Comments Add Comment

एक वर्षमा प्रदेश सांसदको साढे ९ लाख रुपैयाँ सामाजिक काममा

२४ पुस, गोरखा । गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले एक वर्षमा साढे ९ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेका छन् ।

निर्वाचित हुनेवित्तिकै आफ्नो तलब भत्ता सामाजिक काममा खर्च गर्ने घोषणा गरेका उनले एक वर्षमा पाएको तलब भत्तामा झण्डै साढे २ लाख रुपैयाँ थपेर सामाजिक काममा खर्च गरेका हुन् ।

२०७५ पुसदेखि ०७६ पुससम्म ९ लाख ४४ हजार रुपैयाँ गोरखा जिल्लाका विभिन्न ठाउँमा सामाजिक काममा खर्च गरेको दवाडीले बिहीबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘गत पुसदेखि यो पुस महिनासम्म पाएको तलब भत्ता करिब ६ लाख ७९ हजार रुपैयाँ थियो,’ उनले भने, ‘त्यसमा मेरो व्यवसायको २ लाख ६० हजार रकम थपेर सामाजिक काममा खर्च गरेँ ।’

आफूले स्वास्थ्य, शिक्षा र सडकको क्षेत्रमा सहयोग गरेको उनले बताए । ‘म निर्वाचित भएर सपथ लिने बेलैमा आफूले पाउने तलवभत्ता सामाजिक कार्यमा खर्च गर्छु भनेको थिएँ, त्यही प्रतिवद्धताअनुसार सहयोग गरिरहेको हुँ,’ सांसद दवाडीले भने ।

आफूले गरेको सहयोग रकम सदुपयोग भए नभएको अनुगमन पनि गरिरहेको उनले बताए । ‘सदुपयोग नभएमा फिर्ता लगेर अर्काे ठाउँमा सहयोग गर्छु’ सांसद दवाडीले भने ।

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ख बाट निर्वाचित उनले आफ्नो निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखी आर्थिक सहयोग गरेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सांसद दवाडीले सरकारले संघीयतालाई विलासिता र कार्यकर्ता भर्ती केन्द्रको नयाँ मोडलको रुपमा मात्रै स्थापित गराउन खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment