Comments Add Comment

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय

फाइल तस्वीर ।

२५ पुस, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो ।

सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् । ‘उहाँहरुले आफ्नो मान्यताहरु दर्ता गर्नुभएको छ’ प्रमुख सचेतक रामेश्वर फुयाँलले भनेका छन् ।

अब प्रदेशको नाम र राजधानीका विषयमा नेकपाले प्रदेशसभामा एउटा मात्र प्रस्ताव दर्ता गराउनेछ ।

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फलोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताए ।

‘हाम्रो पार्टीको आधिकारिक निर्णयअनुसार सबै अगाडि बढ्नुहुनेछ । पार्टीभित्र बहस र छलफल भएपछि एउटा निचोडमा पुग्नैपर्छ । हामी पनि निचोडमा पुगेका छौं । अब एउटा मात्र प्रस्ताब दर्ता हुन्छ । त्यसैमा मतदान पनि हुन्छ’, मुख्यमन्त्री पौडेलले भने ।

उनले नेकपाभित्र ह्वीप लाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी गरे । ‘संसदीय दलले पनि अब ह्वीप लगाउनुपर्ने अवस्था नै सिर्जना हुँदैन । लिखित रुपमा निर्णय भएपछि ह्वीप भन्ने हुदैन’, मुख्यमन्त्री पौडेलले भने ।

नेकपाभित्र प्रदेशको नाम भन्दा राजधानीको विषयमा विवाद छ । धेरै सांसद काभ्रेको पक्षमा रहेकाले संसदीय दलको बैठकमा सहमति जुट्न सकेको थिएन ।

प्रदेशसभामा नेकपा एक्लैको बहुमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment