१४ असोज, काठमाडौं । मध्यराति डकैती गर्न आएका व्यक्तिसँग प्रतिकार गर्दा पर्सामा एक महिलाको ज्यान गएको खुलेको छ । ज्यान गुमाउनेमा पर्साको धोबिनी गाउँपालिका–५ कि ६२ वर्षीया लखरजिया देवी छिन् ।
५ असोजको बिहान ८ बजेतिर दुई तले पक्की घरको दोस्रो तलाको बीच कोठामा लखरजिया मृत भेटिएकी थिइन् । मृत भेटिएको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय पोखरियाको टोली घटनास्थल पुगेको थियो ।
शवको प्रकृति हेर्दा प्रहरीले सुरुमा हत्या भएको विश्लेषण अनुसन्धान अघि बढायो । उनको मृत्यु ५ असोजको राति ३ बजेतिर भएको खुल्यो । हत्या भएको विश्लेषण गरेपछि सोको अफिसरको टिम, तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरियो ।
घटनास्थल तथा लासजाँच मुचुल्का गरेर शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइयो । परिवारले शव बुझेर सद्गतसमेत गरे । तर, प्रहरीले अनुसन्धान भने जारी राखेको थियो ।
अनुसन्धानका क्रममा लखरजियाको हत्या डाँका गर्न आएको समूहबाट भएको प्रहरीले पत्ता लगायो । हत्या तथा डकैतीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्साकै धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दन कुमार पटेल, सोही ठाउँका १८ वर्षकै घलथरिया भनिने राज कपुर बैठा र सोही ठाउँका १८ वर्षकै रामु पासवान पक्राउ परे ।
मृतकको घरबाट डाँकाचोरी गरी लगेको पैसा र गरगहना समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्र मल्लले बताए । डाँका गरी लगेको २ थान सुनका चुरा चन्दनकुमारको घरबाट बरामद भएको प्रहरीले बताएको छ ।
डकैती गरेपछि उनीहरूले पैसा तथा गरगहना बाँडेका थिए । पहिला उधारो खाएको पसलमा ३ हजार तिरेको समेत पाइएको छ ।
राज कपुरको साथबाट ७६० रुपैयाँ बरामद भएको छ । चक्कु, पिलास, गाडीको स्प्रिङ पत्ता पनि बरामद भएका छन् ।
घटनाको राति साढे ११ बजेतिर तीन जना मिलेर राज कपुरको घरमा गाँजा खाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । त्यति बेलै उनीहरूले चोरीको योजना बनाएका थिए ।
त्यसपछि उनीहरुले लखरजियाको घरको पछाडिको पर्खालबाट राति साढे २ बजेतिर घरमाथि चढेका थिए ।
माथिल्लो तलाको झ्यालबाट घरभित्र प्रवेश गरी उनीहरूले स्टिलको दराज फोडेर त्यहाँ राखिएको पैसा र गरगहना चोरी गरेका थिए । अरु कोठामा पनि रहेको टिनको बक्सा फुटाउँदै गर्दा लखरजियाले थाहा पाइन् । चोरी भएको शंका लागेर माथिल्लो तलामा चढिन् ।
चोरी गरेकाहरूलाई प्रतिकार गर्दा उनीहरूकै आक्रमणबाट लखरियाको ज्यान गएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूविरुद्ध हत्याको कसुरमा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया 4