Comments Add Comment

ह्यारी र मेगनको ‘बोल्ड’ निर्णय, दरबार आहत !

२४ पुस, काठमाडौं । सक्रिय राजतन्त्र नभए पनि बेलायतमा राजपरिवार निकै सम्मानित छ । राजपरिवारका सदस्यहरुका सानातिना गतिविधिहरु पनि त्यहाँका मिडियामा ठूलो कभरेज पाउने गर्छन् । अहिले राजकुमार ह्यारी र उनकी पत्नी मेगन भने बेलायतका मात्र नभएर विश्वभरका मिडियामा छाएका छन् ।

ह्यारी र मेगनले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु आइन्दा राजपरिवारको सदस्य नरहेको भन्दै अब स्वतन्त्र जीवन बाँच्ने घोषणा गरे । महिनौंदेखिको छलफल र आन्तरिक संवादपछि यो निर्णय लिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘हामी आइन्दा शाही परिवारको वरिष्ठ सदस्य रहनेछैनौं । आर्थिकरुपमा स्वतन्त्र बन्नका लागि काम गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

अब उनीहरुले आफ्नो समय बेलायत र नर्थ अमेरिकामा बिताउने योजना बनाएका छन् । महारानी लगायत परिवारका ज्येष्ठ सदस्यहरुप्रतिको दायित्व निभाउन पनि कुनै कसर नछाड्ने प्रतिवद्धता जनाएका छन् ।

यो अप्रत्याशित मिडियासँगै यो जोडीको भावि योजनाका बारेमा विभिन्न अड्कलवाजी भइरहेको छ । महारानीका भूतपूर्व प्रेस सेक्रेटरी डेक्की अर्बिटर उनीहरुले आफ्नो योजनालाई कसरी कार्यान्वयनमा लैजान्छन् भन्ने भविष्यमा थाहा हुने बताउँछन् ।

उनले भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण प्रश्न सुरक्षाको हो । उनीहरुलाई कसले सुरक्षा प्रदान गर्छ ?’

शाही परिवारकी टिप्पणीकार पेन्नी जुनर यो जोडीमा ह्यारीकी आमा प्रिन्स अफ वेल्स डायनाको चरित्र देखिएको बताउँछिन् । उनीहरुले परिवारका सदस्यहरुसँग सल्लाह नगरी निर्णय लिनु कुनै अनौठो नभएको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘उनीहरुले चालेको कदममा डायनाको प्रतिबिम्ब देखिन्छ । उहाँले चाल्र्सबाट अलग भएपछि कोहीसँग पनि सल्लाह नगरी ५० भन्दा बढि च्यारिटीहरुबाट पन्छिने निर्णय लिनुभएको थियो ।’

निर्वाचित राष्ट्राध्यक्षका लागि अभियान चलाइरहेको रिपब्लिक पार्टीका प्रवक्ता ग्राहम स्मिथले ह्यारी र मेगनको निर्णयले राजतन्त्रको भविष्यमाथि नै प्रश्न उठेको प्रतिक्रिया दिएका छन् । उनले यो जोडीको अतिरिक्त सुरक्षा र विदेशमा बस्दाको खर्च कसरी आपूर्ति हुन्छ भन्ने प्रश्न पनि उठाए ।

‘उनीहरुले आम्दानीको कुनै स्रोत नदेखाएसम्म जनताबाट उठेको करले नै जीवनयापन गरिरहेका छन् भन्ने बुझ्नुपर्छ,’ स्मिथले थपे ।

यो घटनाले ह्यारी र मेगनको बाँकी राजपरिवारसँग गम्भिर मतभेद थियो भन्ने स्पष्छ देखिएको छ । अब उनीहरुले राजपरिवारसँग कस्तो सम्वन्ध राख्नेछन् भन्ने धेरैलाई जिज्ञासा छ । कतिपयले यसलाई राजतन्त्रको अधोगतिको सुरुवातका रुपमा लिएका छन् ।

ह्यारी पहिल्यैदेखि अन्य राजपरिवारका सदस्यभन्दा फरक थिए । उनी एक्लै विभिन्न ग्रामिण क्षेत्रहरुको भ्रमणमा पुगिरहन्थे । विवाहपछि उनलाई मेगनले निकै साथ दिएकी छन् । उनीहरु परम्परागत ढर्राको राजसंस्थामा नयाँपन दिन चाहन्थे । केही महिना अगाडिदेखि शाही जीवनशैलीप्रति उनीहरुको असन्तुष्टि सार्वजनिक भएको थियो । साथै ब्रिटिश मिडियामहरुसँग पनि उनीहरुको टकराव चलिरहेको थियो ।

गत वर्षको अक्टोबरमा मेगनले एक सञ्चारमाध्यममाथि आफ्नो गोप्य पत्र गैरकानूनीरुपमा प्रकाशित गरेको आरोपमा कानूनी प्रक्रिया थालेकी थिइन् । उनलाई साथ दिँदै ह्यारीले आफ्नी पत्नी बेलायतको ट्याब्लोइड प्रेसको पछिल्लो शिकार बनेको बताएका थिए ।

ह्यारी र मेगनको १९ मे २०१८ मा बिहे भएको थियो । मेगन एक अमेरिकी नागरिक हुन् र उनले विगतयमा हलिउड फिल्ममा अभिनय गरेकी थिइन् । मेगनले अहिले पनि बेलायती नागरिकता पाइसकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment