Comments Add Comment

एक हजार रुपैयाँ जरिवाना तिरेर छुटे १२२ चिनियाँ नागरिक

२० पुस, काठमाडौं । नेपाल प्रहरीले चीनसँग समन्वय गरेर ७ पुसमा काठमाडौंमा संयुक्त अपरेशन चलायो र एकैदिन १२२ चिनियाँ नागरिक पक्राउ गरियो ।

यसरी पक्राउ परेका चिनियाँ नागरिक मात्र एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार जरिवाना तिराएर छाड्न आदेश दिएको हो ।

चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनलाइनखबरलाई बताए । दाहालले दिएको आदेशमा भनिएको छ, ‘प्रतिवादीले आरोप सकारेको हुनाले थप बुझ्नु पर्ने देखिएन ।’

अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।

जबकी नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment