+
+
Shares

नेपालमा जेई भयावह बन्दै, संक्रमित मध्ये १९ प्रतिशतको मृत्यु

जेई संक्रमणबाट ६० वर्षभन्दा माथिकालाई असर गरेको छ । पछिल्लो तथ्यांक अनुसार यसवर्ष ६० वर्षभन्दा माथिका १५ जनाको मृत्यु भइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यसवर्ष जापानिज इन्सेफलाइटिस संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ र ४५ जिल्लामा १७२ जना संक्रमित भएका छन्।
  • ६० वर्षमाथिका १५ जनाको मृत्यु भएको छ र अधिकांश मृतकले खोप नलगाएको पाइएको छ।
  • जेई संक्रमणको नियन्त्रणका लागि खोप, लामो बाहुलाको लुगा लगाउने, सरसफाइ र लामखुट्टे धपाउने उपाय अपनाउन चिकित्सकको सुझाव छ।

३ कात्तिक, काठमाडौं । यसवर्ष जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । ४५ जिल्लामा फैलिसकेको जेईले १७२ जना संक्रमित भइसकेका छन् ।

परिवार कल्याण महाशाखाले अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानिज इन्सेफलाइटिस विगत तीन वर्षयता आक्रामक रूपमा देखिएको छ ।

गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए ।

यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती छन् ।

पछिल्लो तथ्यांक अनुसार लुम्बिनीमा ११, बागमतीमा ६, गण्डकीमा ५, कोशीमा ४, मधेशमा ३, सुदुरपश्चिमा २ र कणालीमा १ जनाको ज्यान गइसकेको छ ।

६० वर्षमाथि मात्रै १५ जनाको मृत्यु

जेई संक्रमणबाट ६० वर्षभन्दा माथिकालाई असर गरेको छ । पछिल्लो तथ्यांक अनुसार यसवर्ष ६० वर्षभन्दा माथिका १५ जनाको मृत्यु भइसकेको छ ।

यस्तै २० देखि ५९ वर्षसम्म १२ जना र १९ वर्षमुनि ५ जनाको मृत्यु भएको छ ।

नेपालमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुरानो भए पनि आधिकारिक रूपमा निगरानी गर्न सुरु गरिएको समय धेरै पछाडि हो ।

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।

डा. गौतमका अनुसार भारतको गोरखपुरमा सन् १९९० को दशकमा ठूलो प्रकोप देखिए पनि नेपालमा यस रोगको इतिहास अझै पुरानो छ ।

सन् १९७८ तिर रुपन्देहीमा संक्रमण भएको देखिन्छ । त्यतिबेला प्रमाणित गर्ने प्राविधिक सुविधा थिएन, तर लक्षणहरूका आधारमा जई नेपालमा देखिएको अनुमान लगाइएको उनले बताए ।

उनका अनुसार सन् २००३ देखि आधिकारिक परीक्षण सुरु भयो । त्यसबेला ढाडबाट पानी र रगतको नमूना मार्फत् जेईको परीक्षण गरिएको थियो ।

खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्नुले खतराको संकेत गरेको विज्ञ बताउँछन् ।

गौतमका अनुसार जेई संक्रमण नेपालमा अन्य देशभन्दा फरक जोखिम देखिएको छ । सामान्यत: १५ वर्षमुनिका बालबालिकामा बढी देखिने जेई नेपालमा भने पछिल्लो वर्षमा ६० वर्षमाथिका मानिसमा मृत्यु र संक्रमण भएको छ ।

‘६० वर्षभन्दा माथिका व्यक्तिको मृत्यु हुनुको कारणबारे डा. गौतम भन्छन्, ‘मृत्यु हुने अधिकांशले खोप लगाएका छैनन् ।’

भाइरसमै केही प्रकारको परिवर्तन भएको हुनसक्ने उनको आशंका छ । तर त्यसबारे ठ्याक्कै निष्कर्ष भने अहिलेसम्म आइसकेको छैन ।

डा. गौतमले भने, ‘थप अध्ययन भइरहेको छ । अहिलेको प्रारम्भिक अध्ययनले अन्य रोगहरूसँगको संयोजन (जस्तै स्क्रब टाइफस) को कारणले पनि मृत्युदर बढेको अनुमान छ ।’

जापानिज इन्सेफलाइटिस डेंगु भाइरस समावेश भएको ‘फ्लेभी भाइरस’ समूहअन्तर्गत पर्छ । यो क्युलेक्स जातको लामखुट्टेले फैलाउने गर्छ । विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार लक्षण सहितका संक्रमितहरू एसियामा झन्डै एक लाखको हाराहारीमा वर्षेनी देखिने गर्छ । यसको मृत्युदर अधिकतम ३० प्रतिशत छ ।

५० प्रतिशतलाई स्नायु प्रणालीमा दीर्घकालीन असर

त्यसैले यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ । उपचारपछि पनि करिब ५० प्रतिशतसम्मलाई स्नायु प्रणालीमा दीर्घकालीन असर देखिने गर्छ ।

जापानी इन्सेफलाइटिस प्राय: धान खेती हुने ठाउँ, स्थिर पानी जम्ने क्षेत्र, सुँगुर र हाँस पालन हुने स्थानमा बढी देखिन्छ ।

डा. गौमतमका अनुसार धानखेतमा पानी जम्मा हुने भएकाले लामखुट्टे प्रजनन गर्न सजिलो हुन्छ । त्यस्तै, सुँगुर र हाँसलाई संक्रमित लामखुट्टले टोक्दा भाइरसलाई हजारौं गुणा बढाउँछन् ।

संक्रमित लामखुट्टेले सुँगुर वा हाँसलाई टोक्दा भाइरस ती जनावरभित्र तीव्र रूपमा बढ्छ । त्यही भाइरस अर्को लामखुट्टेमा सरेपछि फेरि मानिसलाई पनि संक्रमण सार्छ ।

अधिकांशमा संक्रमितमा लक्षण सामान्य वा देखिँदै देखिँदैन । तर २५० संक्रमितमध्ये एकजनामा भने लक्षणले कडा रूप (स्नायु प्रणालीमा जटिल समस्या आउने) लिने गर्छ ।

जेई भाइरस उच्च घातक मात्र होइन, यदि उपचार गरेर बचाउन सकियो भने पनि यीमध्ये झन्डै ५० प्रतिशतमा जीवनभर नसासँग सम्बन्धित अपांगता पनि गराउने विज्ञ बताउँछन् ।

कम्पन आइरहने, सुन्ने शक्ति वा दृष्टि गुम्ने, बोल्ने क्षमता अनि स्मृतिमा ह्रास हुने, बोलाइरइस्पिच कमजोर हुने, हातखुट्टा लुला हुने जस्ता समस्या देखिन सक्छ ।

संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, अन्योलमा देखिनु, मांसपेसी कडा हुनु, अचेत हुनु र उपचारमा विलम्ब भए मृत्यु समेत हुन्छ ।

डा. अभियान गौतम।

जेई संक्रमण हुँदा विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ ।

जस्तै ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।

यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरूमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणाली कमजोर भएका मानिस बढी जोखिममा हुन्छन् । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ ।

मनसुनको समयमा जेई संक्रमणको जोखिम बढी हुने गर्छ । वर्षायाममा बढी आद्रता र बाढीका कारण सरसफाइमा कमी आउँदा लामखुट्टेको वृद्धि हुन्छ । जसले संक्रमणको जोखिम बढाउँछ । ‘साउन, भदौ, असोजमा महिना जेइ को संक्रमणदर उच्च हुन्छ । जाडो महिनामा बिस्तारै संक्रमणका केस घट्दै जान्छन्,’ उनले भने ।

जेईको नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ ।

विज्ञका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने, घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन । साथै पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्न चिकित्सक सुझाव दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?