+

कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार

२०८२ कात्तिक  १६ गते २०:५५ २०८२ कात्तिक १६ गते २०:५५
कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्स स्पोर्ट्स प्रालिले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सोमबार सुर्खेतमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ।
  • ट्यालेन्ट हन्टमा दुई सयभन्दा बढी युवा खेलाडी सहभागी हुन इच्छुक देखिएका छन् र फारम नपरेका खेलाडीलाई पनि सहभागी गराइनेछ।
  • कर्णाली याक्सले दोस्रो संस्करणका लागि ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक राखेको छ र तीन विदेशी खेलाडीसँग सम्झौता गरेको छ।

१६ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो ।

ट्यालेन्ट हन्ट सोमबार बिहान ७ बजेबाट सुर्खेतको विरेन्द्रनगरमा रहेको इन्डोर हलमा आयोजना हुने कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी गराएका छन् ।

बस्नेतका अनुसार अघिल्लो दिनसम्म दुई सय भन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएका छन् । ‘हामीले खुलाएको दर्ता फारममार्फत मात्रै दुई सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ’ प्रशिक्षक बस्नेतले भने, ‘फारम भर्न कोही छुट्नु भएको छ भने पनि हामी उहाँहरुलाई ट्यालेन्ट हन्टमा सहभागी गराउने छौं ।’

यस्तै, ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ । ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्नेछ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन् । उनी पहिलो संस्करणको प्रतियोगिताको उदीयमान खेलाडी घोषित भएका थिए । सोमबार हुने ट्यालेन्ट हन्टमा सहभागी भएका विपिनले आफूजस्तै अर्काे ट्यालेन्ट आउनेमा आशावादी रहेको बताएका छन् ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको हो । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बोसिष्टोसँग सम्झौता नवीकरण गर्दा मार्क वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो ।

कर्णाली याक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय