२७ पुस, काठमाडौं । शहरको चोक तथा व्यस्त गल्लीहरुको छेउछाउमा बस, ट्याम्पो तथा ट्याक्सी स्टेसनहरुको आडमै अर्को स्टेसन पनि देखिन थालेको छ । यो नयाँ स्टेसनहरुले यात्रुलाई आरामसँग बसेर कुखुराको तारेको नयाँ परिकार चखाउँछ ।
दुई वर्षअघि ललितपुरको झम्सीखेलबाट सुरु भएको चिकेन स्टेसन अहिले देशैभर फैलदैछ । धरानमा जन्मिएका निकेश ताम्राकार (३१) यसैका लागि दिन रात खटिरहेका छन् । आफ्नो स्टेसनमा चिकेनको स्वाद लिन खल्तीमा मोटो रकम नचाहिने उनी बताउँछन् ।
रेष्टुरेन्ट व्यवसायमा राम्रै लगानी गरेर डुबेका निकेशले काठमाडौंमा केएफसी रेष्टुरेन्ट सञ्चालनमा आएपछि बुझे नेपालीहरु पृथक स्वादका लागि खर्च गर्न तयार छन् । केएफसीको महंगो चिकेन खान लाइन लागेर दरबारमार्गमा उभिएको भिड देखेपछि उनको मनमा लाग्यो- सस्तोमा कुखुराको फ्राई मासु नेपालीको रोजाइ बन्न सक्छ र यसका लागि म काम गर्न सक्छु ।
सस्तोमा स्तरीय चिकेन
त्यसको लागि उनी भारतसमेत गएर स्वाद र बजारको अध्ययन गरे । त्यसकै परिणाम थियो झम्सीखेलमा ६० लाख लगानीमा खुलेको चिकेन स्टेसन । नेपालीहरुले दिउँसोको खाजामा खर्च गर्ने सरदर १५० रुपैयाँसम्ममा नयाँ स्वादको फ्राइड चिकेन उपलब्ध गराउने स्टेसनको लक्ष्य थियो । निकेश भन्छन्, ‘मानिसहरुले मःम वा चाउमिनमा खर्च गर्ने रकममा स्तरीय चिकेन खुवाउन थालेपछि सफल भइयो ।’
घरमा मात्र मासु पकाएर खाने नेपालीलाई केएफसीले रेष्टुरेन्टमा लाइन लागेर चिकन फ्राई खान सिकाएको उनी बताउँछन् । चिकेन स्टेसन भनेको केएफसीको डुप्लिकेट हो ? भन्ने प्रश्नमा निकेशको सीधा उत्तर छ, ‘हामी न केएफसीको फोटोकपी हौं न त केएफसी जती स्तरीय ।’

उनका अनुसार, केएफसीको मूल्य आम नेपालीको खर्च गर्ने क्षमता बाहिर छ । नेपालीहरुको क्रयशक्ति भित्रको चिकेन फ्राई उपलब्ध गराउँदा आफू सफल भएको उनले बताए । ‘सस्तो मूल्य र ग्राहकको नजिकको ठाउँमा हाम्रो उपस्थिति चिकेन स्टेशनको सफलताको मुख्य कारण हो’, उनी भन्छन्, ‘हामी दुई सय रुपैयाँमा चिकेन राइस बल वा चिकेनफ्राई खुवाउँछौँ ।’
दुई वर्षमा १८ फ्रेन्चाइज
निकेश ताम्राकारका अनुसार, अहिले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, बुटवल र चितवनमा १८ वटा चिकेन स्टेसन सञ्चालनमा छन् । आगामी वैशाखभित्र काठमाडौं, भक्तपुर र बनेपामा पाँच वटा स्टेसन थपिने उनले बताए ।
अहिले सन्चालित १८ स्टेशनमा दुई सय हाराहारीले रोजगारी पाएको र गुणस्तरमा कमि नआओस् भनेर आफ्नै ‘फुड अडिटर’ राखेको निकेश बताउँछन् । उनका अनुसार अहिले सबै स्टेसनबाट दैनिक कम्तिमा तीनसय किलो चिकेन खपत भइरहेको छ ।
चिकेन स्टेसनको ब्राण्ड
चिकेन स्टेसनमा कमल पराजुली निकेसका मुख्य साझेदार छन् । दुई साझेदारले केन्द्रीय चिकेन स्टेसनले तोकेको गुणस्तर र मापदण्डमा रहेर स्वतन्त्र लगानीकर्ताले प|mेन्चाइज किन्न सक्ने नीति लागु गरेका छन् । अर्थात्, अहिले चलेका सबै स्टेसनमा निकेश र कमलको मात्र लगानी छैन ।
सबै स्टेसनमा ग्राहकलाई खुवाउने खाजाको परिकार, मूल्य, गुणस्तर, स्टेसनको रङ र डिजाइन मात्र होइन फर्निचरमा पनि एकरुपता छ । स्टेसनहरुलाई चाहिने कुक र वेटरसमेत काठमाडौंको शंखमुलमा रहेको केन्द्रीय चिकेन स्टेसनले परिचालन गर्छ । आफ्नै ट्रेडमार्क दर्ता गरेको चिकेन स्टेसनमा नयाँ लगानीकर्ताको कुनै कमी नभएको निकेश बताउँछन् ।
झम्सीखेलले लडायो अनि उठायो
जागिरबाट आर्थिक प्रगती हुँदैन भन्ने सोच रहेका निकेशका बुबाले छोराले केही गरोस् भनेर १० वर्षअघि रेष्टुरेन्टमा लगानी गरिदिएका थिए । तर, झम्सीखेलको त्यो ‘सिनामन रेष्टुरेण्ट’ डुब्यो । केही वर्ष यत्तिकै बसेका निकेशलाई बुबाले फेरि झम्सीखेलमै ‘क्याफे नेक्स्ट’ नामक रेष्टुरेण्टमा लगानी गरिदिए । तर, निकेश त्यहाँ पनि लडे । आफूले दुई वटा रेष्टुरेण्टमा ठूलो लगानी डुबाएर बुबाको सपनामा पानी खन्याएको उनी बताउँछन् ।
‘अहिले केलाउँदा झम्सीखेलमा डुब्नुको दुई वटा कारण पाउँछु’, निकेश भन्छन्, ‘बिना अध्ययन सुरु गरेको मेरो रेष्टुरेन्टमा कुनै नयाँपन थिएन । थुप्रै रेष्टुरेन्ट भएको ठाउँमा खोलेको नयाँ रेष्टुरेन्टमा ग्राहक कुरेर दिन कटाउनु पर्ने अवस्था आयो ।’
पर्याप्त अध्ययन र नयाँपनसहित त्यही झम्सीखेलमा तेस्रो पटक चिकेन स्टेशन सुरु गरेपछि भने उनी अगाडि बढेको बढ्यै छन् । मेहनत र नयाँपनले आफूलाई सफल बनाएको निकेश बताउँछन् । उनी भन्छन्, ‘अब त काठमाडौं मःम ब्राण्डमा भारतमा पनि उपस्थिति जनाउने आँट आएको छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4