
२ कात्तिक, काठमाडौं । हवाई मार्ग हुँदै तस्करी हुने लागुऔषधको खोजीमा सक्रिय घुङ्ग्रु नामको कुकुरले यस वर्षको उत्कृष्ट केनाइन (कुकुर) अवार्ड पाएको छ ।
हरेक वर्ष कुकुर तिहारको दिन प्रहरीले अपराध अनुसन्धानमा सक्रिय कुकुरमध्येबाट उत्कृष्ट कुकुर छनोट गर्दै आएको छ । लागुऔषध गाँजाको खोजी तथा पहिचानमा सक्रिय घुङ्ग्रुले यस वर्षको उत्कृष्ट कुकुरको अवार्ड पाएको हो ।
नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जका प्रवक्ता तथा डीएसपी चेतनारायण ज्ञवालीले विनमानस्थलमार्फत तस्करी हुने गाँजाको पहिचान गरी पक्राउ गर्न सहयोग गर्ने घुङ्ग्रुले अवार्ड जितेको बताए ।
४ चैत २०७४ मा जन्मिएको घुङ्ग्रु जर्मन सेफर्ड जातको कुकुर हो । यसको विशेषज्ञता लागुऔषधको खोजी एवं पहिचानमा छ । विगत ७ वर्षदेखि लागुऔषध पहिचानमा खटिएको घुङ्ग्रुले हवाई मार्ग हुँदै विमानस्थलमा भित्रिएको लागुऔषधको पहिचान गरेको थियो ।
५ साउन २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवगमनतर्फको लगेज जाँच गर्ने क्रममा घुङ्ग्रुले स्निफिङ गरेको (सुघेको) थियो । दिउँसो १२:४५ मा बैंककबाट त्रिभुवन विमानस्थलमा अवतरण भएको थाई एयरवेजको उडान नम्बर टीजी-३१९ को जहाजमा ल्याइएको लगेज घुङ्ग्रुले स्निफिङ गरेको थियो ।
सो क्रममा घुङ्ग्रुले शंकास्पद वस्तु रहेको संकेत गर्यो । भारतीय नागरिक धर्मेश रसिकभाइ चुनाराले ल्याएको लगेज घुङ्ग्रुले शंकास्पद रहेको संकेत गरेपछि प्रहरीले जाँच गर्दा गाँजा फेला पर्यो ।
त्यसपछि ३२ वर्षीय चुनारा १४ किलो २१० ग्राम गाँजासहित पक्राउ परेका थिए । कालो प्लास्टिकमा प्याक गरेर सुरक्षाकर्मीलाई छल्दै विमानस्थलबाट बाहिर लागेका चुनाराले घुङ्ग्रुलाई भने छक्याउन सकेनन् । अन्ततः उनी पक्राउ परे ।
यही जहाजमार्फत ल्याइएको गाँजा यसअघि पनि घुङ्ग्रुले नै पत्ता लगाएको थियो । २४ चैत २०८१ मा बैंककबाट आएको थाई एयरवेजको फ्लाइट नम्बर टीजी–३१९ नम्बरको जहाज दिउँसो १२:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
चिप्स, चक्लेट र मासुका प्याकेटले भरिएको एउटा सुटकेस जाँच पास भएर अघि बढ्यो । तर सुटकेस फेरि घुङ्ग्रुलाई सुघाइयो । केही समयअघि नै जाँच पास भएको उक्त सुटकेसलाई घुङ्ग्रुले शंकास्पद रहेको संकेत गर्यो ।
पछि ती प्याकेट खोलेर हेर्दा प्रहरी नै छक्क परे । चिप्स, चकलेट र मासुको प्याकेटभित्र लुकाएर बैंककदेखि गाँजा ल्याइएको खुल्यो । त्यसपछि प्रहरीले ९ किलो अमेरिकन गाँजा बरामद गर्यो ।
वासिङ मेसिनभित्र आएको गाँजा पनि घुङ्ग्रुले पत्ता लगाएको थियो
४ चैत २०८० मा कतार एअरलाइन्समार्फत अमेरिकादेखि एउटा वासिङ मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्छ । विमानस्थल भन्सारको कार्गो कम्प्लेक्सको आयाततर्फको गोदाममा उक्त मेसिन राखिन्छ ।
कार्गोमा आइपुगेको उक्त वासङ मेसिन घुङ्ग्रुलाई सुघाइन्छ । त्यसपछि घुङ्ग्रुले लागुऔषध रहेको संकेत गर्छ । घुङ्ग्रुको संकेतपछि वासिङ मेसिन खोलेर हेर्दा २० किलो गाँजा फेला पर्छ ।
त्यसपछि वासिङ मेसिन मगाउने कम्पनी सुशान्त इम्पेक्सका सञ्चालक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ घर भई काठमाडौं बस्दै आएका ३९ वर्षीय सुखल राउत र उनकी श्रीमती ३५ वर्षीया शान्ति तामाङलाई पक्राउ पर्छन् ।
सुखल दम्पतीले करिब २ वर्षअघि सुशान्त इम्पेक्स नामक दर्ता गरेर विदेश सामान पठाउने काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तर पक्राउ परेको दम्पतीले उक्त गाँजा आफूहरूले नमगाएको दाबी गरेका थिए ।
२ चैत २०८० मा सुखलसँग चिनजान भएका विशाल जैसवालले आफूहरूको कम्पनीमार्फत वासिङ मेसिन मगाएको र त्यसभित्र गाँजा भेटिएको भनाइ सुखल दम्पतीको थियो ।
१०१ तालिम प्राप्त कुकुर
हाल नेपाल प्रहरीसँग घुङ्ग्रु जस्ता तालिमप्राप्त १०१ कुकुर छन् । नेपाल प्रहरीले २०२६ सालदेखि अपराध अनुसन्धानमा केनाइनको प्रयोग गर्दै आएको छ । २०२६ सालमा मलेसियामा तालिम गर्न गएका प्रहरी कर्मचारीहरूले मलेसियन सरकारको सहयोगमा २ वटा तालिमप्राप्त केनाइन ल्याएका थिए । सोही वर्षमा प्रहरीले नेपालमा २ वटा केनाइन खरिद गरेको थियो । ४ वटा केनाइनबाट अपराध अनुसन्धान सुरु गरिएको थियो ।
२०३२ सालमा सईको कमान्डमा १० जनाको दरबन्दी कायम गरी कुकुर शाखाको स्थापना गरिएको थियो । २०४७ सालमा तत्कालीन कुकुर शाखाको नाम परिवर्तन गरी केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल नाम राखियो । सोही वर्ष ५ वटा विकास क्षेत्रका लागि दरबन्दी समेत निकासा भएको थियो ।
यसलाई २०७५ सालमा केनाइन महाशाखामा स्तरोन्नति गरियो । २०७८ सालमा नेपाल प्रहरी केनाइन कार्यालय नामकरण भयो । २०७५ सालदेखि भने प्रहरीले कुकुर शब्द प्रयोग गर्न छाडेर केनाइन शब्द प्रयोग गर्न थालेको छ ।
अपराध अनुसन्धानमा खटिने तालिमप्राप्त कुकुरहरूलाई कुकुर नभनी केनाइन भन्ने आम प्रचलन रहेकाले अहिले कुकुर शब्द प्रयोग गर्न छाडेर केनाइन भन्न थालिएको केनाइन कार्यालयका एसपी रामचन्द्र सत्याल बताउँछन् ।
देशका विभिन्न १३ स्थानबाट प्रहरीका १०१ तालिम प्राप्त कुकुरले सेवा दिइरहेका छन् ।
प्रतिक्रिया 4