Comments Add Comment

प्रिमियर लिगमा ठूला क्लबको खराब प्रदर्शन, चेल्सी पराजित, म्यानचेष्टर सिटी रोकियो

काठमाडौं । प्रिमियर लिगमा शनिबार भएको खेलमा ठूला क्लबहरूले खराब प्रदर्शन गरेका छन् । साविक विजेता म्यानचेष्टर सिटी क्रिस्टल प्यालेसँग बराबरीमा रोकियो भने लण्डन क्लब चेल्सी न्युकासलसँग पराजित भयो ।

अन्य लण्डन क्लब टोटनह्याम र आर्सनल भने बराबरीमा रोकिए । आर्सनल शेफिल्ड युनाइटेडसँग १–१ तथा टोटनह्याम वाटफोर्डसँग गोलरहित बराबरीमा सीमित भयो ।

सर्जियो अगुएरोले दुई गोल गरे पनि कप्तान फर्नान्डिन्होले ९०औं मिनेटमा आत्मघाती गोल गरेपछि सिटीले क्रिस्टल प्यालेससँग २–२ को बराबरी खेल्दै अंक बाँडेको हो । त्यसअघि ३९ औं मिनेटमा सेन्क तोसुनले गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । अगुएरोले ५ मिनेट अन्तरमा दुई गोल गर्दै सिटीलाई जितनजिक पुर्‍याएका थिए । उनले ८२ औं र ८७ औं मिनेटमा गोल गरे । तर अन्तिममा आत्मघाती गोलले गर्दा सिटीले २ अंक गुमायो ।

बराबरीपछि २३ खेलबाट ४८ अंकसहित सिटी दोस्रो स्थानमा यथावत् छ । समान खेलबाट ३० अंक रहेको क्रिस्टल प्यालेस नवौं स्थानमा छ ।

उता, इन्जुरी टाइममा गोल खाँदा चेल्सी न्युकासलसँग १–० ले पराजित भयो । घरेलु मैदान न्युकासलका लागि आइसाक हाडेनले इन्जुरी टाइममा गोल गर्दै ३ अंक दिलाएका थिए ।

जितपछि २३ खेलबाट २९ अंक जोड्दै न्युकासल १२ औं स्थानमा उक्लेको छ । चेल्सीको समान खेलबाट ३९ अंक छ र चौथो स्थानमा छ ।

साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको वल्भ्स ३४ अंकसहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment