
२० पुस, काठमाडौं । नेपाल र चीनको संयुक्त अपरेशन भनिएको कारबाहीमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिक अध्यागमन विभागको नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार अभद्र व्यवहार सम्बन्धी कसुरमा एक हजार रुपैयाँ धरौटी तिरेर छाड्न आदेश दिएको थियो । तर, काठमाडौं प्रहरी परिसर टेकुले आदेश लगत्तै अध्यागमनमा बुझाएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘उनीहरुले अध्यागमन सम्बन्धी कानून उल्लंघन गरेकाले विभागको जिम्मा लगाइएको हो ।’ सुवेदीका अनुसार पक्राउ परेका मध्ये ३० जनासँग मात्र पासपोर्ट छ । त्यसैले अन्य सबै अनाधिकृत रुपमा नेपाल बसेको ठहरिन्छ ।
बाँकी रहेकाले पनि पर्यटक भिसामा अन्य गतिविधि गर्नू अध्यागमन कानून विपरित रहेको सुवेदीको भनाइ छ । ‘थप कसुर विभागको अनुसन्धानले नै खुलाउला’, उनले भने ।
विभागका महानिर्देशक ईश्वरराज पौडेलले अनलाइनखबरसँग भने, ‘भोलिदेखि चिनियाँ नागरिकमाथिको थप प्रक्रिया सुरु हुन्छ ।’
स्रोतहरूले विभागले अनुसन्धानपछि १ सय २२ जनालाई देश निकाला गर्ने निर्णय गर्ने दाबी गरेको छ । तर, पौडेलले यसबारे बोल्न चाहेनन् ।
नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरी दाबी थियो ।
प्रतिक्रिया 4