Comments Add Comment

बूढानीलकण्ठ दुर्घटनाः नायिका परमिता राणा पनि कारमा भएको पुष्टि

२३ पुस, काठमाडौं । गत मंसिर अन्तिम साता बूढानीलकण्ठमा दुर्घटना भएको कारमा नायिक परमिता राणा पनि सवार रहेको खुलेको छ । राणाले घटनाको तीन सातापछि फेसबुकमा स्टाटस लेख्दै कारमा आफू पनि रहेको स्वीकारेकी हुन् ।

यसअघि २८ मंसिरमा बूढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्करबाट दिँदा पैदलयात्रु गोरखा घर भइ विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका चालक २१ वर्षीय पृथ्वी मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकोटाको मृत्यु भएको थियो ।

कारमा मल्लसहित करिश मास्के, एलिना थापासहित अर्की एक जना युवती रहेको बताइएको थियो । ती युवती नायिका राणा रहेको चर्चा भए पनि प्रहरीले पुष्टि गरेको थिएन ।

उनले फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छन्, ‘चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको छ । म चाहन्छु कि यो सत्य नभइ एक डरलाग्दो सपना होस्, तर म पनि कारभित्रको एक यात्रु थिएँ ।’

उनले यो बताउन ढिलाइ गरेकोमा पनि माफी माग्दै भनेकी छन्, ‘मलाई त्यो दुर्भाग्यपूर्ण घटनाले धरै आघात पुर्‍याएको छ । यो घटनाले मेरो जीवन नै पूर्णतः परिवर्तन गरिदिएको छ ।’

उनले सर्वसाधारणको भावना र पीडित परिवारकै पक्षमा आफू पनि उभिएको बताउँदै आफ्नो बुबाको निधन भएको पुरानो घटना पनि स्मरण गरेकी छन् ।

‘मैले पनि दुई वर्षको हुँदा बुबालाई कार दुर्घटनामा गुमाएकी थिएँ, त्यसयता म पनि बुबा पीडा र क्रोधका साथ बाँचिरहेको छु’, राणाले लेखेकी छन्, ‘व्यक्तिगत रुपमा मलाई चिन्नेलाई थाहा छ कि म किरालाई पनि चोट पु¥याउन सक्दिनँ । म दयालुपन नै दुनियाँमा सबैभन्दा ठूलो कुरा हो भनेर हुर्किएकी हुँ ।’

उनले घटनामा महिलाको मृत्यु भएको घरमा आइपुगेर मात्र थाहा पाएको बताएकी छन् । घटनालगत्तै आफूले के गर्ने भन्ने सोच्नै नसकेको उनले उल्लेख गरेकी छन् ।

‘मेरो साथीले बाहिरको वातावरण हेरेर आउँदा पनि मैले केही सोच्नै सकेको थिइन । एक्कासीले उसले हात समातेर बाहिर तानेर भागभन्दा मात्र म झसंग भएँ’, उनले भनेकी छन्, ‘बाहिर निस्किएर पनि के गर्ने भन्ने थाहा नपाएर म छेउमै उभिइरहेँ ।’

बाटो छेउमा आएर पहिलो पटक आमालाई फोन गर्दा नउठेको उनले बताएकी छन् । त्यसपछि एक जना स्थानीयले आएर त्यहाँ बस्नु सुरक्षित हुँदैन भनेर आफूलाई अन्यत्र लगेको र ट्याक्सीमा चढेर घरसम्म पुगेको राणाले उल्लेख गरेकी छन् ।

राणाले यो घटनाबाट ठूलो पाठ सिकेको बताउँदै सर्वसाधारणलाई राति बाहिर निस्किएपछि बिहानै नफर्किन पनि आग्रह गरेकी छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कार चालक मल्लविरुद्ध सवारी ज्यानसम्बन्धी कसूरमा सजाय माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment