 
																			२४ पुस, काठमाडौं । पछिल्लो समय नेपालको प्रमुख निर्यातजन्य वस्तुका रुपमा रहेको प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएको छ । यसले नेपाली व्यवसायीको अर्बौंको लगानी जोखिममा परेको छ ।
पाम तेल निर्यात बन्द हुँदा अर्थतन्त्रमै गम्भीर नोक्सानी पुग्ने भन्दै समिक्षा थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अनलाइनखबरलाई बताए ।
‘पाम तेल निर्यातमा प्रतिबन्ध लागेको कुरा जानकारीमा आएको छ, हामी बिहानैदेखि छलफलमा जुटेका छौँ,’ राज्यमन्त्री दुगडले भने । नेपाली व्यवसायीले कच्चा पाम तेल आयातमा अर्बौं लगानी गरिसकेको भन्दै उनले भारत सरकारको निर्णयले पर्ने असर र अबको बाटोबारे छलफल थालिएको जानकारी दिए ।
अर्थमन्त्रालयले भने पाम तेल निर्यात प्रतिबन्धबारे औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ ।
‘भारतले पाम तेल आयात रोक्यो भन्ने हामीले सुन्यौं, तर भन्सारमार्फत कुनै औपचारिक जानकारी मन्त्रालयलाई प्राप्त भएको छैन,’ अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने ।
पाम तेलको निर्यात बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव देखिने हुनाले आजैबाट गम्भिर छलफल थालिने पनि उनले बताए ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले पाम तेल आयात रोकेकोबारे कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए ।
व्यापर विज्ञ डा.पोषराज पाण्डे भने नेपालको अर्थतन्त्रको सम्भावित जोखिम घटाउन भारतीय निर्णय राम्रो भएको बताउँछन् ।
‘केही परिवारको व्यापारिक हिस्सा बनेको पाम तेल आयात–निर्यातको अस्वाभाविक गतिविधि सरकारले राजश्वको लोभमा रोकेको थिएन, भारतको यो निर्णय आउन्ने निश्चित जस्तै थियो,’ उनले भने । सरकारलाई एक अर्ब राजश्व र केही परिवारको ब्यापार सुक्ने बाहेक ठूलो कुनै असर नेपाली अर्थतन्त्रमा नपर्ने उनको दाबी छ ।
भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ । काश्मिर मुद्धामा मलेसियाका प्रधानमन्त्रीले भारतबिरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले बुधबार पाम तेलको आयत रोक्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा सबैभन्दा बढि पाम तेलको निर्यात मलेसियाबाट हुन्छ ।
गत सेप्टेम्बरमा संयुक्त राष्ट्रको महासभामा बोल्दै मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले नयाँ दिल्लीले काश्मिर हडपेको बताएका थिए । द डिप्लोम्याट म्यागजिनले काश्मिर मुद्धामा दुई देशबीच रहेको असमझदारी पाम तेलमा पोखिएको जनाएको छ ।
भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा हार्मोनी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्ने बताइएको छ ।
संकटमा उद्योगी
भारतले प्रशोधित पाम तेल आयात रोकेपछि उद्योगी व्यवसायीहरु लगानी डुब्ने चिन्तामा परेको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले अनलाइनखबरलाई बताए । घिमिरेका अनुसार मोरङमा मात्रै पाम तेल प्रशोधन गर्ने एक दर्जन उद्योगहरु छन् ।
‘व्यवसायीले एउटा उद्योगका लागि ६० करोडसम्म लगानी गरेका छन् भने कच्चा पदार्थको लागि पनि धेरै रकम गइसकेको छ,’ उनी भन्छन्, ‘एलसी खोलेको धेरै कच्चा पदार्थ बाटामै छन् भने प्रशोधनपछि निर्यातका लागि तयारी अवस्थामा रहेको तेल रोकिने भएपछि व्यवसायीहरु छट्पटाएका छन् ।’
पाम तेल निर्यात स्थिति
चालु आर्थिक वर्षको पाँच महिना नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको प्रशोधित पाम तेल भारत निकासी गरिसकेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ३५ करोड रुपैयाँको निकासी गरेको थियो । चालु आर्थिक वर्षको कुल निर्यातमा २४.२५ प्रतिशत हिस्सा पाम आयलको रहेको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले १० अर्ब १२ करोडको पाम तेल आयात गरेर ११ अर्ब ५५ करोड रुपैयाँको निकासी गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा नेपालबाट १० अर्ब ३३ करोडको पाम तेल निर्यात भएको थियो । जबकि आर्थिक वर्ष ०७४/७५ मा पाम तेलको निर्यात १२ करोड ५८ लाख रुपैयाँ बराबरको मात्रै थियो ।
पाम आयलको सबैभन्दा ठूलो आयतकर्ता राष्ट्र भारत हो । भारतले एक वर्षमा करीब १ करोड ५० लाख टन पाम आयल आयमत गर्ने गरेको द इकोनोमिक्स टाइम्सले लेखेको छ । तर भारतमा पाम आयल तीन लाख टन मात्रै उत्पादन हुन्छ ।
बढ्दो आयतसँगै भारत सरकारले पाम तेल आयातको भन्सारदर तथा परिमाणलाई पटक पटक परिवर्तन गरिरहेको छ । अघिल्लो वर्षको मार्चमा भारतले एक दशककै सबैभन्दा उच्च मात्रामा करको दर बढाएको थियो । कच्चा तेलमा प्रतिटन ५ डलर र रिफाइनरीमा प्रतिटन ९ डलर भन्सार दर कायम गरिएको थियो ।
यस्तै गत अघिल्लो वर्ष पुष १६ गते भारतले एसिआन मुलुकबाट पाम तेल आयातको मात्रा घटाउने निर्णय गरेको थियो । दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसिया, मलेसियाबाट भइरहेको कुल कच्चा आयतको ४४ प्रतिशतको हिस्सालाई ४० र रिफाइनरीको ५४ प्रतिशतको हिस्सा ४५ प्रतिशतमा झार्ने निर्णय गरेको थियो ।
भारतमा पाम तेलको मागभन्दा आयातको सीमा र भन्सारदरमा पनि परिवर्तन भइरहेपछि व्यवसायीले नेपाली बजारबाट तेल किन्न थालेका थिए । साथै, इण्डोनेसिया र मलेसियाबाट प्रशोधित पाम तेल आयात गर्दा भारतीय लगानीकर्तालाई ४० प्रतिशत भन्सार शुल्क लाग्छ । तर नेपाली आयातकर्ताले १० प्रतिशत भन्सार तिरेर ती मुलुकबाट तेल आयात गर्न सक्छन् ।
नेपालमा केही प्रतिशत मूल्य अभिवृद्धि भएपछि सौविध्यपूर्ण बजार सुविधा अन्तर्गत नेपालबाट भारतमा तेल निर्यात गर्दा भन्सार लाग्दैन । सिधै इन्डोनेसिया र मलेसियाभन्दा नेपालबाट लिँदा सस्तोमा पाइने भएपछि नेपालको बाटो हुँदै पाम तेल भारतीय बजारमा जाने क्रम तीव्र भएको थियो ।
के हो पाम आयल ?
यो एक प्रकारको वनस्पतिजन्य तेल हो । अफ्रिकी मुलुकमा उत्पत्ति भएको यो तेल हाल इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन गरिन्छ ।
एउटै वनस्पतिबाट कच्चा पाम तेल र पाम केर्नल दुई प्रकारको तेल उत्पादन गरिन्छ । यस्तो तेल कुल उत्पादनको ८५ प्रतिशत हिस्सा इन्डोनेसिया र मलेसियाले ओगट्छ । तर यो तेलको उत्पादन विश्वका ४२ देशमा पनि हुने जनाइएको छ ।
इन्डोनेसियाको बोर्नियो टापुमा पाम खेतिका लागि जंगल फडानी तीव्र हुँदा त्यहाँ पाइने गोरिल्ला लगायतका वन्यजन्तु लोप हुन थालेको भन्दै अन्तर्राष्ट्रिय संघ–संस्थाले आपत्ति जनाएका छन् ।
सूर्यमूखी र सोयाबिन तेलजस्तै गरी पाम आयलको प्रयोग पनि दक्षिण एसियाली मुलुक र अफ्रिकामा ब्यापक रहेको पाइन्छ । कुनै पनि पकाएको वस्तुलाई अलि लामो आयु दिन तथा झुरुम्म बनाउनका लागि पाम आयल उपयोगी हुने गर्छ ।
पाम तेल पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिक लगायतका सामाग्री बनाउन अत्यधिक प्रयोग हुन्छ । विश्वको कुल वनस्पतीजन्य तेल मागको ३५ प्रतिशत हिस्सा कुल १० प्रतिशत जमिनबाटै पाम आयलले गरिरहेको बताइन्छ ।
नेपालमा प्रतिलिटर एक सय रुपैयाँभन्दा बढी पर्ने उक्त तेल विभिन्न खाद्य तेल उत्पादक कम्पनीहरुले आयात गरेर भारतमा निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4