Comments Add Comment

क्यान्सरसँग लड्दै जेष्ठ माननीय

पोखरेललाई अस्पतालमा भेट गर्दै कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण ।

३ माघ, बुटवल । प्रदेश ५ का सबैभन्दा जेठा माननीय बलदेव शर्मा पोखरेल एक वर्षदेखि अस्पतालमा क्यान्सरसँग लडिरहेका छन् । गत वर्षको माघमा छातीमा संक्रमण देखिएपछि उनलाई काठमाडौं लगेर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका समानुपातिक तर्फका प्रदेशसभा सदस्य बनेका बलदेव ८२ बर्ष पुगिसके । प्रतिपक्षी दलका नेतासमेत रहेका उनलाई प्रदेशसभामा सबैले अभिभावकको व्यवहार गर्छन् र ‘बा’ भनेर सम्वोधन गर्छन् ।

रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका बलदेव फोक्सोको क्यान्सरबाट ग्रसित छन् । नर्भिकमा लामो समय उपचारपछि उनलाई अहिले रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन हस्पिटलको आईसीयूमा राखिएको छ । काठमाडौंबाट घर ल्याइएको केही दिनमा रगतमा प्लेटलेट्स कम भएर बेहोस भएपछि उनलाई क्रिमसन लगिएको थियो ।

क्रिमसन अस्पतालका वरिष्ठ फिजिसियन डा.राकेश आस्वानीले पोखरेलको अवस्था जटिल रहेको अनलाइनखबरलाई बताए । ‘उहाँको फोक्सोबाट शुरू भएको क्यान्सर टाउको, हड्डी हुँदै शरीरभर फैलिएको छ, अब भगवानकै हातमा छ,’ उनले भने । शर्माको ७ पटकसम्म किमोथेरापी गरिसकिएको उनले बताए ।

प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते सञ्चालन गरेका शर्माले सबै सांसदलाई सपथ खुवाएका थिए ।

बिरामी भएर उनी प्रदेशको बजेट अधिवेशनमा पनि जान सकेनन् । पुसको अन्तिम साता मुख्यमन्त्री शंकर पोखरेलले पनि अस्पतालमा पुगेर नेता पोखरेलको स्वास्थ्य अवस्था बुझेका थिए । नेतादेखि सांसद र मन्त्री उनलाई भेट्न अस्पताल पुग्ने गर्छन् । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले यसै साता उनीसँग भेट गरे ।

उनको उपचारमा हालसम्म १५ लाख रुपैयँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । प्रदेश सरकारले ५ लाख रुपैंयाँ उपलब्ध गराएको छ ।

गाडी फिर्ता गरी रिक्सा चढ्ने सांसद

१९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल २०२० सालमा बसाइसराई गरी रुपन्देही आए । पोखरेलले उत्तरमध्यमा अर्थात् १२ कक्षासम्म अध्ययन गरेका छन् । पोखरेलका २ पत्नी ४ छोरा र २ छोरी छन् ।

उनकी जेठी पत्नी कमलाको मृत्यु भइसकेको छ ।

उनले २०१३ सालदेखि नेपाल छात्र संघबाट कांग्रेसको राजनीति शुरू गरेका हुन् । २०१५ सालमा संसदीय निर्वाचनमा उमेर नपुगेका कारण चुनाव लड्न पाएका थिएनन् । उनी २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल परेका थिए ।

रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष (२०३६ सम्म) पार्टीको जिल्ला सचिव भए । जिल्ला सदस्य हँुदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै वरिष्ठ नेताको रुपमा निरन्तर पार्टीमा सक्रिय रहे । सुशील कोइराला प्रधानमन्त्री हुँदा पोखरेलले स्वतन्त्रता सेनानीको सम्मान पनि पाएका थिए ।

प्रदेश ५ को प्रदेशसभाले खरिद गरेका गाडीमा अनियमितता भएको सार्वजनिक भएपछि पोखरेलले आफूले चढ्दै आएको गाडी प्रदेशसभा सचिवालयमा फिर्ता गरेका थिए । गाडी बुझाएपछि उनी रिक्सा चढेर प्रदेशसभा बैठकमा आउने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment