Comments Add Comment

काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई चीन पठाइयो

२३ पुस, काठमाडौं । नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई आइतबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चार्टर्ड विमान चाइना इस्टर्न र वेस्टर्नमा राखेर उनीहरुलाई चीन लगिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकु मातहतका विभिन्न प्रहरी युनिटका हिरासतमा राखिएका चिनियाँ नागरिकलाई बसमा राखेर विमानस्थलसम्म लगिएको थियो ।

यसअघि काठमाडौंको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो । जसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक हजार रुपैयाँ जरिवाना तिराउने आदेश दिएका थिए ।

लगत्तै, अध्यागमन ऐन अनुसार कारबाहीका लागि भन्दै १२२ चिनियाँलाई अध्यागमन विभाग बुझाइएको थियो । विभागले एक र दुई हजार रुपैयाँका दरले जरिवाना सजाय तोकेको थियो । जरिवाना वापतको रकम मंगलबार नेपालस्थित चिनियाँ दूतावासले तिरिसकेको छ ।

पक्राउ परेकाहरु चिनियाँ नागरिक नेपालमा बसेर चीनविरुद्ध साइबर अपराध गर्दै आएको चिनियाँ अधिकारीहरुको दाबी छ । तर, नेपाल प्रहरीले गरेको अनुसन्धानले भने चिनियाँ नागरिकको कुनै कसूर देखिएको छैन ।

यसअघि प्रहरी अधिकृतहरुले चार महिना लामो तयारीपछि नेपाल र चीनले संयुक्त अपरेशन चलाएको जनाएका थिए ।

यो पनि पढ्नुहोस चिनियाँको आम गिरफ्तारीले उब्जाएको प्रश्न

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment