Comments Add Comment

धरौटीको आदेशविरुद्ध सिद्धबाबा उच्च अदालतमा

२४ पुस, विराटनगर । बलात्कारको आरोपमा जिल्ला अदालत सुनसरीबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आदेश बदरको माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् ।

गिरीले जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा मुद्दाको पूर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा मंगलबार निवेदन दिएका हुन् ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको किटानी जाहेरी परेपछि प्रहरीले गिरीलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरेको थियो । सो मुद्दामा पुस १४ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध १६ पुसमा उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालतमा गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै निवेदन दिएको थियो । उक्त मुद्दामा उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले १८ पुसमा मिसिलसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको थियो ।

सिद्धबाबाले पनि जिल्लाको आदेश बदरका लागि निवेदन गरेपछि बुधबार मुख्य न्यायाधीश श्रेष्ठको इजलासले दुबै मुद्दालाई सँगसँगै हेर्ने गरी लगाउमा राख्न आदेश दिएको छ । उच्च अदालत स्रोतका अनुसार जिल्लाले कैफियत प्रतिवेदन पठाइसकेको छ ।

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश श्रेष्ठको इजलासले मुद्दा लगाउमा राख्न आदेश दिएको उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment