Comments Add Comment
प्रदेश ३ को राजधानी विवाद :

विष पिउँ कि पार्टी छाडौं – राजेन्द्र पाण्डे

प्रदेशकै पुनसंरचना हुन सक्छ, अहिले दायाँ वायाँ हुँदैन– प्रचण्ड

२३ पुस, काठमाडौं । प्रदेश ३ को राजधानी हिउँदमा हेटौंडा र वर्षामा काभ्रेमा राख्ने अन्तिम विकल्पमा समेत शीर्ष नेतृत्व तयार नभएपछि अब नेकपाका प्रदेशसभा सदस्यसमक्ष पार्टीको निर्णय मान्ने वा पद त्याग्नेबाहेक अन्य विकल्प नरहेको नेता राजेन्द्र पाण्डेले बताएका छन् ।

मंगलवार अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र महासचिव बिष्णु पौडेलसहित शीर्ष नेतृत्वसमक्ष पाण्डेले अन्तिम विकल्पका रुपमा दुई ठाउँमा राजधानी कायम गर्ने प्रस्ताव राखेका थिए । तर, नेतृत्वले निर्णय मान्न वा पद त्याग्न तयार हुनेबाहेक अरु विकल्पमा अहिले छलफल नहुने कठोर जवाफ दिएपछि प्रदेश नेताहरु निराश भएर हेटौंडा फर्किएका छन् ।

हेटौंडाको पक्षमा ह्वीप जारी गर्नुअघि अन्तिम पटक छलफल गर्न नेकपा नेतृत्वले प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, नेताहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईलगायत केही मन्त्री र प्रमुख सचेतकलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।

प्रचण्डको भनाइ थियो – प्रदेशका राजधानीमा पनि तपाईहरु धेरै अडान नलिनुस् । बाँके बर्दिया भोलि कर्णालीमा जान सक्छन्, हेटौंडालाई माझमा पार्न बारा पर्सा रौतहट प्रदेश ३ मा रामेछाप, दोलखा सिन्धुली प्रदेश २ मा जान पनि सक्छन्

छलफलमा शाक्य, पाण्डे र चौलागाईले सचिवालयको निर्णयप्रति आक्रोश पोख्दै प्रदेशसभा सदस्यका कुरा सुन्न हेटौंडामा आउन चुनौति दिएका थिए । आफूहरुले दलको बैठकमा कुरा सुन्न आउनुस भन्दा अध्यक्ष प्रचण्ड र महासचिवले डराएर बालुवाटारमा बोलाएको उनीहरुको भनाइ थियो । प्रदेशसभाको संवैधानिक अधिकार नेकपा नेतृत्वले खोसेको आरोप उनीहरुको थियो ।

तर, दुवै अध्यक्षले एकै स्वरमा हेटौंडा राजधानी र बागमती नाम राख्ने निर्णयबाट ‘ब्याक’ नहुने जवाफ दिएका थिए । प्रचण्डले पहिचानको राजधानी आफ्नै नेतृत्वमा भएको भन्दै आफूले अहिले मुलुक बचाउने बाटो लिएको बताएका थिए । उनले अहिलेका राजधानीहरु सधैंभरका लागि नहुने भन्दै भोलि आवश्यकता अनुसार प्रदेशकै पुनसंरचना हुने बताएका थिए ।

प्रचण्डको भनाइ थियो, राजधानी भनेको केन्द्रको पनि स्थायी हुँदैन । भोलि काठमाडौंलाई सांस्कृतिक राजधानी बनाएर प्रशासनिक राजधानी अन्तै जान पनि सक्छ । प्रदेशका राजधानीमा पनि तपाईहरु धेरै अडान नलिनुस् । बाँके बर्दिया भोलि कर्णालीमा जान सक्छन्, हेटौंडालाई माझमा पार्न बारा पर्सा रौतहट प्रदेश ३ मा रामेछाप, दोलखा सिन्धुली प्रदेश २ मा जान पनि सक्छन् ।

अर्का अध्यक्ष ओलीले प्रदेश राजधानी र नामसम्बन्धी निर्णयमा कमा फुलिस्टप पनि परिवर्तन नहुने कठोर जवाफ दिएको पाण्डेले बताए । ओलीले अमेरिका र रुसको उदाहरण दिँदै कुनै पनि हालतमा जातीय नारामा नजाने बताएका थिए ।

प्रधानमन्त्री ओलीको भनाइ थियो, अमेरिका किन कहिल्यै आन्तरिक द्वन्द्वमा जाँदैन ? किनकी त्यहाँ जातीय आधारमा राज्य बनेन । तर, रुस जातीय नारामा बन्यो, जातीय नारामै मुलुक सकियो । कमा फुलिस्टप पनि परिवर्तन हुँदैन । पार्टी निर्णय नमान्नेले पार्टीमा छैन भनेर बुझे हुन्छ । निर्वाचन आयोगले सूचना जारी गरिसकेको छ । पद पनि रहँदैन, पार्टीमा पनि रहिँदैन ।

प्रदेश राजधानीको सन्दर्भमा मुख्यतः पूर्वएमालेभित्र माधव नेपाल पक्षधर नेताहरुको असन्तुष्टि रहेको र उनीहरुको नेतृत्व पाण्डे र चौलागाईले गरेकाले शीर्ष नेताले बोलाएर छलफल गरेका हुन् ।

प्रदेश इञ्चार्ज शाक्यले सचिवालयको निर्णयप्रति आपत्ति जनाएकी छन् भने अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल पार्टी निर्णय कार्यन्वयन गराउने पक्षमा छन् ।

नेताहरुसँग प्रदेश इन्चार्ज शाक्यले हेटौंडालाई प्रदेश राजधानी नबनाई नहुने भनेर पार्टीको केन्द्रले जबर्जस्ती निर्णय लाद्न मिल्छ भने देशको केन्द्रीय राजधानी परिवर्तन गर्नुस् भनेकी थिइन् । उनको प्रस्ताव थियो, काठमाडौंको राजधानी चितवन र हेटौडामा लैजाउँ, त्यहाँ राजमार्ग पनि छ । प्रदेशको राजधानी काठमाडौंमा बनाउँ ।

प्रचण्डले आवश्यकता अनुसार राजधानी परिवर्तन गर्न सकिने भनेका थिए । प्रदेश कमिटीका पदाधिकारीहरु पार्टी निर्णय कार्यान्वयन गराउने तयारीमा रहे पनि नेकपाका सांसदहरु अझै सहमत भएका छैनन् । उनीहरुले संगठित रुपमै बहुमतबाट प्रदेश राजधानी हेटौंडा बनाउन प्रयास असफल बनाउनेबारे छलफल समेत गरिरहेका छन् । तर, गुटका आधारमा विभाजित भएमा यो प्रयास सफल हुने देखिन्न ।

प्रदेशसभाको बैठक विहीबार बस्दैछ । त्यसअघि नेकपा संसदीय दलको बैठक राखेर एकमत गराउने प्रयास हुने नेकपा नेताहरुले बताएका छन् । सम्भवतः संसदीय दलको तर्फबाट हेटौंडा र बागमतिको पक्षमा ह्वीप जारी हुनेछ । ह्वीप उल्लंघन गर्न कुनै नेकपा सांसद तयार होलान् ? त्यो सम्भावना भने देखिन्न । त्यसो भयो भने पद र राजनीति दुवै सिद्धिने चेतावनी नेतृत्वले दिइसकेको छ ।

विष पिउँ कि पार्टी छाडौं ?–राजेन्द्र पाण्डे

नेकपाका प्रभावशाली नेता समेत रहेका राजेन्द्र पाण्डेले अनलाइनखबरसँग कुरा गर्दै अब आफूहरु सामु दुई विकल्पमात्र रहेको बताए । उनले प्रदेश राजधानीबारे के भने ? पढौं उनकै शब्दमा ।

हाम्रो मुख्य कुराचाहिँ राजधानी हेटौंडा अपायक भयो भन्ने नै हो । रसुवा, नुवाकोट धादिङ र काठमाडौंका तीनवटा जिल्ला अर्कोतिर काभ्रे, सिन्धुपाल्चोक, दोलखा रामेछाप गरी १० वटा जिल्लालाई यो अपायक पर्छ ।

प्रदेश ३ मा ६६ वटा निर्वाचन क्षेत्र छन् । प्रदेशसभाको राजधानी तीमध्ये ५० निर्वाचन क्षेत्रका जनतालाई अपायक पर्छ ।

जनसंख्याको हिसाबले हेर्ने हो भने सिन्धुली, मकवानपुर र चितवनमा ९÷१० लाख जनसंख्या होला । धेरै भए १२ लाखम्म नै होला । तर, यताचाहिँ झण्डै ५० लाख जनसंख्यालाई असर पर्छ । यो अत्यन्तै धेरै अव्यवहारिक र अपायक भयो भन्ने हाम्रो पहिलो कुरा हो ।

अब हाम्रो अगाडि दुईटामात्र बाटो बाँकी रहे । पहिलो बाटो यो निर्णय मानेर जाने । त्यसो गर्नु भनेको हामीले विष पिउनु हो । अर्को चुनावमा जनताको बीचमा जाँदा हामीले के उत्तर दिने ? विष पिएर मान्नु त एउटा कुरा हो । दोस्रो बाटो भनेको यो निर्णय नमान्दा हामीले पार्टी छाड्नुपर्छ ।

दोस्रो कुरा, संघीयताको कार्यान्वयन भनेको त सेवा प्रवाह सहज ढंगले प्राप्त होस् भन्ने कुरा हो । तर, धेरै अपायक ठाउँमा राजधानी राखिदिएर त्यो कुराले जनतालाई सेवा दिँदैन । सेवा प्रदान गर्ने हिसाबले पनि यो अत्यन्त अव्यवहारिक भयो ।

तेस्रो कुरा, त्यत्रो ठूलो जनसंख्याको भावना भड्कियो भने भोलिका दिनमा नेपाल कम्युनिस्ट पार्टीले व्यहोर्ने क्षति धेरै ठूलो हुन्छ । त्यस्तो क्षति व्यहोर्ने वातावरण नेतृत्वले किन ल्याउनुपरेको हो ?

चौथो कुरा, यो निर्णय गर्न हामी आफैं सक्षम छौं । यो निर्णय गर्ने मामिलामा नेताहरुले माथिबाट हस्तक्षेप गर्नुभयो । संवैधानिक अधिकार चाहिँ हामी प्रदेशसभा सदस्यको, निर्णय चाहिँ उहाँहरुको भयो । यसमा सभामुखले वर्षदिनदेखि नै यो प्रस्तावलाई संसदको बैठकमा ल्याउँदै नल्याउने र दलको नेता (मुख्यमन्त्री) ल्याउनै नचाहने, सकभर छेक्नेमा लाग्नुभयो ।

प्रदेशसभामा छलफल गर्न ल्याउनुको साटो काठमाडौंतिर घुमी हिड्ने । त्यतै ठूला–ठूला दरबारबाट निर्णय गराउन कोशिस गर्ने । यो जे काम भएको छ, यसले संसदीय अभ्यासलाई पनि आघात पुगेको छ । अनि यहाँ संसदको मनोबल पनि गिराउने काम भएको छ । साथसाथै हामीलाई अपमान गर्ने काम पनि भयो । किनभने, हाम्रो अधिकार खोस्ने काम भयो र प्रदेशसभाका सदस्यहरु अयोग्य छन् भन्ने प्रमाणित गर्न खोज्नुभयो उहाँहरुले ।

प्रस्ताव नै नल्याउने, छलफल नै गर्न नदिने अनि भन्ने बेलामा निर्णय नै गरेनन् दुई वर्षसम्म भनेर बाध्य भएर हामीले गरेको हो भन्ने । यो सरासर पार्टीलाई अप्ठेरोमा पार्ने, कार्यकर्तालाई अप्ठेरोमा पार्ने काम भयो ।

अब हाम्रो अगाडि दुईटामात्र बाटो बाँकी रहे । पहिलो बाटो यो निर्णय मानेर जाने । त्यसो गर्नु भनेको हामीले विष पिउनु हो । अर्को चुनावमा जनताको बीचमा जाँदा हामीले के उत्तर दिने ? विष पिएर मान्नु त एउटा कुरा हो । दोस्रो बाटो भनेको यो निर्णय नमान्दा हामीले पार्टी छाड्नुपर्छ । हामीले हाम्रो राजनीतिक जीवन समाप्त पार्नुपर्छ ।

यति लामो राजनीतिक जीवनका बारेमा हामीले एउटा अठोट व्यक्त गर्नुपर्छ । जेसुकै होस् भन्ने हुन्छ । यसले के ल्याउँछ त भन्दा अन्ततोगत्वा पार्टी विभाजनमा पु¥याउछ । सानो व्यवस्थापन गर्न नसक्दा महाकाली सन्धीकै कारणले पार्टी फुट्यो । यस्तो स्थिति सिर्जना हुन सक्छ । यस्तो स्थिति सिर्जना हुनेखालको निर्णय जुन भयो, त्यो ठूलो गल्ति भयो ।

हामीले संसदको प्रक्रियामा लैजाउँ भनेका थियौं । सकेसम्म सर्वसम्मत हुन्थ्यो नभए बहुमत अल्पमतको प्रक्रियाबाट निर्णय हुन्थ्यो । अल्पमतको धारणा पार्टीको सम्पत्तिका रुपमा रहन्छ । अब अहिले पनि प्रक्रियामा जान सकिन्छ । वर्णानुक्रम अनुसार मतदान हुन्छ । पहिलो नम्बरमा काभ्रे नै आउँछ ।

काभ्रेको पक्षमा ७४ मत आएन भने त्यो प्रस्ताव फेल हुन्छ । फेरि त्यसैगरि मतदानमा जान्छ । जसले ७४ मत पाउँछ त्यही ठाउँ राजधानी हुन्छ । यो विकल्पमा हामी अझै पनि जानसक्छौं ।

हामी अहिलेनै विष पिउने भन्नेमा गइसकेका छैनौं । साथीहरुसँग हामी अझै छलफल गर्छौं । हाम्रो शीर्ष नेतृत्वलाई हेटौंडा नभई नहुने किन भनेर सोध्यौं । उहाँहरुले जिब्रो चपाएर जवाफ दिनुभयो । बरु अध्यक्षले त हेटौंडालाई माझमा पार्नलाई भोलि बारा, पर्सा र रौतहट प्रदेश ३ मा मिसिन पनि सक्छ ।

रामेछाप, दोलखा सिन्धुली २ नम्बर प्रदेशमा जान सक्छ, बर्दिया बाँके कर्णालीमा जान सक्छ भन्ने खालका कुरा गर्नुभयो । यो त हाइपोथेटिकल खालका कुरा भए । केन्द्रकै राजधानी पनि फेरिन सक्छ भन्ने कुरा आए । यी कुरा त हामीलाई भन्ने कुरा हुन् ।

मैले बरु उहाँहरुलाई जर्मनीमा दुईटा राजधानी रहेको उदाहरण दिँदै हिउँदे अधिवेश हेटौंडा र वर्षे अधिवेशन काभ्रे धुलिखेलमा गर्ने गरी दुईटा राजधानी तोकिदिउँ,नया अभ्यास पनि हुन्छ भनेँ । यो पनि प्रस्ताव मैले राखेँ, उहाँहरुले सुन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment