Comments Add Comment

‘लिखु तामाकोसी गाउँपालिकाको विवादले सबैको शिर झुक्यो’

२६ पुस, रामेछाप । लिखु तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिबीचको विवादले विकास निर्माणका सम्पूर्ण काम बन्द हुँदा राजनीतिक दलहरुको छवि विग्रिएको नेताहरुले बताएका छन् । निर्वाचित जनप्रतिनिधिकै कारण पालिका नै निर्णयको बन्दि हुनु विडम्बनापूर्ण भएको उनीहरुले बताए ।

रामेछापका स्थानीय सरकारको विकास निर्माणको क्षेत्रमा देखिएका समस्या र समाधानको उपायबारे सदरमुकाम मन्थलीमा आयोजित अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का केन्द्रीय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलले लिखुतामाकोसी गाउँपालिकाको गतिविधिले सिंगो पार्टी र संघीय शासन व्यवस्थामा नै चोट लागेको बताए ।

‘गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिको लहड र सन्काहा प्रवृत्तिको कारण गाउँपालिकाको विकास बजेट र सम्पूर्ण प्रशासनिक काम रोकिनु सबैको लागि लज्जाको विषय हो’, उनले भने ।

संविधानसभा सदस्य एवं नेकपाका नेता तारानारायण श्रेष्ठले लिखुतामाकोसी गाउँपालिकाको समस्या समाधानका लागि नेकपाले सक्नेजति गरिसकेकाले अब कानुनी बाटो रोज्नु पर्ने बताए । उनले पालिका अध्यक्षलाई निष्कासन गरी नयाँ प्रक्रियाबाट अघि बढ्न सुझाव दिए ।

गाउँपालिकाको विवादको कारण यस अर्थिक वर्षको बजेट पास हुन सकेको छैन । बजेट र कार्यक्रम नआउँदा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएका छैनन् । विकास र प्रशासनिक काम ठप्प छ

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले लिखुतामाकोसी गाउँपालिकाकै कारण रामेछाप जिल्लाको प्रदेश ३ मै बदनाम भएको बताए । उनले समस्या समाधानका लागि समन्वय समितिले बारम्बार पहल गरे पनि समाधान ननिस्किएको बताए ।

नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले विवाद समाधानको लागि अध्यक्षलाई हटाई जिल्ला समन्य समति मार्फत विकासका काम अघि बढाउने गरी मन्त्रिपरिषबाट निर्णय गराएर बाटो खोल्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा नेता आनन्द श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका उपसभापति जितेन्द्र कुमार मोक्तान, सचिव लेखबहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ लगायतले समस्या समाधानको लागि प्रयत्न गर्न ढिला भइसकेको बताए ।

कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले लिखुतामाकोसी गाउँपालिकाको कारण सिंगो जिल्लाकै बदनाम भएकाले समस्या समाधान गरी छिटो निकास निकाल्न आग्रह गरेका थिए ।

सो गाउँपालिकाको विवादको कारण यस अर्थिक वर्षको बजेट पास हुन सकेको छैन । बजेट र कार्यक्रम नआउँदा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएका छैनन् । विकास र प्रशासनिक काम ठप्प छ । पालिका कर्मचारीविहीन छ । स्वास्थ्य संस्थाहरुमा औषधि सकिदा विरामीहरु औषधि पाउनबाट बञ्चित भएका छन् । विद्यार्थीहरुले छात्रावृत्ति र खाजा खर्च पाएका छैनन् । वृद्धवृद्धा र अपाङ्गता भएकाहरुले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । कृषि तथा पशु सेवा ठप्प छ । प्रशानिक खर्च नहुँदा पत्रहरु पि्रन्ट गर्ने कागजसमेत किन्न नपाइएको कर्मचारीहरुको भनाइ छ ।

पालिकाको बजेट तथा कार्यक्रम पास गर्न गएको असार महिनामा बसेको गाउँकार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष गोविन्द खड्काले वडा नं. १ मा विद्युतीकरण गरेको रकम करिब ६ करोड भुक्तानी गर्न बाँकी भएकाले पहिले सो रकम छुट्याएर मात्र अन्य क्षेत्रमा बजेट छुट्याउन प्रस्ताव गरेका थिए । तर कार्यपालिकाका अन्य सदस्यहरुले भने अनुगमनपछि मात्र रकम भुक्तानी दिनुपर्ने प्रस्ताव राखेका थिए । सोही विषयमा पालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत तथा कार्यपालिका सदस्यहरुलाई कुर्सिले आक्रमणको प्रयास गरेको भन्दै बैठक रोकिएको थियो । त्यस पछि रोकिएको गाउँपालिकाको बैठक अझै बस्न सकेको छैन ।

गाउँपालिका अध्यक्ष विद्युतको रकम नछुट्याइ अन्य गतिविधि अधि बढ्न दिने पक्षमा छैनन् भने उपाध्यक्षलगायत अन्य सदस्यहरु उनको सो कुरामा सहमत छैनन् । जसले गर्दा गाउँपालिका अनिर्णयको बन्दी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment