Comments Add Comment

सञ्चारमन्त्रीलाई गगनको काउन्टर : विधेयक नपढी आयो भनेर हेप्नी ?

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकबारे सडकदेखि सदनसम्म छलफल गर्न आफूहरु तयार रहेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी आलोचना गरिएको बताएपछि थापाले विधेयकमाथि बहस गर्न चुनौती दिएका हुन् ।

‘माननीय मन्त्रीजीले विधेयक नपढी आयो  भन्नुभएछ। यो विधेयकमा कहाँ छलफल गर्नेमन्त्रीजी, सिंहदरबारमा गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघर मण्डलामा गर्ने हो कि तपाईको कार्यालय धुम्बाराहीमा ?’ विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार आयोजना गरेको कार्यक्रममा सांसद थापाले भने, ‘यो विधेयकको दफादफा, शब्दशब्दमा छलफल गर्न तयार छौं ।’

पढेर विधेयकको विरोध गरेको भन्दै उनले सञ्चारमन्त्रीकै शैलीमा भने, ‘नपढी आयो भन्ने हेप्नी ?’

जिस्काउन पाइँदैन भनेर सरकारले विधेयक ल्याएको र त्यसमा सुधार गरेर निरन्तर जिस्काउन पाइँदैन भनेर लेखिएको भन्दै उनले यसले बोल्न लेख्न रोक लगाउने बताए ।

उनभन्दा अगाडि बोलेका कांग्रेस नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली यति होल्डिङको सीईओ भनेको स्मरण गर्दै कांग्रेस सांसद थापाले यही कुरा एक पटक भन्दा छुट दिने र फेरि भन्यो वा सामाजिक सञ्जालमा लेख्यो भने निरन्तर जिस्क्यायो भनेर ५ वर्षसम्म जेल हाल्ने दाबी गरे । उनले अघि भने, ‘बोल्न लेख्न पाउने हक सरकार संरक्षित अरिङ्गाललाई मात्र रहन्छ ।’

प्रधानमन्त्री कायर भएकाले यस्तो कानून आएको उनको तर्क छ । नेता थापाले भने, ‘प्रधानमन्त्री अस्वस्थ हुनुहुन्छ । म स्वास्थ्य लाभको कामना गर्छु । तर हामी सबैलाई थाहा छ, उहाँ साँझ २/३ घन्टा सामाजिक सञ्जाल हेर्नुहुन्छ । त्यो पढ्दै गर्दा जब प्रश्न गरेको, आलोचना गरेको देख्नुहुन्छ, सहज सक्नुहुन्न ।’

‘म काम गरेर जवाफ दिन्छु, कामबाटै आलोचना गर्नेहरुको मुख बन्द गरिदिन्छु भन्ने हिम्मत प्रधानमन्त्रीसँग रहेन । त्यसैले अरिङ्गालहरु आऊ, झम्टिओ भन्नुभयो । आए, झम्टिए तर स्वतन्त्र नागरिक डराएनन् । त्यसपछि यने कानून आएको छ ।’

सरकारले सूचना प्रविधि विधेयक ल्याएर नागरिकलाई तार्साउन खोजिएको र ५ वर्षसम्म जेल हुने व्यवस्थाले नागरिकहरुलाई बोल्न बञ्चित गर्दै लैजाने उनले बताए ।

यो विधेयक जस्ताको तस्तै पारित भएमा सरकार र सत्तारुढ पार्टीको गुणगान गाउनेहरु मात्र टिक्ने भन्दै उनले सत्तारुढ नेकपा नेताहरुको पनि ध्यानाकर्षण गराए ।

‘हामीले चाहेको व्यवस्था त तपाईँले केपी ओली मात्र होइन, शेरबहादुर देउवा र मलाई पनि प्रश्न गर्न पाउने हो, सबैले एकअर्कालाई प्रश्न गर्न पाउने हो, फरक मत राख्न पाउने हो’ उनले भने, ‘तपाई पनि सोच्नुहोला । यो विधेयक बन्दा हामी मात्र होइन, भीम रावल, रामकुमारी झाक्रीहरु पनि थुनिने हो ।’

‘जसले श्री ६ बडामहारानी विद्या भण्डारीको जय ! श्री ५ प्रधानमन्त्री केपी ओलीको जय ! श्री ३ प्रचण्डको जय भन्छन्, उनीहरु मात्र टिक्छन् । बाँकी गयो’ उनले भने ।

यो विधेयकका विरोधमा आफूहरु संसदमा लडिरहेको तर बहुमतले पारित हुनसक्ने भन्दै उनले सडकबाट पनि दबाव दिन आग्रह गरे । ‘संख्यात्मक हिसाबले हामी कम छौं, हामीले मात्र चाहेर रोक्न सक्दैनौं, अंकगणित उनीहरुको छ, बहुमतले पारित गर्न सक्छन्, सडकको साथ चाहियो’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment