Comments Add Comment

नेता गलेपछि ‘फ्लोर क्रस’को सम्भावना टर्‍यो, हेटौंडाको पक्षमा ह्वीप लाग्दै

फाइल तस्वीर ।

२४ पुस,काठमाडौं । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने केन्द्रीय सचिवालयका निर्णय कार्यन्वयन गर्न नेकपा प्रदेशसभा दलले शुक्रबार आफ्ना सांसदलाई ह्वीप लगाउने भएको छ । असन्तुष्ट सांसदहरुले ‘फ्लोर क्रस’ गर्ने चेतावनी दिएपछि ह्वीप लगाउने तयारी भएको हो ।

बिहीबार हेटौंडामा प्रदेशसभा संसदीय दलको बैठकमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका नेताले मंगलवार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबारे जानकारी गराएका थिए । अब पार्टी निर्णय कार्यान्वयनमा जानुको विकल्प नरहेको आशय नेताहरुले व्यक्त गरेको प्रदेशसभाका एक सदस्यले बताए ।

उनले भने ‘हामी त फ्लोर क्रस गरेर भने पनि जाउँ भन्नेमा हो । तर अष्टलक्ष्मी, राजेन्द्र पाण्डे, पशुपति चौलागाईहरुलेनै खुट्टा टेकेनन् भने हाम्रो राजनीति सिध्याउन सक्दैनौं । संगठित ढंगले उभिदा पार्टीले सामुहिक कारवाही गर्न सक्दैन भन्ने हो । तर नेताहरुले लत्तो छाडिसके, भोलि ह्वीप जारी गरेर हेटौंडा राजधानी गराउँछन् ।’

प्रदेशसभा संसदीय दलको बैठक शुक्रबार ११ बजे बोलाइएको र त्यही बैठकले सर्वसम्मत निर्णय गर्ने मुख्य सचेतक रामेश्वर फुयाँलले बताए । उनले नेकपामात्र होइन विपक्षी कांग्रेस, राप्रपा, विवेकशीललगायतका दलसँग पनि छलफल गरेर सर्वसम्मतले नाम र राजधानी तोकिने बताए ।

बिहीबारको बैठकमा प्रदेश मन्त्रीहरु अरुण नेपाल,शालिकराम जमरकट्टेल, युवराज दुलालले पनि पार्टी केन्द्रको निर्णयप्रति आफूहरुलाई पनि मन नपरेको तर निर्णय मान्नुको विकल्प पनि नरहेको बताएका थिए । पार्टी निर्णयको बारेमा अर्थमन्त्री कैलाश ढुंगेल भने बोलेका छैनन् ।

नेकपा स्रोतका अनुसार प्रदेश राजधानीका सन्दर्भमा नेकपाभित्र मुलतः तीन धार देखिएको छ । केपी ओली पक्ष पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने पक्षमा केही सांसदबाहेक एकढिक्का छ । माधव नेपाल पक्ष भने भेगीय हिसाबले विभाजित छ । मुनु सिग्देललगायत मकवानपुर र चितवनका नेपाल पक्षधर सांसद हेटौंडाको पक्षमा छन् ।

माधव नेपाल पक्षका अरु सबै प्रदेशसभा सदस्यहरु पार्टी केन्द्रको निर्णयको विपक्षमा छन् । उनीहरुले पार्टी निर्णय असफल पार्नेबारे छलफल पनि गरेको स्रोतले जनाएको छ । तर पूर्वमाओवादी पक्षका सांसदले साथ नदिदा बहुमत नपुग्ने भएपछि नेताहरु हच्किएका छन् । पूर्वमाओवादीका सांसद राजधानी भन्दा पनि नाममा असहमत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment