै कोच

यो त भयो आजको सुनिल बलको कथा । तर यहाँसम्म आउन त्यति सजिलो थिएन । संघर्ष गरेको छु, एउटा–एउटा खुड्किलो पार गरेको छु र यसमा सानैदेखि परिवारको भने साथ रह्यो ।

मेरो घर हेटौंडा । अनि, बुवालाई फुटबल एकदमै मन पर्ने । ब्राजिलको फ्यान नै हुनुहुन्थ्यो । ममा पनि त्यो प्रभाव पर्‍यो । अझै भनौं, बुवाले पारोस् भन्ने चाहनुभयो । र त ४–५ वर्षको हुँदादेखि नै बुवाले मलाई फुटबल सिकाउनुभयो ।

मलाई पनि फुटबलले लोभ्यायो । त्यतिखेर उहाँ बुवामात्र नभएर मेरो कोच पनि हुनुहुन्थ्यो । हेड कसरी गर्ने, क्रस कसरी गर्ने भन्ने सिकाउनुभयो । स्थानीय प्रतियोगिताहरु हुँदा पनि ल हिँड छोरा गेम हेर्न भनेर लैजानुहुन्थ्यो । यसरी खेल्नुपर्छ भन्नुहुन्थ्यो ।

अनि मलाई पनि म कहिले खेल्छु होला, कहिले यस्तै खेल्ने होला भनेर उत्सुकता जाग्थ्यो । त्यही उत्सुकता र बुवाको साथले उमेर समूहहरु खेल्दै राष्ट्रिय टिमसम्म यात्रा तय गर्न सफल भएको छु ।

अनि शुरु भयो काठमाडौं यात्रा

फुटबल हेर्न जानेबाट खेल्ने त भइयो, तर राष्ट्रिय टिमसम्म जाने बाटो थाहा थिएन । कसरी छनोट हुने भन्ने पनि थाहा थिएन । बुवासँग खेल्ने, सिक्ने क्रम चलिरहेको थियो । एक पटक जिल्ला लिग खेल्ने अवसर पाएँ । अझ भनौं, बुवाले जुराइदिनुभयो ।

एफसी पोतलाका कुमार कटवाल सरसँग बुवाको चिनजान रहेछ, त्यसैले मलाई पनि खेल्न बोलाइयो । बुवासँगै जिल्ला लिग खेल्न गएँ । मैले दोस्रो हाफमा खेल्ने अवसर पाएँ । सरले खेल राम्रो छ भन्नुभयो । त्यही खेलले मलाई काठमाडौंसम्म पुर्‍यायो ।

त्यो खेलपछि कुमार सरले यू–१४ सेलेक्सनका लागि काठमाडौं जानुपर्छ भनेर बुवालाई कल गर्नुभयो । अनि बुवा र म लाग्यौं काठमाडौंतिर ।

तर काठमाडौं हाम्रालागि नौलो थियो । मलाई अहिले पनि याद छ, म पहिलो पटक एन्फा कम्प्लेक्समा प्रवेश गर्दा अनौठो लागेको थियो । थुप्रै मानिसहरु सेलेक्सनका लागि लाइनमा थिए । एकछिन त म नर्भस भएँ । तर ध्यान फुटबलमै थियो । त्यति टाढाबाट आएको छु, केही त गर्नुपर्छ भन्ने मनमनै सोचेँ । छनोटका क्रममा हरेक क्षण बुवा साइडमा बस्नुहुन्थ्यो । यसो गर, उसो गर, भन्दै कोचले झैं भन्नुहुन्थ्यो । त्यो क्षण अहिले पनि याद आउँछ । बुवाले साथ दिनु भएको थियो र त म यहाँसम्म आइपुग्न सफल भएझैं लाग्छ ।

छनोट चलिरह्यो । दुई सय, एक सय हुँदै ८०, ४० अनि २० जना छनोट भए । अनि आफ्नो नाम, ठेगाना, फोन नम्बर लेखेर जाऊ, जो सेलेक्ट हुन्छ उसलाई कल आउँछ भनेर सुनाइयो ।

अन्त्यमा म छनोट हुन सफल भएँ । त्यतिखेर झापाबाट आएका अनन्त तामाङ र मसँगै छनोट भएका थियौं । हामी अहिले पनि सँगै खेलिरहेका छौं । पछि काठमाडौं, धरान र बुटवलको एकेडेमीबाट गरेर बेस्ट अफ दि बेस्ट टिम छनोट गरियो । विमल घर्तीमगर बुटवलबाट आए । हेटौंडाकै अन्जन विष्ट यू–१६ बाट जोडिए । तीन वटा एकेडेमीबाट छनोट भएकाहरुलाई एन्फामा राखियो, नियमित प्रशिक्षण पायौं र राम्रो टिम बन्यो ।

यू–१६ च्याम्पियनसिपमा छनोट

सन् २०१४ मा काठमाडौंमै एएफसी यू–१६ च्याम्पियनसिपको छनोट खेल भएको थियो । हाम्रो समूहमा बहराइन, इराक र तुर्कमिनिस्तान थिए । हामीले बहराइन र तुर्कमिनिस्तानलाई हरायौं भने इराकसँग बराबरी खेल्यौं र समूह विजेताका रुपमा अन्तिम चरणमा छनोट भयौं । फाइनल राउण्ड खेल्न थाइल्याण्ड गयौं ।

हामी खेलाडीहरु एकदमै उत्साहित थियौं । योङ ब्लड थियो तर, सबैमा इन्डिभिजुएल भन्दा पनि टिम गेम खेल्नुपर्छ भन्ने भावना थियो । कोचहरुले पनि त्यसरी नै प्रशिक्षित गर्नु भएको थियो । त्यहाँ राम्रो गर्न सके यू–१७ विश्वकपसम्म पुग्ने अवसर भएकाले पनि हामी एकदमै मोटिभेटेड थियौं ।

प्रतियोगिता सुरु भयो । पहिलो खेलमा किरण सुनारले इन्जुरी टाइममा गोल गरेपछि उज्वेकिस्तानलाई बराबरीमा रोक्न सफल भयौं । दोस्रो खेलमा कुवेतलाई २–१ ले हरायौं । तेस्रो खेल थियो उत्तर कोरियासँग । उज्वेकिस्तानले पनि ४ अंक जोडिसकेको थियो, हाम्रो पनि उति नै अंक थियो ।

उत्तर कोरियाको ३ अंक थियो । समूहको दुई टिम अघिल्लो चरणमा प्रवेश गर्ने भएकाले अन्तिम खेल बराबरी भए हामी नकआउट चरणमा पुग्थ्यौं । तर दुर्भाग्य उत्तर कोरियासँग ४–१ ले पराजित भयौं र समूहमा तेस्रो भएर प्रतियोगिताबाटै बाहरियौं । सेमिफाइनसम्म पुग्न सकेको भए हामी यू–१७ विश्वकप खेल्न पाउँथ्यौं भन्ने भयो । तर त्यही उत्तर कोरियाले फाइनलमा दक्षिण कोरियालाई हराएर उपाधि जितेपछि भने चित्त बुझायौं ।

२०१५ मा नेपालमै यू–१९ साफ च्याम्पियनसिप आयोजना भयो । त्यसमा भने चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै उपाधि जित्यौं । त्यतिखेर टिम एकता थियो, एक अर्कामा विश्वास थियो र सफल पनि भयौं ।

अनि शुरु भयो थ्रीस्टारको यात्रा

यू–१९ सकिएपछि सिनियर दाइहरुले अब थ्रीस्टारबाट खेल्नुपर्छ भनेर हौसाउनुहुन्थ्यो । प्रकाश बुढाथोकी, निराजन खड्का दाइहरुले तिमी थ्रीस्टार आउनुपर्छ भन्नुभयो । नभन्दै थ्रीस्टारबाट खेल्ने अवसर जुर्‍यो ।

२०७१ (सन् २०१५) मा थ्रीस्टारले राष्ट्रिय लिग जितेपछि २०१६ मा एएफसी कप छनोट खेल्ने भयो । त्यसका लागि म पनि थ्रीस्टार पुगेँ । मंगोलियामा भएको एएफसी कप छनोटमा हामीले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टिम एर्चिमलाई पराजित गर्‍यौं भने कम्बोडियाको नागावर्ल्डसँग बराबरी खेल्यौंं । समूह विजेताका रुपमा हामी २०१७ मा हुने एएफसी कपमा पनि छनोट भयौं । त्यतिबेला हाम्रो टिम पनि राम्रो लयमा थियो । पहिलो पटकमै सफलता हात पार्दा मलगायत सबै उत्साहित थियौं ।

दोस्रो चरणमा अझ राम्रो गर्नुपर्छ भन्नेमा क्लब पदाधिकारी, प्रशिक्षक र हामी सबै प्रतिबद्ध थियौं । तर त्यो खुसी लामो समय टिकेन । अखिल नेपाल फुटबल संघ (एन्फा)को सानो गल्तीले गर्दा हामीले खेल्ने नपाउने भयौं । छनोट भएर पनि खेल्न नपाउँदा एकदमै नराम्रो अनुभव भयो । यति पीडा भयो कि त्यसपछि केही समय क्लबले फुटबल नै खेलेन । टिम छिन्नभिन्न जस्तै भयो । म आफैं पनि ७/८ महिना बेरोजगार जस्तै भएँ । मोफसलका प्रतियोगिताहरु भने अरु क्लबबाट खेलेँ, त्यसमै चित्त बुझाएँ । २०७२ वैशाखको भूकम्पका कारण लिग पनि भएन । मोफसलकै प्रतियोगिता खेलेर बस्यौं ।

पहिलो लिगमा राम्रो अनुभव

भूकम्पको ४ वर्षपछि लिग हुँदै थियो । थ्रीस्टारबाट पहिलो पटक लिग खेल्न पाउँदा उत्साहित थिएँ । खेलहरु राम्रै भएको थियो तर केही कमजोरीका कारण हामी तेस्रो भयौं । मैले व्यक्तिगत रुपमा भने सिक्ने र लिगको अनुभव लिने मौकाको रुपमा लिएँ ।

यो सिजन थ्रीस्टार छाड्ने निर्णय लिएँ । राम्रो क्लबमा खेल्ने चाहना सबैको हुन्छ । तर एउटा खेलाडीका रुपमा अपेक्षाहरु पनि हुन्छन् । आर्थिक समस्याकै कारण थ्रीस्टार छाडेँ र यस पटक च्यासल युथ क्लबबाट लिग खेलिरहेको छु । जताबाट राम्रो अफर आयो, उता गइयो भनौं । थ्री स्टारबाट म, एलन न्यौपाने र दिनेश राजवंशी च्यासल आएका हौं । दिनेशले निलम्बनका कारण अहिलेसम्म खेल्न पाएको छैन, एलन र म भने खेलिरहेका छौं ।

पहिलो खेलमा संकटालाई २–० ले हरायौं । दोस्रो खेलमा राम्रो टिम मच्छिन्द्रसँग बराबरी भयौं । त्यो खेलमा अग्रता लिएर पनि हाम्रो खेलाडी चोटका कारण मैदान बाहिर भएको बेला गोल खाएका थियौं । न्यूरोड टिम (एनआरटी)विरुद्ध खेल्दा के नमिलेको जस्तो देखियो, हामी पराजित भयौं । जावलाखेलविरुद्ध पनि राम्रो खेल्न सकेनौं । अझै खेलहरु बाँकी छ । आगामी खेलहरुमा अझै सुधार गर्नुपर्ने छ । खेल हो जित र हार त हुन्छ, तर व्यक्तिगतभन्दा टिम गेम खेल्न सक्यौं भने राम्रो प्रदर्शन गरेर राम्रो स्थानमा लिग सकाउने लक्ष्य असम्भव छैन ।

एउटै साफमा खुशी र दुःखी

मैले २०१६ मा लाओससँग भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेको थिएँ । पहिलो पटक त्यो जर्सी लगाएर खेल्दा एकदमै खुशी र छुट्टै आनन्द अनुभव भयो । नयाँ यात्रा सुरु भएको जस्तो महसुस भएको थियो ।

सिनियर टिमबाट मेरो पहिलो प्रतियोगिता भने २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप थियो । त्यो प्रतियोगितामा म खुशी पनि भएँ, दुःखी पनि भएँ ।

हाम्रो पहिलो खेल पाकिस्तानसँग थियो । म सुरुमा बेन्चमा थिएँ । दोस्रो हाफमा मैदान छिरेँ । अफेक्सिभ क्रस पासहरु गरेँ । दोस्रो खेलबाट भने पहिलो रोजाइमै परेँ । त्यो खेलमा भुटानविरुद्ध गोल पनि गरेँ । सिनियर टिमबाट त्यो मेरो डेब्यु गोल हो । त्यसबेला हामीले पेनाल्टी पाएका थियौं । विमल घर्तीमगरले पेनाल्टी हान्न लाग्दा नै म रिबाउन्ड आउन सक्छ भनेर सजग थिएँ । नभन्दै त्यस्तै भयो । बल रिबाउन्ड आयो, मैले गोल पनि गरेँ । नेपालको लागि डेब्यू गोल गर्दा खुसी नहुने कुरै भएन । म हरेकजसो गोल गर्दा बुवालाई नै सम्झन्छु । त्यो त राष्ट्रिय टिमका लागि पहिलो गोल थियो, त्यसैले बुबा–आमालाई सम्झिएँ ।

त्यसपछि आयोजक बंगलादेशलाई हराएर हामीले सेमिफाइनल यात्रा तय गर्‍यौं । तर कारणबस माल्दिभ्ससँग हार्न पुग्यौं । एकदमै दुःखद क्षण थियो त्यो । सफलताको अन्तिमतिर पुग्दै गर्दा चुक्यौं । त्यो हारबाट हामीले धेरै सिकेका छौं र, यो वर्ष बंगलादेशमा हुने साफमा व्यक्तिगत र टिम दुवैले राम्रो गर्नुपर्छ भन्ने छ । नेपाललाई साफ च्याम्पियनसिप जिताउने लक्ष्य हो । अब हामी जित्ने गरी खेल्छौं ।

त्यो भन्दाअघि विश्वकप र एसियन छनोट आउँदैछ । त्यसमा राम्रो गर्नुपर्छ । हामीले बाहिर पाँच खेल खेलिसक्यौं । अब घरमै खेल्दैछौं, होम ग्राउण्ड हुँदा छुट्टै फाइदा हुन्छ । होम क्राउडको सपोर्ट हुन्छ । बाहिर हुँदाचाहिँ परिचित मैदान पनि नहुने र दर्शकको साथ पनि नपाइने । त्यसैले अष्ट्रेलिया र चाइनिज ताइपेसँग दशरथ रंगशालामा हुने खेलका लागि हामी सबै उत्साहित छौं । हाम्रो टार्गेट भनेको जसरी हुन्छ अंक जोड्ने नै हो । दुवै खेल हाम्रालागि गर या मर जस्तो हो र जित्ने नै लक्ष्य छ ।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’को ६८ औं अंकमा यो हप्ता फुटबल खेलाडी सुनिल बलको कथा ।)

प्रस्तुति : गोविन्दराज नेपाल

तस्‍वीर : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment