+
+

कोशी अस्पताल सुधार्ने डा. लोहनीलाई पाँच महिनामै सरुवा पूर्जी

हरि अधिकारी हरि अधिकारी
२०७६ पुष २४ गते १०:०२

२४ पुस, विराटनगर । कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. गुणराज लोहनीको पाँच महिनामै सरुवा भएको छ । कोशी अस्पताल आएको छोटो अवधिमै उनले सेवा प्रवाह र सरसफाइमा उल्लेख्य सुधार ल्याएका थिए ।

गत साउन दोस्रो साता सरुवा भएका लोहनी भदौ १ गतेदेखि कोशी अस्पतालमा हाजिर भएका थिए । तर, २१ पुसमा लोहनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा तानेको छ ।

उनले कोशी अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीको ड्युटी, ल्याब, ओपीडी टिकट वितरणलगायतका सेवा प्रवाह तथा सरसफाइमा सुधार ल्याएका थिए । छोटो अवधिमै उल्लेख्य सुधार ल्याएपछि उनलाई स्थानीयबासीले ‘कोशीका कुलमान’ उपमा दिएका थिए ।

हाजिर भएलगतै अस्पतालको सरसफाइ ध्यान दिएका लोहनी प्रत्येक दिन बिहान आफैं झाडू लिएर सरसफाइका लागि निस्कन्थे । ड्युटीमा कडाइ गरेका उनले साढे १० बजेभन्दा ढिलो आउने कर्मचारी र चिकित्सकलाई हाजिर गर्न दिँदैनथे । ओपीडीमा पूर्जी काट्ने पट्यारलाग्दो लाइन हटाउन उनले छुट्टै दुईवटा काउन्टरको व्यवस्था मिलाएका थिए ।

चिकित्सकलाई नियमित उपस्थिति र कार्यालय समय भरी अस्पतालमै बस्ने गरी सामूहिक प्रतिवद्धता गराएपछि लोहनीसँग निजी क्लिनिक र अस्पतालमा आवद्ध केही चिकित्सक तथा कर्मचारी असन्तुष्ट थिए ।

गत मंसिर २५ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अस्पतालको अनुगमनमा आएका थिए । अस्पतालमा देखिएको समस्या र सुधारका प्रयासबारे लोहनीले ढकाललाई ब्रिफिङ गरेका थिए । अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री ढकालले अस्पताल सुधारमा आफूले सहयोग गर्ने बताउँदै पछि नहट्न लोहनीलाई निर्देशन दिएका थिए । तर मन्त्रीले निर्देशन दिएको महिना दिन बित्न नपाउँदै लोहनी काजमा तानिएका छन् ।

दुई करोड चलखेलको हल्ला

अस्पताल सुधारको काम गरिरहेका लोहनीले सरकारले गरेको निर्णयलाई स्वीकार गर्ने बताए । आफ्नो सरुवाका लागि विराटनगरमा दुई करोड उठाएको जानकारी आफूलाई आएको बताउँदै उनले इञ्चार्जले काम गर्दा कुनै स्थानमा बस्ने निश्चित समय नहुने बताए । ‘यहाँ रहँदा काम गर्ने प्रयास गरेँ,’ लोहनी भन्छन् ‘केही सुधार पनि भएका छन् ।’

‘अली अगाडि एकजनाले दुई करोड उठाए भनेर सुनाउदै थिए,’ उनले थपे, ‘ठट्टा गरेको जस्तो मात्र लाग्या थियो ।’

चिकित्सक र कर्मचारीलाई हसिलो सेवा प्रदान गर्ने सामूहिक प्रतिवद्धता गराएर ठाउँ-ठाउँमा प्रतिवद्धताको फोटो टासेका लोहनीले बिहीबार काठमाडौं जाने योजना रहेको बताए ।

डा. लोहनी हठी स्वभावका मानिन्छन् । गत वर्ष भदौमा स्वास्थ्य सेवा विभागले एकमुष्ठ १६ सय बढी स्वास्थ्यकर्मीको सरुवा गर्दा तत्कालीन प्रदेश ७ स्वास्थ्य निर्देशनालय डोटीमा निर्देशक रहेका लोहनीले रमाना दिन नसकिने जवाफ दिएका थिए । प्रदेश ७ का कतिपय स्वास्थ्य संस्था नै रित्तो हुने गरी हचुवामा सरुवा गरिएको भन्दै उनले विभागलाई पत्र लेखेर सरुवाको निर्णय कार्यान्वयन गर्न नसकिने जवाफ पठाएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?