Comments Add Comment
साहुबाट लुटिएका करपुरी ठाकुरको कथा :

जब कलियुगका रामबाबु ‘हराम’ बनेर निस्किए !

पुर्ख्यौली जायजेथा सकियो, मलेसियामा बगाएको पसीना सुक्यो

२४ पुस, काठमाडौं । सर्लाहीका करपुरी ठाकुर अहिले कन्पारामा हात राखेर झोक्राउँदैछन् । जे भोग्दैछन्, यो उनलाई सपनाजस्तो लागिरहेको छ ।

‘के मैले साहुलाई कुनै दिन लाखौं लाख रुपैयाँ बुझाएको हुँ ? के महोत्तरीको १८ कठ्ठा जग्गा बिक्री गरेको २० लाख रुपैयाँ यही हातले समाएका हुन् ? के मैले वागमती नगरपालिका-७, सर्लाहीमा डेढ बिघा जमीन किनेकै हुँ त ?’ अनि मलेसियामा तीन भाइले वर्षौंसम्म कमाएको हिसाब खोई ?

पुरापूर सपनामा छन् ४० वर्षीय करपुरी ठाकुर ।

होइन, कुरपुरी आफैंले गरेका हुन् यी सब कर्महरु । तर, यी सब बिजुली चम्किएजस्तो भयो उनको जीवनमा । खुशी झिलिक्क बल्यो र जीवनलाई नै अन्धकार बनाएर छिनभरमै निभ्यो ।

यदि सर्लाही बरतहवामा साहु रामबाबु यादव हुन्थेनन् भने सायद अहिले उनको अनुहार यसरी चाउरिएको कागतीजस्तो हुने थिएन । रसिलो अनारजस्तो हुन्थ्यो कि ! यति त पक्का हो, दुनियाँका अगाडि दुःख चुहाउँदै हिँड्नुपर्ने थिएन । बोर्डिङ स्कुलमा शुल्क बुझाउन नसक्दा छोराले परीक्षा दिनबाट बञ्चित हुनुपर्ने थिएन ।

ठाकुर । जात अनुसार पेसा – दह्री, कपाल काट्ने ।

करपुरीले पनि सानै उमेरदेखि यही पेसा अंगाले । स्कुल जाने उमेरमा उनका कलिला औँलाले काठमाडौंका शैलुनमा कैंची चलाउन थाले । कैंची चलाउँदै उनी जवान बने ।

शैलुनमा आउने हजारथरी मानिसको कपालमा कैंची र काइँयो खेलाउँदा खेलाउँदै करपुरी शैलुनमा पारङ्गत भए र आफ्नै शैलुन खोले ।

साथमा उनका दुईजना भाइ थिए । उनीहरुलाई पनि रौटहटबाट नाइट बस चढाएर काठमाडौंमै ओराले । जिन्दगी मस्तसँग चल्दै थियो । एक शैलुन, तीन दाजुभाइ ।

माइला भाइको मलेसियाको भिसा लाग्यो । त्यो पनि कपाल काट्ने कामकै लागि । कमाइ पनि खुब राम्रो । कहिलेकाँही त महिनाको ८० हजारसम्म उनको हातमा पथ्र्यो ।

केही समयपछि कान्छो भाइ पनि मलेसिया नै पुगे । उनको पनि कमाइ ४० देखि ५० हजारसम्म हुन्थ्यो । यता करपुरीले पनि राम्रै रकम जम्मा गरेका थिए ।

करपुरीलाई लाग्यो- अब गाउँ र्फकनुपर्छ । तर, उनलाई आफ्नो गाउँ रौटहटमा बस्न मन थिएन । भाइहरुसँग सल्लाश गरे र सर्लाहीमा जग्गा हेरे । करपुरी अनलाइनखबरसँग भन्छन्, ‘१८ वर्ष पहाडमा बिताएको मान्छे हुँ सर ! काठमाडौंको कपनमा मेरो आफ्नै शैलुन थियो ।’

करपुरीले सर्लाहीको वागमती नगरपालिकामा डेढ बिघा जमिन किन्न छिनोफानो गरे । भाइहरुको आँटमा यति ठूलो निर्णय गरेका थिए करपुरीले । पैसा आउन एक महिना ढिलो हुने भयो । तर, पैसा त अहिले नै चाहिएको छ । त्यहीबेला सर्लाहीमा कुरपुरीको भेट भयो महेन्द्र साहसँग ।

महेन्द्र साहले भने, ‘तिमीलाई म साहुसँग भेटाइदिन्छु । एकदमै राम्रो मान्छे छ । तिमीले रौटहटको जग्गा बेचेर अहिले पैसा दिए हुन्छ, अरु पछि दिए पुग्छ ।’ करपुरीलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।
महेन्द्रले करपुरीलाई रामबाबु राय यादवसँग भेटाए ।

रामबाबुको चमक-धमक नै अर्कै । कुरपुरीले सुनेका थिए रामबाबुसँग त पुरै जिल्लै किन्ने पैसा छ रे ! नेपालमा मात्र होइन, भारतमा समेत उनको बंगला छ रे ।

अब रामबाबुले करपुरीसँग भने, ‘ठीक छ, मैले तिमीलाई ४० लाख ऋण दिन्छु । त्योभन्दा पहिला तिम्रो जग्गा मेरो नाममा पास गरिदिनु । तिमीले पैसा फिर्ता गरेपछि मैले जग्गा फिर्ता गरिदिन्छु ।’

करपुरी त सोझो मान्छे, सहमत भए । २०७० साल चैत ९ गते मलंगवा गए र रामबाबुकी श्रीमती उर्मिलादेवीका नाममा जग्गा पास गराए । रामबाबुले, ‘३९ लाख ९९ हजार ५०० सय रुपैयाँ करपुरीलाई बुझाए ।’ त्यो किनभने मलंगवासम्मको गाडी भाडाको ५ सय रुपैयाँ रामबाबुले ४० लाखबाटै कटाएका थिए ।

रामबाबुबाट लिएको सबै रकम करपुरीले जग्गाधनीको हातमा थमाइदिए । र, रौटहतको पुर्खौली जग्गा विक्री गर्न लागि परे । रौटहतको १८ कट्ठा सम्पत्तिबाट करपुरीले २० लाख रुपैयाँ हात पारे ।

करपुरी खल्तीबाट पुरानो कापी निकालेर रामबाबुले लेखिदिएको मिति र अक्षर देखाउँदै भन्छन्, ‘यहाँ पढ्नुस् त २० लाख रुपैयाँ मैले २० दिनमै बुझाएको छु ।’

करपुरीले भाइहरुलाई पैसा पठाउन भनिरहे । र, ०७१ बैशाख २५ गते चार लाख रुपैयाँ बुझाए । असोज २ गते दुई लाख रुपैयाँ बुझाए । कात्तिक २० गते तीन लाख ६० हजार बुझाए । तर, रामबाबुको कपीमा ३६ हजार मात्र लेखिएको छ ।

साहु रामबाबुलाई करपुरीले भुक्तानी गरेको विवरण । लाखमा बुझाएको कतिपय रकम करपुरीको व्यक्तिगत खातामा रामबाबुले हजारमा लेखिदिएका छन् ।

करपुरी मुख झन अँध्यारो बनाउँदै भन्छन्, ‘पढे लेखेको छैन हजुर । यो सब उसैले लेखेको हो ।’

उनले फेरि ३० कात्तिकमा तीन लाख रुपैयाँ बुझाए । तर, उनको खातामा तीस हजार मात्र लेखिएको छ । ‘मैले लाखभन्दा तलको पैसा नै दिएको छैन । हजार रुपैयाँ त्यो साहुले कहाँ लिन्छ ?’, करपुरी भन्छन्, ‘मैले बैंकबाट निकालेको र भाइहरुले पैसा निकालेको सबै बैंकको सबै कागज छ मसँग ।’

उनी थोत्रो भिर्ने झोलाबाट बैंकका पित्र भैसकेका असरल्ल रसिदहरु देखाउँछन् ।

मंसिर २३ मा फेरि उनले दुई लाख बुझाए । तर, रामबाबुले उनको डायरीमा एउटा सुुन्ना घटाएका छन् । २५ गते पाँच लाख बुझाए । जहाँ पाँच लाख नै लेखिएको छ । फेरि माघ ८ मा चार लाख बुझाए । अनि फेरि रामबाबुले भनेअनुसार नै सात लाख बुझाए । तर, करपुरीको खातामा रामबाबुले ७ हजार रुपैयाँमात्र असुलेर लेखिदिएका छन् ।

कपुरीलाई लाग्यो, अब त साउँ-ब्याज सबै चुक्ता भैसक्यो । त्यसैले उनले भने, ‘मैले तपाईको सबै पैसा दिइसकें हजुर । अब मेरो जग्गा फिर्ता गरिदिनुस् ।’

रामबाबु करपुरीलाई लिएर मलंगवा पुगे । तर, उनले १० कट्टा जग्गा मात्र करपुरीका नाममा पास गरे र भने, ‘साउँ ब्याज गरेर अझ आठ लाख रुपैयाँ लिन बाँकी छ । त्यो रकम दिएपछि बल्ल एक विघा जमीन तिम्रो नाउँमा पास गरिदिन्छु ।’

ओहो ! अझै आठ लाख बाँकी ? उनलाई जसरी पनि त्यो एक विघा जमीन फिर्ता लिनु थियो ।

अब भाइहरुले पनि विदेशबाट पैसा पठाउन छाडे । करपुरीले १० कट्ठा जमीन बैंकमा राखे र साढे आठ लाख रुपैयाँ ऋण निकाले । अनि रामबाबुसँग गएर भने, ‘ल साहुजी अब त्यो जग्गा पास गरिदिनुस् ।’

रामबाबुले त्यो साढे आठ लाख झोलामा राख्दै भने, ‘ब्याज हिसाव गर्दा अझै तीन लाख रुपैयाँ लिन बाँकी रहेछ ।’ करपुरीले रुँदै विनय गरे, ‘होइन हजुर, मैले सबै पैसा दिइसकेँ । जग्गा दिनुस् । मेरा भाइहरुले मार्छन् मलाई ।’

यस्ता आँशुले कहाँ पग्लिन्छ रामबाबुको मन । उनीजस्ता त हजारौँको आँशुको स्वाद हाँसीहाँसी चाखिसकेका छन् उनले ।

अब करपुरीलाई आपत पर्‍यो । उनीसँग एउटा भैंसी थियो । ६५ हजारमा बिक्री गरे । अनि एक हल पाडा थिए, ती ४० हजारमा बिक्री गरे । अनि भण्डारामा भएको शैलन छोडेर साहुको तीन लाख रुपैयाँ जुटाउनका लागि ०७३ को अन्त्यतिर मलेसिया हानिए ।

मलेसियामा करपुरी तालुको कपाल खस्ने गर्मीमा रातदिन काम गर्थे । तर, महिनाको ४० हजार रुपैयाँभन्दा बढी बचेन । उनी एक वर्षमै घर फर्किए ।

तर, घर फर्केर तीन लाख रुपैयाँ बोकेर रामबाबुकहाँ पुग्दा त उनी छाँगाबाट खसेजस्तै भए । उनले रामबाबुलाई भेटेनन् । मात्र उनको माथिङ्गलमा भूकम्प जाने खबर लिएर फर्किए । रामबाबुले त उनको जग्गा ०७५ कात्तिकमा ३२ लाख १५ हजार रुपैयाँमा बिक्री पो गर्दिइसकेछन् ।

साहु रामबाबुलाई बुझाएको रकमको बैंक भौचर देखाउँदै करपुरी ।

अब करपुरीको काम नै बिहान उठेपछि रामबाबुलाई फोन लगाउने हुन थाल्यो । एक त उनको फोन उठ्दै उठ्दैनथ्यो । उठिहाल्यो भने रामबाबुले भन्थे, ‘मलाई हतार छ, काठमाडौंमा घर बनाउँदैछु पछि भेटौलाँ ।’

करपुरी जीवन धान्नका लागि पुरानै पेसामा फर्किए । दैनिक एक हजार जति रुपैयाँ आम्दानी हुन्थ्यो । करपुरी पुसमा देश फिरेका थिए, १२ भदौ ०७६ उनका बुबा बिते ।

करपुरी आँखा टिलपिल पार्दै सुनाउँछन्, ‘त्यही ऋण र सम्पत्तिको टेन्सनले हट एट्याक भएर बुबा बित्नुभयो । ५५ वर्षको मान्छे, बित्नेबेला भएको थिएन ।’

तर, अहँ ! रामबाबु भेटिँदै भेटिएनन् ।

एकपटक बरथवामा करपुरीले रामबाबुलाई झ्याप्प देखे । भने, ‘मेरो जग्गा बाँकी छ भनेर विदेश गएँ, मजस्तो मान्छेलाई किन यसो गर्नुभयो ? मेरा भाइहरुले मलाई मार्न आँटिसके ।’

रामबाबु जंगिए – ए भाइ, मैले तेरो हिसाब बिर्सिसकेँ । त्यतिबेला तेरो हिसाब बाँकी बसेको थियो । एक वर्ष बाहिर बसिस् तेरो बाबासँग कुरा गरेर बेचिसकेँ ।

करपुरीको अनुहार यति मलीन भएको छ कि आँखा मात्र चहकिला छन् । उनी आँखाले नै बोलेजसरी मुखबाट आवाज निकाल्छन्, ‘अझै मसँग १२ लाख रुपैयाँको तमसुक बनाएको छ । पैसा फिर्ता नगरे मुद्दा हालिदिन्छु भनेर धम्की दिएको छ ।’

करपुरीकै अनुसार उनले अहिलेसम्म एक करोड १० लाख ५० हजार रुपैयाँ रामबाबुलाई बुझाइसकेका छन् । उनी जुन जग्गामा बसिरहेका छन् । त्यो घर पनि बैंकको लोनमा छ । करपुरीको स्वर लर्बरिन्छ, ‘बैंकमा अहिलेसम्म साँवा ब्याज केही तिरेको छैन । १२ जनाको परिवार छ । श्रीमतीले कोदालो चलाएर र मैले कपाल काटेर पालिरहेको छु ।’

उनका भाइहरु पनि विदेशबाट फर्किसके । माइलो भाइले ९ वर्ष र कान्छोले ६ वर्ष मलेसियामा बगाएको पसिना पनि रामबाबुलाई नै भयो । करपुरीले जहिल्यै भाइहरुको खप्कीलाई रुँदै पचाएर बस्नु परेको छ ।

‘अस्ति बोर्डिङमा अलिकति पैसा बुझाउन नसक्दा छोरालाई परीक्षा दिन नै दिएन,’ करपुरी सुनाउँछन्, ‘स्कुलबाट निकालिदियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment